१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
टुकी बत्तीको सहारामा पढ्दै गजुरी गाउँपालिका– ३ पूराक्सिङकी अञ्जना चेपाङ ।
२o८१ बैशाख २० बिहीबार १४:२९:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उज्यालोलाई टुकीकै भर : ‘गाउँमा कहिले आउँछ बिजुली बत्ती?’

धादिङमा ६ हजार घरपरिवार बिजुली बत्तीको पहुँच बाहिर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:२९:oo

सानो कोठा, ढोकैमा पानीका गाग्री र बोत्तलहरू। एक कुनामा खाना बनाउने चुलो र खाने ठाउँ, अर्काे कुनामा केही खाद्य सामग्रीहरू। कोठाको बिचैमा रहेको खाटमा ओढ्ने, ओछ्याउने र केही थान कपडाहरू छन्। अँध्यारो रात, किरा फट्यांग्राका किरकिर आवाज, बन्द कोठामा सानो आवाजमा बजिरहेको रेडियो। आफ्नो उज्वल भविष्य खोज्दै बलिरहेको टुकी बत्तिको सहारामा चकटी र गुन्द्रीविना नै खाटमा पढिरहेकी गजुरी गाउँपालिका– ३ पुराक्सिङकी अञ्जना चेपाङ भन्छिन्, ‘शिक्षाको उज्यालो घामलाई बिजुली बत्तीले त नछेक्ला। तर, छायाँ परेको भाग तुलनात्मक रूपमा अँध्यारै हुन्छ। हाम्रो भविष्य पनि त्यस्तै छ।’

अञ्जना बिहान बेलुका घरको काम गर्छिन्। कहिले खाना बनाउन त कहिले घाँस काट्न बारी जानुपर्ने बताउँछिन्। दिउँसो स्कुल जान परिहाल्यो। पढ्ने राति नै हो। उनी भन्छिन्, ‘गाउँमा बिजुली बत्ती छैन। अहिले बत्ती छैन भनेर पढ्नै छाडेर भविष्य अन्धकार बनाउने कुरा पनि भएन । कि टुकी बालेर पढ्ने हो, कि स्कुलमा पढेकै भर हो। उज्यालो भविष्य खोज्ने हामी अन्धकारमा पढ्न बाध्य छौँ।’

‘दुर्गम गाउँ र राजधानी सहरमा बसेर पढ्नेहरूलाई सरकारले एउटै टोकरीमा राखेको छ। भन्ने हो भने हामी त स्कुल पढेकै भरमा जाँच दिनुपर्छ। पढ्नै नपाई परीक्षा अनि प्रतिस्पर्धा गर्नुपर्छ,’ उनले थपिन्, ‘सहरमा जस्तो ट्युसन, कोचिङ, विशेष कक्षा हाम्रा लागि सपना हुन्। हाम्रो नैसर्गिक अधिकार पूरा गर्न राज्य चुके पनि हामी टुकी बत्तीको सहारामा उज्यालो भविष्य खोजिरहेका छौँ।’ राज्यलाई अन्जनाको प्रश्न छ– मेरो गाउँमा बिजुली बत्ती कहिले आउँछ?’

पुराक्सिङकी गंगामाया तामाङलाई पनि गाउँमा बिजुली बत्ती नहुँदा घरधन्दा गर्न निकै समस्या भएको छ। ‘गाउँमा बिजुली बत्ती छैन। केही घरमा सोलार भए पनि अहिले त धेरैको बिग्रिसक्यो,’ उनले भनिन्, ‘कहिले टुकी र दियालो त कहिले चुलोमा बलेको आगोको उज्यालोकै भरमा घरधन्दा गर्नुपर्छ। घाँस दाउरा र मेलापातमै समय जान्छ। बाहिरको काम सकेर आउँदा रात परिहाल्छ।’ एउटै टुकीको सहारामा छोराछोरी पढ्ने र घरधन्दा गर्नुपर्दाको बाध्यता निकै कष्टकर रहेको उनले गुनासो सुनाइन्।

बिजुली बत्ती रोजीरोटीसँग पनि जोडिएको गंगामाया बताउँछिन्। ‘गाउँमा खुम्रे किराले खेतीपाती सखापै बनाउँछ। खुम्रे किरा नियन्त्रण गर्न जाने–सुनेजति सबै गरियो, तर भएन,’ उनले भनिन्, ‘बिजुली बत्ती कहिले आउला ? लाइट ट्रयाप पद्धति प्रयोग गरी खुम्रे किरा नियन्त्रण गर्ने दिनको पर्खाइमा छौँ।’ ‘फियान नेपाल’ले क्षमता अभिवृद्धि गर्दै सहजीकरण गरिरहेकोे भए पनि सरोकारवाला निकायले आफूहरूको आवाज नसुनेको उनको गुनासो छ। उनले भनिन्, ‘तर खै कहिले बल्ला गाउँमा बिजुली बत्ती। बिजुली बत्ती आए गाउँ मात्र होइन, हाम्रो जीवन नै उज्यालो हुने थियो।’

