१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
विष्णुप्रसाद पन्थ
२o८१ बैशाख २४ सोमबार o६:५७:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

आजको आवश्यकता : बृहत् राष्ट्रिय एकता

अहिलेको मुख्य समस्या राजनीतिक अस्थिरता नै हो भन्नेमा सबै सहमत भए पनि यसको विकल्पमा बहस गर्न कोही चाहँदैनन्

Read Time : > 4 मिनेट
विष्णुप्रसाद पन्थ
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:५७:oo

आज देशभक्तहरूको दिमागमा एउटै छट्पटी उत्पन्न भएको छ, त्यो हो : देशलाई कहिलेसम्म अन्धकारमा राख्ने ? आजको परिस्थितिलाई गम्भीरतापूर्वक नियाल्ने हो भने देश, झन् पछि झन् अन्धकार र पश्चगमनतिर फसिरहेको छ । हामी नारा अगाडि जाने लगाउँछौँ, तर यात्रा पछाडि फर्काउँछौँ । आजको विश्वमानचित्रमा हामी दिनदिनै ओरालो मात्र लागेका छौँ । यस्तो लाग्छ, यही मनोविज्ञान हाबी भइरहेमा हामी उकालो चढ्ने हिम्मत पनि गर्न सक्दैनौँ । देशभित्र बस्ने आमनागरिकको छटपटी र रोदन के हामीले सुन्न सकेका छौँ त ?

आजको युग पुँजीवादी युग हो र यस युगमा जन्मिन र बाँच्न पनि पैसा चाहिन्छ, एकजना विद्वान्ले भनेका छन्– पैसा भएन भने हाम्रा पाँचवटै ज्ञानेन्द्रिय काम नलाग्ने वा निष्क्रिय हुन्छन् । मान्छे आज पैसा कमाउने होडबाजीमा लागेको छ । आजको युग विश्वव्यापीकरणको युग भएको हुनाले अवसर र प्रतिस्पर्धाको खोजी विश्वव्यापी बनेको छ । आज मान्छेमा कतिवेला विदेश जाऊँ भन्ने हुटहुटी छ ।

नेपालमा बस्यो भने मान्छे कामै नपाएर डिप्रेसनको सिकार बनेर मर्ने सम्भावना बढी छ । यो भयावह र तरल अवस्थाबारे राजनीतिक दलहरू बेखबर र मौन छन् । देशको चिन्ता नै नगर्ने राजनीतिजस्तो दुर्भाग्य अरू केही नहुँदो रहेछ । हाम्रो राज्य प्रणालीमा कुनै गम्भीरता र जवाफदेहिता नै छैन । हामीले पञ्चायतलाई गाली गर्‍यौँ र बहुदल ल्यायौँ । राजतन्त्रलाई सत्तोसराप गर्‍यौँ र गणतन्त्र ल्यायौँ । फेरि आज के हुँदै छ ? आजसम्मको उतारचढावले भन्छ– कुनै पनि व्यवस्था खराब वा असल दुवै हुँदैन । हामीले गृहयुद्ध अनि विभाजनका नारा लगाएर देशको हित हुँदैन । वास्तवमा हामीले देशको भविष्यबारे चिन्ता गर्नैपर्छ । सबैभन्दा पहिले सबै मिलेर देशलाई जोगाउने साझा सूत्र पत्ता लगाऔँ न । देशलाई अगाडि बढाउने तीनवटा न्यूनतम सूत्र वा कार्यक्रम छन्, ती हुन्– १. राजनीतिक स्थिरता, २. आत्मनिर्भर अर्थतन्त्र र ३. बृहत् राष्ट्रिय एकता । 

१. राजनीतिक स्थिरता :  वास्तवमा भन्ने हो भने बहुदल आएपछि सधैँ हामीले संसदीय व्यवस्थालाई अंगिकार गर्‍यौँ । संसदीय व्यवस्थाको कुरुपता भनेकै राजनीतिक अस्थिरता हो । कति सरकार, प्रधानमन्त्री र मन्त्री बदल्ने खेलमा हामी अल्झिरहने ? केही नयाँ काम गर्न लाग्यौँ कि सरकार नै ढलिहाल्ने हाम्रो नियति बन्यो । वैदेशिक हस्तक्षेप पनि हाम्रो मुख्य समस्या हो । राजनीतिक अस्थिरताका कारण वैदेशिक हस्तक्षेप बढ्छ । कुनै पनि सरकारले लोकप्रिय काम गर्न लाग्यो कि ढल्यो । त्यसकारण हामीलाई राजनीतिक स्थिरता पहिलो नम्बरमा चाहिएको छ । नेपालमा केही गर्नका लागि हामीलाई चाहिन्छ : आवधिक शक्तिशाली सरकार । 

