१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
वीणा झा
२o८१ बैशाख २२ शनिबार o७:२७:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

बुद्धिजीवीको जवाफदेहिता

बुद्धिजीवीले कुनै प्रभावमा नपरी कसैको समर्थन वा विरोधभन्दा पनि सार्वजनिक हितका लागि वकालत गर्छ भन्ने आमबुझाइ छ

Read Time : > 4 मिनेट
वीणा झा
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:२७:oo

सकसपूर्ण अवस्थामा सही निर्णयको महत्वपूर्ण भूमिका हुन्छ, चाहे त्यो व्यक्तिगत साँघुरो परिधि होस् वा बृहत् सार्वजनिक । र, त्यस्तो सही निर्णयका लागि आवश्यक हुन्छ, बुद्धि–विचार । विशेषगरी समाजको कठिन अवस्थामा सार्वजनिक हितलाई केन्द्रमा राख्दै सामाजिक न्यायका लागि अगाडि बढ्ने जवाफदेहिता बुद्धिजीवीको काँधमा हुन्छ ।

सामान्य अर्थमा बुद्धिजीवी भनेको त्यो व्यक्ति हो, जसले सार्वजनिक हितबारे चिन्तन गर्छ, सो हित संरक्षणका लागि सधैँ तत्पर हुनुका साथै समाजसँग निरन्तर संवादमा रही मानवताविरोधी कार्य र परम्पराको अन्त्य गर्न तथा विभेदरहित समाज निर्माणका लागि राज्यका विभिन्न संरचना र शक्तिसँग संघर्ष गर्दै एउटा साझा छवि निर्माण गर्छ ।

करिब सय वर्षअघि नै युरोपका प्रमुख विचारक एन्टोनियो ग्राम्सीले बुद्धिजीवीबारे स्पष्ट अवधारणा दिएका थिए । त्यसैगरी अमेरिकी विद्वान् नोम चोम्स्की, थोमस सोवेललगायत नेपालका प्रा.डा. चैतन्य मिश्र, डा. कमलप्रकाश मल्ल, डा. हर्क गुरुङलगायत विभिन्न विद्वान्ले विभिन्न समयमा दिएका बुद्धिजीवीबारेको अवधारणामा एउटा बुझाइ साझा भेटिन्छ । उनीहरू भन्छन्– बुद्धिजीवी चिन्तनशील हुन्छन्, ज्ञानको निर्माण गर्छन् र सो ज्ञानलाई औजारका रूपमा समाज रूपान्तरणमा प्रयोग गर्ने क्षमता राख्छन् । 

समग्रमा भन्नुपर्दा बुद्धिजीवी भनेको समाजको त्यो चेतनशील वर्ग हो, जो निरन्तर चिन्तनद्वारा ऐतिहासिक रूपले संकलित आधार र सामाजिक संरचनाबीचका क्रिया–प्रतिक्रियाद्वारा निर्मित सन्दर्भको धरातलमा टेक्दै विचार निर्माण गर्छ र त्यो विचार समाजको सार्वजनिक हितका लागि वितरण गर्नुका साथै त्यसको उपयोग गरिने संरचनालाई आवश्यकताअनुसार परिमार्जन गर्नसमेत दिशानिर्देश गर्ने क्षमता बोकेको हुन्छ ।

अर्थात् बुद्धिजीवी वर्ग ज्ञानका निर्माता हुन् । तर, सबै ज्ञानका निर्माता, अन्वेषक बुद्धिजीवी वर्गमा पर्दैनन् किनकि ती सबैले आफ्ना ज्ञानलाई समाजसँग जोड्दै त्यसको व्याख्या विश्लेषणको आधार सार्वजनिक हितलाई केन्द्रमा राखेर गर्दैनन् । त्यसैले ती विज्ञ, विद्वान् हुन सक्छन् तर बुद्धिजीवी हुन्छन् नै भन्न सकिन्न । त्यसैले थोमसले आफ्नो पुस्तक ‘इन्टेलेक्चुअल एन्ड सोसाइटी’मा बुद्धिजीवीका भूमिकाबारे प्रस्ट पार्दै भनेका छन्– हरेक ज्ञान निर्माण गर्नेलाई बुद्धिजीवी भन्न मिल्दैन ।

