बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका– ५ शक्तिपुर बस्ने २८ वर्षीया सिर्जना डाँगी बाख्रा चराउन गएको वेला बाघको आक्रमणमा परेकी हुन्।
गाउँनजिकैको चिरौटे सामुदायिक वनमा बाख्रा चराउन गएको वेला डाँगीलाई बाघले आक्रमण गरेको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण बिडारीले जानकारी दिए।
मृतक डाँगीको शव घटनास्थलनजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। शव पोस्टमार्टमका लागि बर्दिया अस्पताल लगिएको छ।
गत वर्ष चिरौटे सामुदायिक वनमै दाउरा काट्न गएको वेला बाघको आक्रमणमा परी दुई महिलाको मृत्यु भएको थियो। यस सामुदायिक वन बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरीनियाघाट वन्यजन्तु आरक्षको बीचमा रहेको खाता जैविक मार्गअन्तर्गत पर्दछ।