एकपटक निर्वाचित भएपछि पाँच वर्षका लागि उसले विनादबाब काम गर्न सकोस् । नियन्त्रण र सन्तुलन वा चेक एन्ड ब्यालेन्सको सिद्धान्तअनुसार पनि संसदीय सर्वोच्चता गलत र हानिकारक हुन्छ । संसदीय व्यवस्थामा त कार्यपालिका र न्यायपालिकामा पूर्ण रूपले संसद्को नियन्त्रण हुन्छ । आजको मुख्य समस्या राजनीतिक अस्थिरता नै हो भन्ने तथ्यमा सबै सहमत छन्, तर विकल्पमा बहस गर्न कोही चाहँदैनन् । 

आजसम्मको हाम्रो राजनीति एकले अर्कालाई सत्तोसराप गरेर बितेको छ । सत्तामा जाने र नजाने, चुनावमा भाग लिने र नलिने वा यो व्यवस्थालाई मान्ने र नमान्नेबीच अनौठो दरार उत्पन्न भएको छ । यस्तो विभाजनले सम्भव होला त समृद्धि ?
 

२. आत्मनिर्भर अर्थतन्त्र :  हाम्रो आजको अर्थप्रणाली भनेको परनिर्भर अर्थप्रणाली हो । आजको अर्थव्यवस्थालाई दलाल पुँजीवाद भन्ने भाष्य लोकप्रिय बनेको छ । त्यसकारण आजको परनिर्भर दलाल अर्थप्रणालीका ठाउँमा हामीलाई आत्मनिर्भर तथा समाजवादी अर्थप्रणाली चाहिएको छ । आयातलाई प्रतिस्थापन गर्ने तथा निर्यातलाई प्रवद्र्धन गर्ने अर्थतन्त्रको आवश्यकता छ । आत्मनिर्भर बन्ने बाटो हो– उत्पादन । 

हाम्रो देश कृषिप्रधान देश भएको हुनाले कृषि उत्पादन नै हाम्रो मुख्य मेरुदण्ड हो । हामीले हाम्रो परम्परागत कृषि प्रणालीलाई बदल्नुपर्नेछ । निर्वाहमुखी कृषिलाई थाती राख्दै नाफामूलक कृषिको खोजी गर्नुपर्छ । आजको विश्वमा अग्र्यानिक खेतीको माग बढ्दै छ र त्यसका लागि हाम्रो भूगोल उत्कृष्ट छ । हामीले नेपाललाई अग्र्यानिक खेती र जडीबुटीको हब बनाउन सक्छौँ ।

कृषि पर्यटनको विशाल सम्भावना पनि हामीसँगै छ । उद्योगहरू पनि हामीले हाम्रा उत्पादनलाई प्रवद्र्धन गर्ने ढंगबाट खोल्नुपर्छ । पानी, बिजुली, कृषि, पर्यटन, जडीबुटीलाई सही ढंगले विकास गर्ने दीर्घकालीन योजना हामीलाई चाहिन्छ । हाम्रो बल भनेकै हामीसँग जमिन छ र विश्वका लगभग सबै हावापानी भएको दुर्लभ वातावरण हामीसँग छ । त्यसकारण हामीले व्यापारिक वा मुनाफामा आधारित कृषिलाई ध्यान दिन सक्नुपर्छ । उत्पादन र वितरणमा राज्यको भूमिका प्रभावकारी हुन आवश्यक छ । कृषिलाई विकास गर्ने गरी थुप्रै संघसंस्था र व्यक्तिले पहल गरेको पनि देखिन्छ ।

त्यसकारण हाम्रा युवालाई पहिले काम चाहिएको छ । दोस्रो, आम्दानी, मुनाफा वा कमाइ चाहिएको छ र तेस्रो, आत्मसम्मान चाहिएको छ । आजको दुरवस्था हो– राज्यले युवालाई काम दिन नसकेर विदेश पठाइरहेको छ । सरकार भने रेमिट्यान्सबाट चल्न पाएकामा मखलेल बनेको छ । हाम्रो देशका लागि आम्दानीको अर्को अवसर पर्यटन हो । धार्मिक र प्राकृतिक पर्यटन हाम्रा लागि स्वर्णिम र दुर्लभ अवसर हो । प्राकृतिक सौन्दर्यका हिसाबले हाम्रो देश विश्वकै अद्वितीय छ । धार्मिक पर्यटनको सम्भावना पनि प्रचुर छ । हिन्दू र बौद्ध धर्मावलम्बीलाई आकर्षित गर्ने गरी धार्मिक पर्यटनको विकास गर्नु दीर्घकालीन आम्दानीको स्रोत बन्न सक्छ ।