६ महिना सहकाल ६ महिना अनिकालको कष्टकर दैनिकी गुजारिरहेको दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ बुर्सवाङका सोमलाल चेपाङ बताउँछन्। ‘हाम्रो जनजीवन परिवर्तन नहुनुका कारणमध्ये बिजुली बत्ती पनि एक हो। भिरालो जमिन छ, खेतीपाती हुँदैन। सडक सञ्जाल, खानेपानी, स्वास्थ्य संस्थालगायतको सुविधा छैन,’ उनले भने, ‘पूर्वाधारहरू विकास भए अन्य आवश्यकता परिपूर्तिमा पनि सहज हुन्थ्यो। बिजुली बत्ती नहुँदा लिफ्ट गरेर खानेपानी ल्याउन सकिएको छैन। खानेपानी पनि पैँचो गर्नुपर्छ। हामी अभावको भुमरीमा छौँ। बिजुली बत्ती नहुँदा हाम्रा अभावलाई बलेको आगोमा तेल थपिएको छ।’

उत्तरी धादिङको विभिन्न क्षेत्रमा पनि बिजुली बत्ती पुगेको छैन। गाउँमा बिजुली बत्ती नआउँदा सकसपूर्ण दैनिकी गुजार्न बाध्य भएको रुबीभ्याली गाउँपालिका–४ हिन्दुङकी नेमासाङ तामाङ बताउँछिन्। ‘सोलार त छ, तर चाहेजति पुग्दैन। बिजुली बत्ती नहुँदा गाउँमा मिल छैन, पानी घट्ट धाउनुपर्छ। नयाँ प्रविधिहरू गाउँमा भित्र्याउन सकिएको छैन। व्यावसायिक दृष्टिकोणले पनि पछाडि परेको छ। पढ्ने बालबालिकालाई उस्तै समस्या छ। स्वास्थ्य संस्थाहरू पनि बिजुली बत्ती नहुँदा स्वास्थ्य उपचारमा जटिलता छन्। मोबाइल फोनमा नेटवर्क पनि राम्रो टिप्दैन। सडक सञ्जाल पनि छैन। अकस्मात केही आपत पर्‍यो भने ज्यान जोगाउनै मुस्किल छ। हामी समस्याको चाङमा छौँ। सडक सञ्जाल र बिजुली बत्ती आए गाउँको मुहार फेरिन्थ्यो,’ उनले भनिन्।

६ हजार घरपरिवार बिजुली बत्तीको पहुँचबाहिर
आगामी आर्थिक वर्ष ०८०/८१ भित्रमा धादिङका सबै ठाउँमा विद्युतीकरण हुने नेपाल विद्युत् प्राधिकरण धादिङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताए। अहिले ५ वटा पालिकामा गरी ६ हजारभन्दा बढी घरपरिवार बिजुली बत्तीको पहुँच बाहिर छन्।

वितरण केन्द्र प्रमुख माधव न्यौपाने

 

‘धादिङमा ६ हजारभन्दा बढी घरपरिवार बिजुली बत्तीको पहुँचबाहिर छन्। उत्तरी धादिङको रुबीभ्यालीदेखि दक्षिणी धादिङको महाभारत चेपाङबस्ती हुँदै देशकै राजधानी काठमाडौंसँग सिमाना जोडिएको धुनीबेँसी नगरपालिकाको गुर्धुमसम्म विभिन्न ठाउँमा केन्द्रीय प्रसारण लाइन विस्तार गर्नुपर्नेछ। विद्युतीकरणको काम भैरहेका छन्। आगामी आर्थिक वर्षमा धादिङका सबै ठाउँमा बिजुली बत्तीको पहुँच हुनेछ,’ उनले भने।

न्यौपानेका अनुसार धुनीबेँसी नगरपालिका, गजुरी गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका, गंगाजमुना गाउँपालिका र रुबीभ्याली गाउँपालिकाका विभिन्न वडा र बस्तीहरूमा बिजुली बत्ती पुगेको छैन। उनले भने, ‘बिजुली बत्ती नपुगेका ठाउँहरूमा विद्युतीकरण गर्न धादिङ वितरण केन्द्रले गत वर्ष नै बजेट विनियोजन गरेर काम सुरु गरिसकेको छ। ठेक्का लगाएर काम भइरहेको छ। करिब ८० प्रतिशत काम सम्पन्न भइसक्यो।’ सो प्रगति विवरण नै आगामी आर्थिक वर्षमा धादिङको सबै ठाउँमा विद्युतीकरण हुने आधार भएको उनले बताए।
 

ad
ad