गुल्मी कारागारको क्षमता २५, कैदीबन्दी १०२

बिहिबार, २१ भदौ, २०८०
डिजिटल संस्करण

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी हुँदा पनि कारागार सुधारको प्रयासमा सरकार उदासीन

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी हुँदा पनि सरकारले गुल्मी कारागार सुधारको प्रयास गर्न सकेको छैन । ०२४ मा स्थापना भएको कारागार ०७२ को भूकम्पले भवन चिरा–चिरा परेको छ । २५ जना क्षमता रहेको कारागारमा अहिले एक सय दुईजना कैदीबन्दी छन् । जसकारण त्यहाँ रहेका कैदीको अवस्था निकै कष्टकर बनेको छ ।

हरि थापा, चौकीदार
क्षमताभन्दा चार गुणा बढी मान्छे भइसके । खुट्टा पसारेर सुत्ने ठाउँ छैन । दु:खभित्र पनि सुख खोजेर बाँचेका छौँ ।
 

संवेदनशील क्षेत्र मानिने कारागारको भौतिक संरचना निर्माण सरकारको प्राथमिकतामा पर्नुपर्ने हो । तर, सरकारको प्राथमिकता नपर्दा ५६ वर्षे पुरानो सानो र साँघुरो भवनमा कैदीबन्दीले अमानवीय दैनिकी बिताइरहेका छन् । कारागारमा ९३ जना पुरुष, एक आश्रित बालिकासहित आठ महिला छन् । पुरुषहरू एउटा कोठामा दुई तहमा सुत्दै आएका छन् । दैनिक संख्या वृद्धि हुँदै गएकाले सुत्न, खान, शौचालय प्रयोग गर्न पालो कुर्ने अवस्था आएको चौकीदार हरि थापाले गुनासो गरे । उनले आफूहरूको मानव अधिकारको विषयमा राज्यले बेवास्ता गरेको बताए । ‘क्षमताभन्दा चार गुणा बढी मान्छे भइसके । खुट्टा पसारेर सुत्ने ठाउँ छैन,’ उनले भने, ‘दुःखभित्र पनि सुख खोजेर बाँचेका छौँ ।’ 

कारागारका अधिकांश कैदीबन्दीले हस्तकलाका सामग्री उत्पादन गरेका छन् । तर, संरचनाका कारण व्यवस्थापनमा मुस्किल परिरहेको छ । त्यसबाहेक समयमै फैसला नहुने, फैसला नक्कल र कैदी पुर्जी समयमै नआउने समस्या रहेको थापाले बताए । पर्याप्त भौतिक संरचना नहुँदा सबै कसुरका कैदी एकै ठाउँमा बस्न विवश छन् ।

महिलाले प्याडसमेत पाउँदैनन् 
गुल्मी कारागारमा एक आश्रित बालिकासहित आठजना महिला छन् । पुरुषको तुलनामा महिलालाई शारीरिक समस्या बढी हुन्छ । तर, सरकारले महिला कैदीबन्दीलाई महिनावारी हुँदा पनि सेनेटरी प्याडसमेत नदिने गरेको कैदी शान्ता पुनले गुनासो गरिन् । उनले कारागारमा पर्याप्त पानी नहुँदा महिनावारीका वेला सरसफाइ राम्रोसँग गर्न नसकेको बताइन् । पर्याप्त संरचना नभएका कारण भेटघाटमा समेत महिलामाथि विभेद भइरहेको उनको भनाइ छ । महिला कैदीले आफन्त भेटघाट गर्न एक दिन मात्रै पाएको पुनले बताइन् । 

कारागारका निमित्त प्रमुख रेश्मीराज पन्थीले भौतिक संरचना र सुरक्षाका कारण महिलालाई पुरुषसरह भेटघाट गराउन नसकिएको बताए । उनले संरचना बने सबै समस्या समाधान हुने भएकाले सरकारले यसबारे सोच्नुपर्ने बताए ।

तीन वर्षपछि स्वास्थ्यकर्मी उपस्थित 
गुल्मी कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई परेको प्रभावबारे नयाँ पत्रिकामा निरन्तर समाचार प्रकाशन हुँदै आएको छ । गुल्मी कारागारमा तीन वर्षपछि सिनियर अहेव प्रकाशचन्द्र घिमिरे आफ्नो दरबन्दीमा हाजिर भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए । उनी १६ साउनबाट कार्यालयमा उपस्थित भएर कामकाज सुरु गरेका छन् । गुल्मी कारागारमा सिनियर अहेवको दरबन्दी भए पनि दरबन्दीमा कार्यरत सिनियर अहेव घिमिरे ०७७ जेठदेखि स्वास्थ्य मन्त्रालयको काजमा रहेर काम गरिरहेका थिए । नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि तत्काल पत्राचार गरेर घिमिरेलाई दरबन्दीमा फिर्ता गराएको सूचना अधिकारी गैरेले बताए । 

कारागारमा दैनिक पाँच–सातजना कैदीबन्दी बिरामी पर्छन् । केही दीर्घरोगी पनि छन् । तर, उनीहरूलाई व्यवस्थित उपचार गराउन अस्पताल लैजाने जनशक्ति कारागारमा नभएको निमित्त कारागार प्रमुख पन्थीले बताए । गुल्मी कारागारमा अधिकृतसहित १० जनाको दरबन्दी छ । लामो समयदेखि कार्यालय प्रमुख अधिकृत छैनन् । अधिकृतसहित सहायक कम्प्युटर स्थायी छैनन् । अहिले कारागारमा स्थायी कर्मचारी एकजना सुब्बा, खरिदार, सिनियर अहेव र सहायक लेखापालसहित चारजना करारका कार्यालय सहयोगी छन् ।

See More On

सुझावित समाचार