
संखुवासभाको पाँचखपन नगरपालिकामा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने युवाहरूलाई सम्झाउँदा उल्टै प्रहरीमाथि नै आक्रमण गर्ने तीन युवा पक्राउ परेका छन्।
पाँचखपन– ७ का स्थानीय तीनजना युवा ३२ वर्षीय महेश कटुवाल, २७ वर्षीय वसन्त कटुवाल र २४ वर्षीय विष्णु कटुवाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक राजकुमार लामिछानेले बताए।
उनको अनुसार बुधबार राति साढे ११ बजेको समयमा बजारमा होहल्ला गरी बजार नै आतंकित बनाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
त्यसपछि इलाका प्रहरी कार्यालय वानाबाट खटिएर गएको प्रहरीले सम्झाउँदा प्रहरी हवल्दार सन्तोष राईमाथि नै आक्रमण गरी घाइते बनाएको प्रहरी भनाइ छ। प्रहरी हवल्दार राईको टाउको, कान र हातमा चोट लागेकोले उपचार भइरहेको जनाएको छ।
पक्राउ परेका तीनैजना युवालाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम थप अनुसन्धान भइरहेको जनाएको छ।