१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका सिन्धुली
२o८१ बैशाख २४ सोमबार १२:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सयपत्री बेचेर नौ लाख आम्दानी, विदेश जान तयार उमेशकाे माेडियाे बाटाे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, सिन्धुली
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:३६:oo

सिन्धुलीको सुनकोशी गाउँपालिका– ५ पारीबारी फूलैफूलले सजिएको छ। शान्त र आकर्षक फूलबारीमा चराचुरुंगी उडी–उडी गाइरहेका छन्। पुतली, माहुरी र भमरा उफ्री–उफ्री नाचिरहेका छन्। यहाँको प्राकृतिक वातावरण सुगन्धित र सुवासिलो भएको छ। यसैको मोहले तन्नेरी उमेश दर्नाललाई तानेको छ। 

राहदानी बनाएर विदेश जान लागेका २२ वर्षीय दर्नालले बाँझो जमिनमा सयपत्री लगाएर आम्दानी गरिरहेको बताए। 

परम्परागत विभिन्न बालीनाली लगाउँदा आठ हजार कमाइ नहुने आठ रोपनीमा उनले व्यावसायिक सयपत्री खेती गर्न थालेकाे एक वर्ष बितिसकेको छ। उनलाई आजभोलि पैसा कमाउन विदेश जाने सोच आउँदैन। सयपत्री फूलको मगमगाउँदो सुगन्धले मनमा आनन्द र राम्रो आम्दानीसमेत आर्जन भएको दर्नाल बताउँछन्। 

किसान दर्नालले तीन महिनाअघि सयपत्रीको बिउ बेर्ना बनाएर रोपेका थिए। बेर्ना रोप्दा, बिरुवाको जलमल तथा आवश्यक रेखदेख गर्दाका दुःख यतिवेला खुसीमा बदलिएका छन्। 

उनका अनुसार वर्षमा तीनपटकसम्म सयपत्रीको फूल र यसको माला बेच्न पाइन्छ। सयपत्री फूल स्वागतदेखि बिदाइसम्म र दैनिक पूजापाठका लागि आवश्यक पर्ने भएकाले वर्षैभरि बिक्री भइरहन्छ। 

सुनकोशीका युवा दर्नालले जसरी ठूलो क्षेत्रमा व्यावसायिक फूलखेती गर्ने रहर  कमलामाई नगरपालिका– १ डाँडीगाउँकी रिमा अधिकारीलाई पनि जागेको छ। 

फूलखेती, यसको बजार, सम्भावना, अवसर र चुनौतीका बारेमा नबुझीकनै व्यावसायिक फूलखेती सुरु गरेको बताउने उनी गर्दै–सिक्दै, सच्याउँदै–सच्चिँदै, बुझ्दै–बुझाउँदै अगाडि बढ्ने सोचमा छिन्। 

अहिले उनको फूलबारीमा सयपत्रीका फक्रिएका फूलैफूल छन्। अहिलेसम्म कसैले माग भने गरेका छैनन्। तैपनि नबिक्ने चिन्ता उनलाई छैन। तिहारसम्ममा घरबारीबाटै फूल बिक्री हुने उनको विश्वास छ। 

यता गोलञ्जोर गाउँपालिका– २ बितिजोर हमालडिहीका यम हमालको तीन रोपनीमा एउटै उचाइमा एकैनास भएर सयपत्री फुलेका छन्। आकर्षक फूलबारीमा फोटो खिच्ने, टिकटक बनाउने र फूलबारी हेर्न आउनेको संख्या बाक्लिँदो छ। 

पहिलोपटक गरिएको व्यावसायिक फूलखेतीले थप विस्तार गर्न उनलाई पनि हौसला बढेको छ । तीन रोपनीमा फुलेको सयपत्रीबाट रु. तीन लाखभन्दा बढी आम्दानी हुने उनको अनुमान छ। 

सयपत्री फूलको व्यावसायिक खेतीमा सामुदायिक विद्यालय पनि जोडिन थालेका छन्। पढ्दै–कमाउँदै कार्यक्रमअन्तर्गत कमलामाई नगरपालिका– ५ मा अवस्थित जनज्योति माध्यमिक विद्यालय फोस्रेटारमा अध्ययनरत विद्यार्थीले एक कट्ठामा गरेको फूलखेतीले आम्दानी दिन थालिसकेको छ। 

अघिल्लो वर्ष १० धुरमा लगाएको फूलखेतीबाट रु. ४० हजार आम्दानी लिएका थिए। यस वर्ष एक कट्ठामा लगाएको फूलखेतीबाट रु. १५ हजार कमाइ भइसकेको छ। अझै बोटभरि ढकमक्क फुलेका फूल ग्राहकको प्रतीक्षामा छन्। विद्यालयका प्रधानाध्यापक योगेन्द्रप्रसाद अधिकारीका अनुसार विद्यार्थीले प्रतिकेजी रु. चार सयमा फूल बिक्री गर्ने गर्दछन्। 

यतिवेला बारीका पाटा, आली, कान्ला, करेसा, घरआँगन सर्वत्र सयपत्रीमय बनेको छ।  फूलबारीमा फुलेका आकर्षक सयपत्री फूलले वातावरणमा छुट्टै सुन्दरता थपेको छ। गाउँदेखि सहरसम्म सयपत्रीको बासना छाएको छ। 

चार वर्षअघि सयपत्रीको व्यावसायिक खेती सुरु गर्ने पहिलो किसान सुनकोशी– ३ सुन्दरबस्तीका ज्ञानप्रसाद भट्टराईका अनुसार जिल्लामा फूल व्यवसाय फस्टाउँदै गएको छ। फूल व्यवसायी बढ्दै गएका छन्।

तिहार तथा अन्य समयमा पनि सयपत्री फूल जिल्लाबाट निर्यात हुन थालेको सम्बन्धित पालिकाका कृषि शाखा तथा कृषि ज्ञान केन्द्रका प्रमुखहरू बताउँछन्। सयपत्री फूलको माग वर्षैभरि हुन्छ। तिहारमा सर्वाधिक खपत हुने भएकाले माग बढी हुने तथा उचित मूल्य पाइने फूल व्यवसायी बताउँछन्। रासस

ad
ad