उनी अगाडि भन्छन्, बुद्धिचाल प्रतियोगिताका विश्वविजयी खेलाडी बुद्धिजीवी नहुन सक्छ, किनकि उसको ज्ञानको उपयोग उसले खेल जित्न मात्रै प्रयोग गरेको हुन्छ न कि सामाजिक हितका लागि । त्यसैले बुद्धिजीवीको मुख्य भूमिका भनेको सामाजिक रूपान्तरणका लागि गरिने योगदान हो, जो समाजसँग प्रत्यक्ष जोडिएका हुन्छन् र निरन्तर संवादमा रहन्छन् । त्यसैगरी नोम चोम्स्कीले आफ्नो पुस्तक ‘हु रुल्स द वल्र्ड ?’मा बुद्धिजीवीका परिभाषाका साथै तिनका सामाजिक दायित्व र भूमिकाबारे स्पष्ट धारणा व्यक्त गरेका छन् । जसमा बुद्धिजीवी सदैव शोषणविरुद्ध उभिनुपर्ने र जस्तोसुकै प्रतिकूल अवस्थामा पनि सत्यलाई छोड्न नहुने भन्दै तिनका भूमिकाको व्याख्या गरेका छन् । 

सामाजिक सद्भाव जोगाउने, समाज रूपान्तरण गर्ने, समुदायलाई सामाजिक न्यायको अनुभूति गराउने, सर्वसाधारणका आशा जीवन्त राख्ने, समाजमा विद्यमान विभेद अन्त्य गर्नेतर्फ प्रयासरत रहँदै राज्यलाई सचेत गराउन समय–समयमा खबरदारी गर्ने जिम्मेवारी पनि बौद्धिक वर्गको काँधमा हुन्छ
 

त्यसो भए विश्वका उत्कृष्ट विश्वविद्यालयबाट प्रमाण पत्र प्राप्त गर्ने अनेक वैदेशिक जर्नल र पुस्तक प्रकाशित गर्ने, विश्व मञ्चमा दरिलो प्रस्तुति दिन सक्ने तर नेपाली समाजका कमजोर वर्गका हित संरक्षण गर्न समाजलाई सुसूचित गर्दै तिनका चेतनाका तह परिवर्तन गर्न भूमिका नखेल्नेलाई नेपालको बुद्धिजीवी वर्गमा राख्ने कि नराख्ने ? आफ्नो ज्ञान सिर्फ आफ्नो व्यक्तिगत वा पारिवारिक फाइदाका लागि प्रयोग गर्नेलाई के भन्ने ? यसबारे स्पष्ट अवधारणा भेटिँदैन ।

नेपाली समाजमा बौद्धिक वर्ग भन्नाले ती सबै समेटिन्छन्, जो समुदायका हकहितका लागि विनास्वार्थ दिशानिर्देश गर्ने क्षमता राख्छन् भन्ने स्थापित एक साझा बुझाइ छ । जुनसुकै वर्ग, क्षेत्र र लिंगको प्रतिनिधित्व गरे पनि शिक्षक, सञ्चारकर्मी, न्यायकर्मी तथा विभिन्न पेसामा आबद्ध सचेत नागरिकले समाजमा प्रस्ट प्रभाव पार्न सक्छन् ।

बौद्धिक वर्गको कुनै जात, धर्म, क्षेत्रसँग कुनै पनि किसिमको आसक्ति हुँदैन, उसले जे देख्छ र बुझ्छ, त्यही कुरा जस्ताको त्यस्तै प्रस्तुत गर्छ भन्ने समाजको अपेक्षा हुन्छ । अर्थात् बुद्धिजीवी वर्गले कुनै किसिमको पनि प्रभावमा नपरी कसैको समर्थन वा विरोधभन्दा पनि सार्वजनिक हितका लागि वकालत गर्छ भन्ने आमबुझाइ छ । त्यसैले तिनका काँधमा विभिन्न उत्तरदायित्व हुन्छन् । सामाजिक सद्भाव जोगाउने, समाज रूपान्तरण गर्ने, समुदायलाई सामाजिक न्यायको अनुभूति गराउने, सर्वसाधारणका आशा जीवन्त राख्ने, समाजमा रहेका विभेद अन्त्य गर्नेतर्फ प्रयासरत रहँदै राज्यलाई सचेत गराउन समय–समयमा खबरदारी गर्ने जिम्मेवारी पनि बौद्धिक वर्गको काँधमा हुन्छ । 

