१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ जेठ ५ शनिबार १o:२६:oo
Read Time : > 4 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सन्तोषीले पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामै दिलाएको स्वर्ण 

Read Time : > 4 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १o:२६:oo

सन् २०१९ मा काठमाडौंमै भएको १३औँ दक्षिण एसियाली खेलकुदअघिसम्म सन्तोषी श्रेष्ठ राष्ट्रियस्तरकी धाविका थिइन् । साग खेलकुदबाट उनी नेपालमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमै चर्चित भइन् । उनले १० हजार मिटर दौडमा उपाधिकी प्रमुख दाबेदार भारतीय खेलाडी कविता यादवलाई केवल ०.०१ मिलिसेकेन्डले निराश पार्दै दशरथ रंगशालाको ट्रयाकमा स्वर्ण चुमेकी थिइन् । आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै स्वर्ण जित्दा भारतीय खेलाडीलाई मिलिसेकेन्डले पछि पारेको क्षण उनी बिर्सन सक्दिनन् । धादिङकी सन्तोषीले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर र पब्लिक हेल्थमा डिप्लोमा (पिजिडी) गरेकी छिन् । स्वर्ण जितेको र अभ्यासका क्रममा आएका समस्याबारे सन्तोषीले नयाँ पत्रिकाका रमेश सुवेदीलाई यसरी सुनाइन् । 

नेपालगन्जमा भएको आठौँ राष्ट्रिय खेलकुद खेल जीवनकै निर्णायक मोड थियो । दाङको रंगशालामा एथलेटिक्स भएको थियो । जहाँ मैले स्वर्ण जित्दै १३औँ सागको छनोटमा स्थान बनाएँ । आठौँ राष्ट्रिय खेल्न पार्ट टाइम जागिर छाडेर नेपालगन्ज पुगेकी थिएँ । लगनखेलस्थित आर्मीको प्रशिक्षण केन्द्रमा रघु गुरुसँग प्रशिक्षण गर्न अवसर पाएँ । त्यसवेला गुरुहरूले तीनवटै इभेट्समा अवसर पाउँछ भनेपछि १५ सय मिटरमा दौडिएँ । यही वेला मात्र स्पाइक कस्तो हुन्छ भन्ने ज्ञान भयो । मैले प्रतिस्पर्धाको दौरान ओलम्पियन खेलाडी सरस्वती दिदीलाई झन्डै भेट्टाएकी थिएँ । दौडमा हामी दुईबीच १० सेकेन्डको अन्तर थियो । मैले राष्ट्रिय च्याम्पियनसिपमा रजत र कांस्य जितेकी थिएँ । यसअघि राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक थिएन । एकैपटक मैले आठौँमा पहिलो स्थान हात पारेँ । त्यो प्रतियोगिताको पाँच किलोमिटरमा केही विवाद आएको थियो । तर, मैले स्वर्ण पदक पाएँ । 

नेपालगन्जमा मैले तीन इभेन्टमा स्वर्ण, रजत र कांस्य पदक जितेकी थिएँ । यसै प्रदर्शनका आधारले म काठमाडौंमा हुने १३औँ सागमा प्रारम्भिक छनोट भएँ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितासम्म मैले ‘सेल्फ’ तयारी गरेकी थिएँ । सागका लागि खेलाडीलाई होटेलमा राखिएको थियो । म होटेलको रुममा पढाइसँगै सागको तयारी गर्ने मनस्थितिमा थिएँ । गुरु रघु र प्रमुख गुरु विक्रमजङले मलाई पढाइसँगै प्रशिक्षण गर्न अनुमति दिनुभयो । तर, कता–कता सागको तयारी गरिरहँदा पढाइ बिग्रनेजस्तो लागेको थियो । दुईवटै विधालाई समानान्तर रूपमा कसरी लाने भन्ने मानसिक चिन्ता भइरहेको थियो । दैनिकी क्रियाकलापमा मैले गुरुबाट सहयोग पाएँ । प्रशिक्षणका क्रममा मैले एथलेटिक्सको वास्तविक नियम बुझ्ने अवसर पाएँ । अक्सर प्रशिक्षक परिवर्तन हुँदा नतिजा आउँदैन । खेलाडी मानसिक रूपमा कमजोर हुन्छन् । खेलाडीले आफ्नै प्रशिक्षकसँग अभ्यास गर्नुपर्छ । अनि मात्र सोचेजस्तो नतिजा आउँछ । सागको प्रशिक्षणका क्रममा चन्द्र गुरुङले साथ दिनुभएको थियो ।

अन्य खेलाडी र प्रशिक्षकले होटेलमै बसेर तयारी गर्नुपर्छ भनेर तनाव दिएका थिए । विभागका खेलाडीलाई होटेलमा बस्न रमाइलो लाग्छ । यसबीच मलाई पढाइ र खेलकुद सँगै लैजानुपर्ने दबाब थियो । एकातिर होटेलमा बस्दा पढाइ बिग्रने पक्का थियो । अर्कोतिर नतिजा पनि चाहिने थियो । होटेलमा बस्दिनँ भन्दा धेरैले विरोध गरे । त्यसवेला म एक्लोजस्तै भएँ । 

