कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक काफ्लेले दिए राजीनामा

मंगलबार, १९ भदौ, २०८०
डिजिटल संस्करण

बागमती प्रदेश कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले मंगलबार बिहान सचेतक पदबाट राजीनामा दिएका छन् । काफ्लेले कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई भेटेर राजीनामा बुझाएका हुन् ।

पार्टीको केन्द्रीय सदस्यसमेत रहेका काफ्ले प्रदेश सभा सदस्यमा दोलखा जिल्लाको प्रदेश सभामा क्षेत्र नम्बर १ को (क) बाट निर्वाचित भएका हुन् । उनलाई कांग्रेस बागमती प्रदेश संसदीय दलले ०७९ माघ २ गते बसेको बैठकले दलको प्रमुख सचेतकमा नियुक्त गरेको थियो ।

संसदीय दलका नेता लामालाई राजीनामापत्र बुझाउँदै गरेको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेका काफ्लेले दलको प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाली जनतालाई समय दिन नसकेको महसुस गरेकाले राजीनामा दिनुपरेको कुरा उल्लेख गरेका छन् । 

‘गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भएकै कुरा हो । प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाली जनसेवामा समय अभाव महसुस गरेको छु । अतः केन्द्रीय सदस्यको रूपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहन र दोलखाली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु,’ उनले भनेका छन् ।

माओवादी केन्द्र र कांग्रेसको गठबन्धनबाट उम्मेदवार बनेका काफ्लेले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई आठ हजार ४२ मतले पराजित गरेका थिए । उनले २२ हजार सात सय ९७ मत ल्याउँदा श्रेष्ठले १४ हजार सात सय ५५ मत ल्याएका थिए ।

सुझावित समाचार