सामाजिक अन्यायप्रति उदासीन भएर रमिता हेर्ने, राज्यका शक्ति सञ्चालकका गलत गतिविधिलाई बुझेर बुझ पचाउने, रंगभेद, लिंगभेद, जात र क्षेत्रगतजस्ता विभिन्न स्वरूपका विभेदलाई आधार बनाएर आफ्नो अभीष्ट पूरा गर्न गरिने राजनीतिलाई मौन समर्थन गर्ने व्यक्तिलाई बुद्धिजीवी भनी सामाजिक अगुवाका रूपमा इतिहासले सम्मान गर्दैन ।

हुन त ग्राम्सीले प्रस्तुत गरेका बुद्धिजीवीका प्रकार र तिनका निर्माण प्रक्रियामा राज्यले खेल्ने भूमिकामा राजनीति, संस्कृति, समाजको आर्थिक अवस्थाका साथै विश्वव्यापीकरणको प्रभावसमेतलाई नकार्न सकिन्न । जहाँ पुँजीवादको छत्रछायामा हुर्केका सामाजिक संस्थाका संरचनामार्फत राज्यका शक्तिशाली निकाय सरकार, पुँजीपति व्यापारी, बजारमा प्रभुत्व जमाउने सम्बन्धित विविध पक्षले बुद्धिजीवीलाई आ–आफ्नो उद्देश्यपूर्ति हेतु प्रयोग गर्छन् । र, थाहै नपाई समाजका निमुखा वर्गले आफ्नो सहमतिको मोहर लगाइदिन्छन् । किनकि, तिनको विश्वास बुद्धिजीवीमाथि हुन्छ भन्ने विषयलाई ग्राम्सीले आफ्नो जेलजीवनमा लेखेका नोटमा विस्तृत व्याख्या गरेका छन्, जुन नेपाली समाजका बुद्धिजीवी र तिनका भूमिकालाई बुझ्न थप मद्दतगार छ ।

नेपाली समाजका बुद्धिजीवीका भूमिकालाई गहिराइमा गएर बुझ्ने हो भने पहिला बुद्धिजीवी निर्माणमा राज्यले खेलेको भूमिका, सम्बन्धित निकायका पक्षलगायत समाजको लगानीसमेत हेर्नुपर्ने हुन्छ । बुद्धिजीवी निर्माणमा महŒवपूर्ण भूमिका खेल्ने ज्ञान निर्माणका प्लेटफर्महरूमा राज्यको लगानी, निगरानी र नियन्त्रण कस्तो छ ? नेपाली समाजमा युगौँदेखि जातीय, क्षेत्रीय, लैंगिक आधारमा स्थापित विभिन्न विभेदकारी संरचनाको भूमिका कस्तो छ ?

समाजमा रहेका विभिन्न सामाजिक संस्थाबीचको सम्बन्ध र सहकार्य कस्तो छ ? भन्नेजस्ता विषय महŒवपूर्ण हुन्छन्, किनकि बुद्धिजीवी भनेको एउटा मानिस हो, जो हेर्दा स्वतन्त्र देखिए पनि वास्तवमा परिवारदेखि विश्वसँग जोडिएको हुन्छ । त्यसैले, हरेक संरचनाको प्रभाव बुद्धिजीवीको निर्माण र उसको चिन्तनशैलीमा हुँदै कार्यशैलीमा समेत पर्छ र परिणाम धरातलमा देखिन्छ ।

यो त स्पष्ट छ कि बुद्धिजीवी वर्ग आफू पनि प्रश्नमा घोत्लिन्छन् र अरूलाई पनि हरेक परिदृश्यका पछाडि निरन्तर प्रश्न खोतल्न प्रोत्साहित गर्छन्, जसले ज्ञान निर्माणको आधार तयार पार्न मद्दत गर्छ । समाज भनेको निरन्तर परिवर्तनशील भइरहने हुँदा यसका विभिन्न नियम र मानक विभिन्न घटकको प्रभावका कारण परिवर्तित भइरहेको हुन्छ । निरन्तर समाजमा समूहगत सचेतना निर्माण गर्नु तथा राज्यलाई त्यसअनुरूपका नीति–निर्माण र कार्यशैली अपनाउन दबाब दिनु आफैँमा विशेष कार्य हो, जसको जिम्मेवारी बुद्धिजीवीको काँधमा रहेको हुन्छ । 

