मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ १९ मंगलबार
  • Friday, 28 August, 2026
२o८o भदौ १९ मंगलबार १o:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मालिका गाउँपालिका–७ का वडाध्यक्ष हिराबहादुरले कुटे शिक्षक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १९ मंगलबार १o:४६:oo

गुल्मीकाे मालिका गाउँपालिका–७ को देवीस्थान माविमा कार्यरत शिक्षक यमलाल पन्थी जनप्रतिनिधिबाटै कुटिएका छन् । उनलाई वडाध्यक्ष हिराबहादुर कार्कीले कुटपिट गरेका हुन् । कार्की कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । 

पन्थीले श्रीमती जानकी पाण्डेयको सरुवाको विषयमा आक्रोशित हुँदै वडाध्यक्ष कार्कीलाई अपशब्द बोलेपछि कुटपिटको अवस्था सिर्जना भएको हो । ‘सानो बच्चाकी आमालाई नियत राखेर सरुवा गरेपछि निकै सास्ती भएको छ । मैले त्यही आक्रोश वडाध्यक्षलाई पोखेँ,’ उनले भने, ‘सहजीकरणको सट्टा कुटाइ खाएँ ।’ 

विद्यालयका प्रध्यानाध्यापक खिमबहादुर बुढाथोकीले शिक्षक पन्थीले तथानाम गाली गरेपछि वडाध्यक्षले प्रतिवाद गरेको बताए । उनले विद्यालयकै परिसरको घटना भएकाले सिसिटिभी फुटेज प्रमाण भएको बताए । पन्थीले ०७६ बाट विद्यालयमा पढाउँदै आएका छन् ।

पालिकाले आफ्नी श्रीमती जानकी पाण्डेयलाई गत साउनमा वडा नम्बर–७ कै मैदानचौर प्राविबाट बरारूख प्राविमा करिब डेढ घन्टाको दूरीमा सरुवा गरेको शिक्षक पन्थीले बताए । वडाध्यक्ष कार्कीले आफूलाई अपशब्द प्रयोग गरेर गालीगलौज गरेपछि हातपात भएको स्वीकार गरे । ‘देख्ने थुप्रै छन्, तिमीहरूलाई श्राप लाग्छ, किरा पर्छ, झुन्डिए पनि हुन्छ भनेर थुकेपछि तनावपूर्ण अवस्था भएको हो,’ उनले प्रश्न गरे, ‘घटना पन्थीकै गालीबाट सुरु भएकाले पीडित को भन्ने ?’

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले दुवैजना सार्वजनिक पदधारण गरेका व्यक्ति भएकाले गालीगलौज र कुटपिट दुवै गलत भएको बताए । आफूले प्रधानाध्यापकलाई फोन गरेर घटनाको सहजीकरण गर्न भनेको प्रधानले जानकारी दिए ।