१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १२:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कसैको प्रलोभनमा नपरी राष्ट्रिय एकताको परिचय दिन नागरिकलाई गृहमन्त्रीको आग्रह 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:२७:oo

नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सदभाव कायम गर्न र सहिष्णुताको रक्षा गर्नु आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन्।

समाजमा उग्रवाद बढाउने तथा सामाजिक एकतालाई खलल पार्ने, सदभाव र सहिष्णुतालाई कमजोर पार्न केही तत्व लागिपरेको बताउँदै उनले यस्ता कार्यमा नलाग्न आमजनसमुदायलाई आग्रह गरेका छन्।

गृह मन्त्रालयको आयोजनामा महोत्तरीको बर्दिबास आयोजित समसामयिक सुरक्षासम्बन्धी प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। 

नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको र यो नै यसको मौलिक पहिचान भएको तथा विशेषता भएकोमा नेपालको अतिरिक्त पहिचानमा विविधताबीचको सदभाव र सहिष्णुता भएको यो मुलुक रहेको उनले बताए।

गृहमन्त्री श्रेष्ठले नेपालको यही विविधताबीचको सदभाव र सहिष्णुतामाथि प्रहार भइरहेको, आँच पुर्‍याउने कार्य भइरहेकाले यसको रक्षा गर्नु सबैको दायित्व भएको बताए।  

उनले जानाजान वा अन्जानमा समाजलाई द्वन्द्वतर्फ लग्ने र भड्काउने कामको संकेत पाएकाले यसले गम्भीर प्रश्न खडा गरेको धारणा राखे। राष्ट्रिय एकता बलियो गर्नु अहिलेको अहं जिम्मेवारी भएको बताउँदै उनले नागरिकले कसैको भडकाव वा प्रलोभनमा नपरी राष्ट्रिय एकताको परिचय दिनसमेत आग्रह गरे।

पछिल्लो समय मधेश प्रदेशका साथै देशका केही स्थानमा धर्मको नाममा भइरहेको विभिन्न क्रियाकलापमाथि सरकारले गम्भीरतापूर्वक निगरानी राखेको र देशको एकतामा खलल पुर्‍याउने कोही कसैसँग सरकारले सहानुभूति नराख्नेसमेत उनले प्रस्ट पारे। 

गृहमन्त्री श्रेष्ठले प्रहरी समायोजन गरिने, सीमानाकामा सर्वसाधारणलाई सुरक्षाकर्मीबाट मितव्ययी व्यवहार हुने तथा अपराधलगायतका कार्य नियन्त्रणका लागि सुरक्षाकर्मी थप जिम्मेवार भएकाले नागरिकलाई ढुक्क रहन आग्रह गरे। 

कार्यक्रममा विभिन्न धार्मिक गुरुहरूबाट आएको जिज्ञासा र गुनासोसमेत सुन्दै गृहमन्त्री श्रेष्ठले समाजमा एकताको सन्देश नै सामाजिक सदभावमा खलल पुर्‍याउनेहरूका लागि गतिलो जवाफ भएको बताए। 

यता, कार्यक्रममा विभिन्न राजनीतिक दलका साथै मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री कृष्ण यादव, प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिम, शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव, गृहसचिव दिनेश भट्टराई, प्रदेशप्रमुख सचिव दिनेशकुमार घिमिरेलगायतले देश र मधेशको वर्तमान राजनीतिक अवस्था, सामाजिक द्वन्द्व र सरकारको जिम्मेवारीलगायतका विषयमा आफ्नो विचार प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओमप्रकाश जोशी र मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारीलगायत विभिन्न सुरक्षा निकाय प्रमुख, राजनीतिकर्मी, मिटरब्याजीपीडित तथा सञ्चारकर्मीसमेतको उपस्थिति थियो। 


 

ad
ad