३. बृहत् राष्ट्रिय एकता :  हाम्रो देशको आफ्नै विशिष्टता छ । भौगोलिक वा क्षेत्रफलका हिसाबले हाम्रो देश सानो छ । हाम्रो छिमेकी देश विशाल छन् । दुई ठूला देशका बीचमा हामीले आफ्नो प्रभावकारी र गौरवशाली अस्तित्व खोज्नुपर्छ । 
कुनै पनि देश शक्तिशाली बन्न तीनवटा हतियार हुन्छन्– १. अर्थतन्त्र, २. सैन्य बल र ३. विज्ञान र प्रविधि । यी तीनवटै हतियारलाई राजनीतिले निर्देशित गरेको हुन्छ ।

जुन देशमा बृहत् एकता हुन्छ, त्यो देशले समृद्धिको दिशामा फड्को मार्छ । निषेध र प्रतिशोधबाट देश वा समाजको बर्बादी मात्र हुन्छ । हाम्रो इतिहास भनेको बाइसे–चौबीसे राज्यहरूको एकीकरणबाट बनेको हो । हामीलाई थाहा छ, देशमा ठुल्ठूला समस्या छन्– भ्रष्टाचार, राजनीतिक अस्थिरता, बेरोजगारी, युवाको विदेश पलायन, सुशासन अनि परनिर्भर तथा दलाल पुँजीवादी अर्थतन्त्र । 

आजसम्मको हाम्रो राजनीति एकले अर्कालाई सत्तोसराप गरेर बितेको छ । सत्तामा जाने र नजाने, चुनावमा भाग लिने र नलिने वा यो व्यवस्थालाई मान्ने र नमान्नेबीचमा अनौठो दरार उत्पन्न भएको छ । आज देशमा अनौठो मनोविज्ञानको विकास हुँदै छ । पुराना दल र नेताहरूमा यथास्थितिमा बसिरहने चाहना छ भने नयाँ पुस्तामा व्यापक फेरबदल गर्ने चाहना छ । आज युवामा पुरानो पुस्ताप्रति निकै आक्रोश, घृणा र विद्रोह उत्पन्न हुँदै छ । नयाँ केही गर्न तयार नहुने पुरानो पुस्ता र ठुल्ठूला सुधार, परिवर्तन र पारदर्शिता चाहने नयाँ पुस्ताबीचको टकराव बढ्न सक्छ । गत चुनावमा स्वतन्त्रहरूको प्रभाव र आकर्षण पनि हामीले देख्यौँ । वास्तवमा यी दुई प्रवृत्तिबीचको लडाइँ तीव्र र व्यापक बन्दै छ । 

भ्रष्टाचारको विषय पनि त्यस्तै पेचिलो छ । देखाउनकै लागि भए पनि केही भ्रष्टाचारका फाइल खोल्नैपर्ने बाध्यता छ । नातावाद, कृपावाद वा फरियावादको विषयले पुराना नेता बदनाम र आलोचित छन्, तर सुधार वा रूपान्तरणको कुनै गुञ्जायस पनि देखिँदैन । यस्तो अविश्वसनीय वातावरणमा हामीले भन्नै पर्नेछ– बृहत् राष्ट्रिय एकता नै आजको आवश्यकता हो । देश बनाउन र बचाउनका लागि हामी सबै मिलेर जानुपर्नेमा शंका छैन ।

कुनै पनि व्यवस्थाको प्रत्येक १०–१० वर्षमा समीक्षा गर्नुपर्दाे रहेछ । हामीले नेपालबाट एउटा नयाँ राजनीतिक सभ्यताको विकास गरौँ न, ताकि प्रत्येक १० वर्षमा हामीले हाम्रो राज्य प्रणालीको समीक्षा र सुधार गर्ने पद्धतिको विकास गरौँ । हाम्रो शासकीय स्वरूप, संसदीय प्रणाली, न्याय प्रणाली, संघीयता आदिबारे गुणस्तरीय छानबिन र समीक्षा गरौँ । हाम्रो देश वा प्रणालीको विडम्बना के बन्यो भने हामीले देशलाई कंगाल बनायौँ र आफू धनी बन्यौँ । यो एउटा गलत दृष्टिकोणको जग बसाल्यौँ । नेता, कर्मचारी र व्यापारीमा यही सिद्धान्तले घर गर्‍यो । 

देश ऋणमा छ, जनता ऋणमा छन् तर हामी सीमित पहुँचवाला मान्छे धनी बन्यौँ । हाम्रा धनाढ्यहरूले आफ्नो कमाइको निश्चित प्रतिशत सामाजिक कार्यमा लगाउनसम्म सकेनन् । आफूले सोचेभन्दा बढी आम्दानी गरेकाले राज्यलाई बढी नै कर तिर्छु भन्ने पनि निस्किएनन् । राज्य वा सरकारको भूमिका पनि त्यस्तै दयनीय बन्यो । आमनागरिकले सरकार छ भनेर कहिल्यै थाहा पाउँदैन । राज्यविहीनताको यस्तो अवस्थालाई हामीले बदल्नैपर्छ । 

ad
ad