१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० कार्तिक १५ बुधबार ११:०८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

जाडोमा कस्ता पहिरन लगाउने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० कार्तिक १५ बुधबार ११:०८:००

जाडो मौसम सुरु भइसकेको छ । त्यसैले शरीरलाई चिसोबाट जोगाउन न्यानो कपडाको प्रयोग गर्नुपर्ने हुन्छ । अहिलेको मौसममा उलन, पस्मिनालगायत फ्याब्रिकबाट निर्मित पहिरन प्रयोग गर्नु राम्रो हुन्छ । यसले सुन्दर देखाउने मात्रै नभएर चिसोबाट पनि जोगाउँछ । हातले बुनेका उलनको फेसनेबल स्वेटर, पन्चु लगाउन सकिन्छ । 

पहिरन छनोट गर्दा 
जाडो महिनाका लागि पहिरन छनोट गर्दा रङमा विशेष ध्यान दिनुपर्छ । जाडोमा विशेषगरी डार्क कलरको प्रयोग गर्नुपर्छ । ब्ल्याक, ब्राउन, ग्रे कलरका विभिन्न सेड्समा प्रयोग गर्न सकिन्छ । पहिरन रोज्दा आफ्नो शारीरिक बनावटलाई पनि ध्यान दिनुपर्ने हुन्छ । मोटो ज्यान भएकाले पस्मिना तथा उलनको अलि पातलो गरी बुनिएको स्वेटर लगाउन सकिन्छ । उमेर र सहजतालाई पनि विशेष ध्यान दिनुपर्ने हुन्छ । 

उचाइ र वर्णले पनि व्यक्तित्वमा फरक पार्छ । पहिरन रोज्दा यसमा ध्यान दिनुपर्छ । गोरो वर्णको छ भने जस्तो रङका कपडामा पनि खुल्छ । डार्क स्किन भएकाले भने आफूलाई सुहाउँदो कलर चयन गर्नुपर्छ । फेसन डिजाइनर अथवा साथीभाइको सल्लाह–सुझाव पनि लिन सकिन्छ । 

र, पहिरन लगाउँदा आफ्नो कार्यक्षेत्र र कार्यक्रमको स्वरूपलाई ध्यान दिनुपर्छ । कुनै कार्यक्रममा फर्मल पहिरन लगाएर जानुपर्ने हुन्छ भने केही कार्यक्षेत्रमा क्याजुअल ड्रेस लगाएर पनि जान सकिन्छ । व्यक्तित्वसुहाउँदो पहिरनले मानिसलाई निकै स्मार्ट देखाउँछ । 

ज्याकेट कस्ता छान्ने ?

फेदर डाउन ज्याकेट : यो एकदमै तातो हुन्छ । यसको भित्री भागमा प्वाँख भएकाले फेदर ज्याकेट पनि भनिन्छ । युवालाई मात्रै नभएर वृद्धहरूका लागि पनि उत्तम छ । यसले शरीरलाई न्यानो बनाउँछ । 

लाइट डाउन : चिसो मौसममा लाइट डाउन ज्याकेट पनि उत्कृष्ट हुन्छ । लाइट डाउन ज्याकेट जति चिसो मौसम हुन्छ, त्यति फुल्दै जान्छ । यो फेदरभन्दा अलि पातलो हुन्छ । यसले पनि शरीरलाई तातो बनाउँछ । यो स्टाइलिस देखिए पनि धेरै चिसो छेक्न सक्दैन । त्यसैले धेरै चिसो र हिउँमा यो ज्याकेट उपयुक्त नहुन सक्छ । तर, दिउँसो घाम लागेका वेला घुमफिर गर्नका लागि यो ज्याकेट सही छनोट हो । 

पफर ज्याकेट : नेपाली बजारमा पफर ज्याकेटका विभिन्न डिजाइन पाइन्छन् । यसले शरीरलाई तातो र न्यानो बनाउँछ । त्यसैले यो ज्याकेट अधिकांश ग्राहकको रोजाइमा पर्छ । यसको भित्री भागमा सिलिकन राखिएको हुन्छ । अगाडि–पछाडि प्रिन्ट भएको पाइन्छ । 

डेनिम ज्याकेट : डेनिमको ज्याकेट अधिकांशको रोजाइमा पर्छ । यो ज्याकेट तातो हुन्छ । यसले स्टाइलिस लुक्स पनि दिन्छ । त्यसैले यो युवापुस्ताको रोजाइमा पर्छ । यसलाई पश्चिमी र परम्परागत दुवै प्रकारको पहिरनमा लगाउन मिल्छ । 

प्रिन्टेड ज्याकेट : बजारमा प्रिन्टेड ज्याकेट पाइन्छ । यो महिलाका लागि विभिन्न डिजाइनका पाइन्छन् । चिसो मौसममा यो ज्याकेटले सुन्दर देखाउँछ । बजारमा तपाईंले रोजेअनुसार विभिन्न प्रिन्टमा सजिलै पाउन सक्नुहुन्छ । क्वालिटीअनुसार मूल्य फरक–फरक हुन्छ । 

लेदर ज्याकेट : चिसो मौसमका लागि लेदरको ज्याकेट तातो, स्टाइलिस र उत्कृष्टमध्ये एक हो । नेपाली बजारमा यो ज्याकेट दुई प्रकारको पाइन्छ । भित्री भागमा फर नभएकोभन्दा फर भएको लेदर ज्याकेट तातो हुन्छ । लेदर ज्याकेट ‘फ्यान्सी स्टाइल’को हुन्छ । यो विशेषगरी १८–३५ वर्षका पुरुषलाई सुहाउँछ । यो लगाएर बाइक सवारी गर्दा आकर्षक पनि देखिन्छ । त्यस्तै, महिलालाई पनि स्कुटरमा यात्रा गर्दा म्याच गर्छ ।