Skip This
विद्यालय शिक्षामा परिवर्तित प्रतिमान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २२ सोमबार
  • Saturday, 15 June, 2024
वीणा झा
२o८o जेठ २२ सोमबार o७:५९:oo
Read Time : > 5 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

विद्यालय शिक्षामा परिवर्तित प्रतिमान

परिवर्तित प्रतिमानले शिक्षा नीति र त्यसको कार्यान्वयनबीचको खाडल खोजी गरी त्यसलाई पुर्ने जुक्तिसमेत दिएको छ

Read Time : > 5 मिनेट
वीणा झा
नयाँ पत्रिका
२o८o जेठ २२ सोमबार o७:५९:oo

प्रतिमान परिवर्तन (पाराडाइम सिफ्ट)को अवधारणा सर्वप्रथम थोमस कुहले सन् १९६२ मा आफ्नो पुस्तक ‘द स्ट्रक्चर अफ साइन्टिफिक रिभोलुसन्स’मा उल्लेख गरेको भेटिन्छ । यसलाई व्यक्तिगत जीवन परिधिदेखि लिएर विश्व परिधिसम्म जोड्न सकिन्छ । प्रतिमान परिवर्तन भनेको नयाँ र फरक सोच्ने तरिका हो, जसले समाजमा कुनै विषयबारे स्थापित सोचमा आउने एउटा महत्वपूर्ण परिवर्तनलाई बुझाउँछ । यसले पुरानो सोच वा कार्यशैलीमा व्यापक परिवर्तन ल्याइदिन्छ । यो कुनै एउटा कारण र क्षणिक समयका लागि अचानक आउँदैन । यसका लागि लामो समय र विविध पक्षको भूमिका रहेको हुन्छ ।

शिक्षामा नयाँ सञ्चार र सूचना प्रविधिले पुरानो संरचना, सोच र कार्यशैलीलाई अप्रभावकारी बनाई त्यसको स्थानमा नयाँ सोच र कार्यशैलीप्रति स्वीकार्यता बढाउँदै त्यसलाई स्थापित गरेको देख्न सकिन्छ । स्मार्ट फोनले पढाइ बिग्रिन्छ भन्ने स्थापित सोचलाई कोरोनाकालको विषम परिस्थितिमा प्रतिस्थापित गरिदियो । कतिपय भौतिक सम्पन्नता हुँदाहुँदै पनि शिक्षण जीर्ण अवस्थामा पुगेका विद्यालयमा समयसापेक्ष प्रविधि तथा कार्यशैलीका साथै सिकाइ उपलब्धि मापक निर्धारण गर्दै सक्षम प्राचार्य तथा सीपयुक्त शिक्षक समूह मिली विद्यालयको कायापलट गरेका दृश्य पर्याप्त भेटिन्छन् ।

सामाजिक संगठनदेखि लिएर व्यक्तिको सोचमा आएको परिवर्तनले समाजको सोच, जीवनशैली, पेसागत प्रगति, संस्थागत संरचना र कार्यशैली इत्यादिमा ल्याएको परिवर्तन छर्लंग देखिन्छ । प्रतिमान परिवर्तनको जरा जहिले पनि संस्कृतिसँग जोडिएको हुन्छ । अर्थात् समाजको उत्पादन र वितरण प्रणालीसँगै दैनिक जीवन पद्धतिले यसलाई प्रभावित पार्ने गर्छ ।

समाजमा स्थापित सोच्ने तरिकामा आउने एउटा यस्तो महत्वपूर्ण परिवर्तन, जसले कुनै विषयबारे सोच्ने वा गर्ने पुरानो तरिकालाई विस्थापित गर्छ भने त्यसलाई प्रतिमान परिवर्तन भनिन्छ । यसलाई हरेक क्षेत्रमा अनुभव गर्न सकिन्छ । जहाँसम्म शिक्षामा प्रतिमान परिवर्तनको कुरा गर्ने हो भने त्यहाँ थुप्रै परिवर्तन आइसकेको अवस्थालाई नकार्न सकिन्न जसले गर्दा पारम्परिक सिक्ने सिकाउने प्रक्रियामा ब्यापक परिवर्तन देखिन्छ ।

पहिले शिक्षककेन्द्रित सिकाइ हुन्थ्यो भने पछिल्लो समयमा आएर विद्यार्थीकेन्द्रित सिकाइ प्रक्रियाले स्थान लिएको देखिन्छ, जहाँ सिकारुको बढीभन्दा बढी सक्रिय सहभागिताको अपेक्षा गरिन्छ । शिक्षक अर्थात् सिकाउनेले प्रश्न सोध्ने र सिक्न बसेकाले उत्तर दिने पुरानो प्रक्रियालाई परिवर्तन गर्दै अहिले बढीभन्दा बढी प्रश्न विद्यार्थीले सोधून् भन्ने अपेक्षा गरिन्छ । 