नेपालका बुद्धिजीवी वर्गलाई मुख्यतः तीन समूहमा विभाजन गर्न सकिन्छ । पहिलो समूह, जो आफ्नो ज्ञान र विचारको उपयोग यथास्थितिवादी शक्तिशाली समूहको पक्षपोषणमा गर्छ र आफू सम्मानित र चर्चित भइरहन रुचाउँछ । राजनीतिक संरचना परिवर्तनसँगै यिनका भाषा र शैली पनि समय–समयमा परिवर्तित भइरहन्छ । मिडियाका विभिन्न माध्यममा सहज पहुँच भएका यी बुद्धिजीवी आफ्ना विचारलाई स्थानीयभन्दा विदेशी धरातलमा पस्किन बढी रुचाउँछन् । 

दोस्रो, बुद्धिजीवी समूह भनेको त्यो समूह हो, जो आफ्नो विचार निर्माणका आधारमा प्रस्ट नभई विभिन्न मध्यमबाट पस्किने छताछुल्ल ज्ञानका स्रोतलाई छामछुम पार्दै विभिन्न लोभलाग्दा ‘स्लोगन’ निर्माण गर्छन् र त्यसैलाई ज्ञानको भण्डार मान्दै निर्धक्क पस्किन अगाडि सर्छन् । आफू र आफ्ना वरिपरि स्थापित र संरक्षित विभेदका संरचना भत्काउन सम्बन्धित समाजअनुरूपको औजार आफैँ निर्माण गर्न प्रयास गर्नुको साटो अन्य समाजमा निर्मित र परीक्षित औजार बोकी मैदानमा उत्रन्छन् । यिनलाई मिडियाले अत्यधिक रुचाउँछन्, किनकि यिनले आफ्ना विचार उत्तेजक रूपमा प्रस्तुत गर्छन्, जसलाई बहुसंख्यकले स्वादका रूपमा लिने गर्छन् । 

बुद्धिजीवीका तेस्रो समूह जसले, हरेक परिदृश्यलाई बडो गहनतासाथ विश्लेषण गर्ने क्षमता राख्छ, तर संगठन बनाउन, राज्यका नजरमा पर्न, शक्तिलाई रिझाउन इच्छा राख्दैनन् र अध्ययनको आनन्दमा चुर्लुम्म डुबी ज्ञानका हिरा संगालेर बसेका हुन्छ्न । यी समूह तुलनात्मक रूपमा अन्यभन्दा क्षमतावान् भए पनि राज्यले उचित संरचना निर्माण गर्न नसक्दा सदुपयोग गर्न सकेको देखिँदैन । मिडियाका विभिन्न माध्यमले पनि यिनलाई खासै भेट्टाउँदैनन्, भेट्टाइहाले पनि खासै रुचाउँदैनन्, किनकि यिनका विचार पस्किँदा मिडियालाई खासै लाभ हुँदैन ।

उल्लिखित तिनै प्रकारका बुद्धिजीवी समूह निर्माणमा राज्यको प्रमुख भूमिका रहेको हुन्छ । समाजमा अवस्थित विभिन्न विधागत संरचनाको पहिचानदेखि लिएर अनुकूल वातावरण निर्माणमा राज्यको स्रोतसाधन परिचालनमा राजनीतिक नेतृत्व क्षमताले अहम् भूमिका खेल्ने हुँदा राजनीतिक संरचना र बुद्धिजीवीका भूमिका एक–अर्कासँग जोडिएको हुन्छ । 

सरकारको सफलतामा बुद्धिजीवीका सशक्त भूमिका अपरिहार्य हुन्छ भने बुद्धिजीवी निर्माणदेखि लिएर तिनका सशक्त भूमिका निर्वाह गराउनमा राज्यको महत्वपूर्ण हात हुन्छ । किनकि, सिद्धान्ततः राजनीति र बुद्धिजीवीको साझा उद्देश्य हो, समृद्ध समाज निर्माण गर्ने । त्यसैले, बुद्धिजीवीका भूमिका प्रभावकारी बनाउनमा समाजका विभिन्न अवयवबीचको सम्बन्ध र सहकार्य पनि जिम्मेवार हुन्छ । नेपालको इतिहासदेखि वर्तमानसम्मका परिदृश्यमा बौद्धिक वर्गका रूपमा चित्रित प्रायः व्यक्ति, जो कि त आफ्नो वा आफ्नाका लाभ नहुँदा मौन बस्छन्, कि त वेलाबखत कुनै निश्चित क्षेत्र, वर्ग, लिंग, जाति र राजनीतिक दलका लागि मात्रै बोल्ने गर्छन् । वास्तवमा तिनका जवाफदेहिताको सीमारेखा कहाँसम्म पर्छ ? 
(झा समाजशास्त्री हुन्)

ad
ad