त्यसैगरी, जति बढी पुस्तक त्यति नै बढी ज्ञान भन्ने स्थापित प्रतिमान पनि परिवर्तित भएको देखिन्छ । किताबको संख्याभन्दा पनि सिक्ने प्रक्रियालाई सहज र समयानुकूल बनाउन तत्परता बढेको अवस्थामा सिक्ने सिकाउने प्रक्रियाबीच ठूलो हिस्सा अहिले सूचना प्रविधिले लिएको छ । शिक्षकले बढीभन्दा बढी अध्यन गर्दै ज्ञानका विविध स्रोतसँग जोडिन आवश्यक आधुनिक प्रविधिको उपयोग गरी सिकाइका बिबिध श्रोत, तरिका र पद्धति सिक्दै सहजीकरण गर्ने भूमिका निभाउँदा सिकाइ प्रभावकारी भएको विभिन्न अनुसन्धानमा भेटिन्छ । अर्थात्, सञ्चार तथा सूचना प्रविधिको उपलब्धताले शिक्षामा प्रतिमान परिवर्तन गरेको छ भन्दा अत्युक्ति नहोला ।

सिकाइमा प्रयोग गरिने सामग्रीमा समेत व्यापक परिवर्तन आएको छ । अहिले बढीभन्दा बढी सञ्चार प्रविधिको प्रयोग भएको भेटिन्छ । कालो र सेतो पाटीको ठाउँमा ‘इन्टरेक्टिभ’ बोर्ड र सिक्ने स्रोतमा पनि व्यापक परिवर्तन देखिन्छ । अहिले विद्यार्थीहरू सिक्नका लागि सिर्फ कक्षा कोठाभित्र शिक्षकसँगको छलफलमा मात्रै निर्भर छैनन् ।

परिवर्तित प्रतिमानले विद्यालय शिक्षालाई जीवनको जग मानेको छ । जग कमजोर बन्यो भने त्यसमाथि निर्मित संरचना पनि कमजोर हुन्छन् भन्ने अवधारणा यसले आत्मसात् गरेको छ । 
 

विविध अनलाइन माध्यम, सामाजिक सञ्जालदेखि अन्य स्रोतको सहज पहुँचले पनि सिक्ने प्रक्रिया र पद्धतिमा व्यापक परिवर्तन अनुभव गर्न सकिन्छ । त्यसैगरी, सिकाइ मापनका प्रक्रिया र पद्धतिमा पनि परिवर्तन आएको छ । केही घन्टाको लिखित जवाफका आधारमा सिकाइमा अब्बल घोषित गर्ने तरिकाको ठाउँमा अहिलेका विद्यार्थीको सर्वांगीण शिक्षाको अवधारणाअनुरूप निरन्तर सिकाइलाई मापन गर्ने पद्धति आत्मसात् गरिएको छ । त्यसैको परिणाम हो, अहिले विद्यालय तहको शिक्षामा सिक्दै कमाउँदै अभियानले व्यापकता पाएको छ । 

यी सबै अवस्थालाई आत्मसात् गर्दै राज्यले समेत विद्यालय तहको शिक्षालाई व्यावहारिक र समयसापेक्षित बनाउने अभिप्रायले पाठ्यक्रममा व्यापक परिमार्जन गरेको छ । पछिल्लो छोटो समयमा विज्ञान तथा प्रविधिमा भएको बृहत् परिवर्तन र विश्वदेखि स्थानीय आवश्यकताबीच सन्तुलनलाई समेत मध्यनजर गर्दै बिद्यालय तहको शिक्षालाई तहगत संरचनाका साथै तहअनुरूपको पाठ्यक्रम, पाठ्यभार र निश्चित राष्ट्रिय उद्देश्यले निर्देशित गरेको छ । विश्वमा देखिएका नवीनतम परिवर्तन तथा नेपालको वर्तमान र भविष्यमुखी सामाजिक अपेक्षालाई दृष्टिगत गर्दै बालबालिकाको सर्वांगीण विकासका साथै एक सक्षम नागरिक बनाउने परिकल्पना गरिएको छ ।

विद्यालय शिक्षा भनेको जीवनको जग हाल्ने वेला हुने हुँदा त्यसमा किताबका विषयवस्तु सँगसँगै जीवनका लागि आवश्यक मुल्य–मान्यता, आत्मविश्वास र सिर्जनशीलतालाई प्राथमिकता दिने गरी विद्यालय शिक्षाकेन्द्रित गरिएको देखिन्छ । विद्यालयको अवस्थाबाहेक समाजको संरचना, सांस्कृतिक परिवेश तथा अभिभावकको शैक्षिक अवस्थाले बालबालिकाको विद्यालय तहको आधारभूत शिक्षालाई प्रत्यक्ष प्रभाव पार्ने हुँदा तिनका शिक्षण पद्धति, विषयवस्तु र प्रक्रियामा आवश्यकताअनुसारको शिक्षण विधि र सिद्धान्त अपनाउनुपर्ने हुन्छ । परिवर्तित प्रतिमानअनुसार विद्यार्थीलाई विद्यालय तहदेखि नै ज्ञान खोज्ने, त्यसलाई बुझ्ने र बुझाउने, त्यसका आधारमा सिर्जना गर्ने, विभिन्न सूचकको प्रयोग गर्दै स्वमूल्यांकन गर्ने अवसर दिने र जीवनमा आवश्यक पर्ने सीप सिकाउने काम हुन थालेको छ ।

समूहमा मिलेर काम गर्ने, अरूको विचार बुझ्न खोज्ने र त्यसको कदर गर्ने, आवश्यक प्रविधि प्रयोग गर्ने, सहकार्यलाई प्रोत्साहन गर्ने र जवाफदेही बन्ने, आफ्ना समस्याको सही पहिचान गरी समाधान खोज्ने, नेतृत्व लिन अग्रसर हुने र आफूले हासिल गरेको ज्ञानलाई दैनिक जीवनमा आवश्यक सीपको सिकाइसँग जोड्दै सोच्ने शक्तिको विकास गर्ने । 

विद्यार्थीलाई ज्ञान भनेको पुस्तक पढाइको उत्पादित नतिजा मात्रै नभई यो एक निरन्तर प्रक्रिया हो भन्ने बुझाउन जरुरी छ । त्यसैगरी मानवता, इमानदारी, नम्रता, शिष्टता, विनयशीलता, संस्कार र शान्तिपूर्ण व्यवहार उनीहरूलाई सिकाउन सकियो भने सक्षम पुस्ता निर्माण गर्न सकिन्छ । जुन शिक्षाको राष्ट्रिय मूल उदेश्य पनि हो । घरदेखि विद्यालय परिसरभित्रको वातावरणमा विद्यार्थीले नम्रता, शिष्टता, इमान्दारिता, लगनशीलता, सिर्जनशीलता आदि थाहै नपाई सिक्छन् जसलाई किताबको कुनै अभ्यासले सीमित गरी सिकाउन सम्भव छैन ।

परिवर्तित प्रतिमानले विद्यालयको शिक्षालाई जीवनको जग मानेको छ । जग कमजोर बन्यो भने त्यसमाथि निर्मित संरचना पनि कमजोर हुन्छन् भन्ने अवधारणा यसले आत्मसात् गरेको देखिन्छ । एकैपल्ट हालिने घरको जग पटक–पटक परिमार्जन गर्न सम्भव नभएजस्तै विद्यालय शिक्षा पनि हाम्रो जीवनको जग हुनाले पटक–पटक परिमार्जन गर्दै फेरबदल गर्न कठिन हुन्छ । 

त्यसका साथै विद्यार्थीको ‘सोसल र इमोसनल लर्निंङ’का लागि विद्यालयले कार्ययोजना बनाई बालबालिकामा सामाजिक तथा भावनात्मक विकासमा सहयोग हुने गरी विद्यालयको शैक्षिक रणनिति तथा कार्यक्रम निर्माण गरिनुपर्छ ता कि विद्यार्थीमा व्यावहारिक र भावनात्मक दुवै क्षमताको सन्तुलित विकास गर्न सकियोस् । शिक्षण सिकाइलाई दैनिक जीवनसँग आबद्ध गर्न कक्षा सिकाइ क्रियाकलापमा आवश्यक सुधार गर्दै सामाजिक, विज्ञान, जीवनोपयोगी सीपजस्ता विषय एकीकृत गरी पठनपाठनको व्यवस्था मिलाउन आवश्यक पूर्वाधार निर्माण नगरी पुस्तक संख्या मात्र बढाएर शिक्षाको उद्देश्य पूरा गर्न सकिन्न भन्ने सोच सम्बन्धित सबैमा आउनु जरुरी छ । राष्ट्रिय पाठ्यक्रमले विद्यार्थीमा सोचाइ सीप, वैयक्तिक सीप, अन्तरवैयक्तिक सीप, सूचना प्रविधि तथा बहुसाक्षरता सीप र नागरिक सीपको विकास गराउने परिकल्पना गरेको छ । 

दुर्भाग्य नै भन्नुपर्छ अझै पनि बहुसंख्यक विद्यालयमा पुस्तक संख्याले ज्ञानको आकारलाई निर्धारित गर्न सक्छ भन्ने भ्रमले गर्दा कक्षा १ मा पनि तीनवटा अंग्रेजी विषयका किताब, दुईवटा नेपाली विषयका किताब, सरकारी र विद्यालयका गरी दुईवटा गणितका किताबका साथै सामान्य ज्ञान, नैतिक शिक्षाजस्ता विविध विषयका किताब बालबालिकालाई बोकाइरहेको भेटिन्छ, जहाँ न राज्यको निगरानी छ न त सम्बन्धित अभिभावक र समाजका बुद्धिजीवीकै चासो देखिन्छ । 

अझै पनि गहिरिएर हेर्ने हो भने शिक्षा नीति र कक्षाकोठाको अभ्यासबीच सन्तुलित तालमेल भेटिन्न । पाठ्यक्रम र शिक्षाको राष्ट्रिय उद्देश्य हेर्दा निकै ‘प्रोग्रेसिभ’ देखिन्छ, तर विद्यार्थीको सिकाइ उपलब्धिको अवस्था हेर्दा निराशाजनक अवस्था छ । पाठ्यक्रमको प्रस्तावनादेखि नै शब्द–शब्दमा शिक्षामा रूपान्तरण देखिन्छ । कक्षाकोठामा विद्यार्थीकेन्द्रित सिकाइ हुन्छ, विद्यार्थीले खोजी गर्छन्, शिक्षकले सहयोग गर्छन्, चुनौतीपूर्ण गृहकार्य दिन्छन् आदि इत्यादि । तर, केही अपवादबाहेक बहुसंख्यक विद्यालयमा त्यसको छनक कतै भेटिन्न ।

कक्षाकोठाको संरचनादेखि लिएर शिक्षण विधिसम्म यति पुराना छन् कि परिस्थितिमा परिवर्तन आए पनि मनस्थितिमा कहीँकतै परिवर्तन देखिँदैन । उदाहरणका रूपमा कक्षा १ देखि ३ सम्म लागू गरिएको एकीकृत पाठ्यक्रमलाई लिन सकिन्छ । बहुसंख्यक विद्यालयको शैक्षिक नेतृत्व लिएर बसेका प्राचार्यहरूले एकीकृत पाठ्यक्रमको मर्म, विधि र तरिकाबारेको बुझाइमा आफू स्वयं नै स्पस्ट नभइदिँदा कक्षाकोठामा पुगुन्जेल ती सम्पूर्ण उद्देश्य हराउँछन् । शिक्षकले आवश्यक सामग्री नपढिदिने, बाह्य प्रशिक्षक नपाएसम्म सिक्न सकिन्न भन्ने सोचले ग्रस्त भइदिने, शिक्षक तालिममा संवेदनशीलताका साथ मिहीन अध्ययन नहुने, गहन अध्ययन गर्ने संस्कार बनाउन नसक्ने र सम्बन्धित सन्दर्भ–सामग्री खोज्ने जाँगर पटक्कै नराख्ने बानीले गर्दा विद्यालय शिक्षाको अवस्था दिनानुदिन क्षयीकरण हुँदै छ । 

त्यसैले परिवर्तित प्रतिमानले शिक्षा नीति र त्यसको कार्यान्वयनबीचको खाडल खोजी गरी त्यसलाई पुर्ने जुक्तिसमेत दिएको छ । जसका लागि शिक्षासँग जोडिएका सम्बन्धित सम्पूर्णको भूमिका र जवाफदेहिता महत्वपूर्ण छ । राज्यदेखि स्थानीय तहसम्मको लगानी मात्रै नभई निगरानी पनि आवश्यक छ । विद्यालयको शैक्षिक वातावरण, सिकाइ संस्कृति, सिकाइ संस्कार र सम्बन्धित समाजको संस्कृतिसँग जोडिँदै विद्यालय शिक्षालाई अगाडि बढाउनुको विकल्प छैन । किनभने नयाँ पाठ्यक्रम पढ्ने, त्यसलाई बुझ्ने र पुरानो सोच्ने तरिका र कार्यशैलीमा परिमार्जन नगरी अब सम्भव छैन । यो सबैको एउटा मात्रै समाधान अहिलेको परिवर्तित प्रतिमानलाई आधार मान्दै विद्यालय शिक्षामा द्रुतगतिमा रूपान्तरण गर्नु नै हो ।
(झा समाजशास्त्री हुन्)

ad
ad
ad
ad