मैले गुरुहरूलाई भनें, ‘एक अनुशासित खेलाडीका रूपमा वस्छु, तर होटेल बस्दिनँ । होटेलमा बसेको भत्तासमेत नलिने निर्णयमा पुगेँ । यसै विवादबीच रघु र चन्द्र गुरुले मेरो समर्थन र सहयोग गर्नुभयो । मानसिक तनावबीच  होटेलमै बस्न बाध्य भएँ । बुढानीलकण्ठको जंगलछेउमा बसेकी म सुन्धाराको त्यो कोलाहलमा रमाउन सकिनँ । होटेलको त्यहाँको वातावरणमा के नपुगेजस्तो लागेको थियो । १५ दिन बस्दा म बिरामी भएँ । 

भारतीय खेलाडीलाई उछिनेर स्वर्ण जितेँ
१५ दिनमै बिरामी भएपछि रघु गुरुले जोखिम लिँदै मलाई होटेलमा नराख्ने निर्णय लिनुभयो । तर, आर्मी हेडक्वार्टरमा रघु गुरुलाई प्रवेश दिइएन । सागको तयारी प्रशिक्षकविना नै गरँे । आर्मीका सिनियर दाइले मलाई सहयोग गर्नुभयो । अचानक होटेल छाडेपछि मेरो प्रदर्शनमा सुधार भयो । १० हजार मिटरको अन्तिम छनोटमा ३५ मिनेटभित्र पूरा गरेँ । यसअघि यस विधाको छनोटको रेकर्ड ३७ मिनेट रहेछ । मैले ट्रयाक रेकर्ड ब्रेक गरेँ । यस प्रदर्शन र अभ्यासका कारण मलाई स्वर्ण पदकको दाबेदार खेलाडीका रूपमा सबैले हेर्न थाले । अभ्यास क्रममा मिडियामा समेत पदक आउने खेलाडी भनेर चिनाइएको थियो ।

छनोटमा राम्रो नतिजा आएपछि मानसिक रूपमा तयार भएँ । सागमा स्वर्ण नै जित्ने आत्मविश्वास थियो । प्रशिक्षणका क्रममा गुरुहरूले मलाई स्वर्ण ल्याउन सक्छेस् भनी धाप दिइराख्नुभएको थियो । यद्यपि, मसँग अन्तर्राष्ट्रिय खेलको अनुभव थिएन । रघु गुरुले अक्सर भन्नुहुन्थ्यो, ‘सन्तोषी ट्रयाकमा जा र फाइट गर । आफ्नो वास्तविक खेल देखाउँदा राज्यले र समाजले चिन्छ ।’ चेन्जिङ रुमबाट निस्कँदा मभित्र डर–त्रास नै थिएन । मानसिक तनावबीच अभ्यासलाई बिर्सेर देशको प्रतिनिधित्व गर्दै थिएँ । 

म र विश्वरूपमा बुढा दिदी १० हजार मिटरमा थियौँ । १३औँ सागको नियमअनुसार प्रतिस्पर्धाको उद्घाटनअगाडि दुई दिन होटेलमा बस्नुपर्ने भयो । म ठमेलको होटेलमा दुई दिन मात्रै बसेँ । सायद त्यसवेला पाँच हजार मिटर दौडका क्रममा घरमै बस्न पाएको भए स्वर्ण नै आउने थियो । त्यो विधामा म चौथो स्थानको खेलाडी थिइनँ । हामीलाई होटेलबाटै स्कर्टिङ गर्दै दशरथ रंगशालामा पु¥याइएको थियो । १० हजार मिटर दौड मैले ३० मिनेट सात सेकेन्ड ९४ मिलिसेकेन्डमा पूरा गरेँ । भारतीय खेलाडी कविताले ३० मिनेट सात सेकेन्ड ९५ मिलिसेकेन्डले पूरा गरेकी थिइन् ।  मैले स्वर्णपदक केवल ०.०१ मिलिसेकेन्डको अन्तरमा जितेँ । 

स्वर्ण जित्दा आइडल खेलाडी चौथो स्थानमा
श्रीलंकाकी हिरूनी विजयरत्नेको खेल हेर्दै एथलेटिक्स पछ्याएकी हुँ । दक्षिण एसियाकै कीर्तिमानी धावक हिरूनीले अमेरिकामा बसेर सागको तयारी गरेकी थिइन् । मैले उनले अन्तर्राष्ट्रिय स्पर्धामा सहभागिता जनाएका भिडियाहरू फेसबुक र इस्टाग्राममा खुबै हेरेकी थिएँ । नेपालमा उनी आउने समय र बस्ने होटेलबारे सबै जानकारी लिएँ । मैले आफ्नो आइडल खेलाडीसँग चेन्जिङ रुममा कुराकानी गर्ने अवसर पाएँ । उनले १० हजार मिटर दौडमा सोचेजस्तो नतिजा निकाल्न सकिनन् । यस विधामा मैले स्वर्णपदक जित्दा उनी चौथो भएकी थिइन् । 

अन्तर्राष्ट्रिय दौडको एक्सपोजर मसँग नहुँदा मलाई पछि पार्ने खेलाडी थुप्रै थिए । दौडका क्रममा भारतीय धाविकाविरुद्ध मैले एकैपटक आफ्नो पेस बढाएँ । तीन सय मिटरमा पनि नभेटेपछि मैले पेस बढाएँ । यसअघि हामी लगभग सँगसँगै कुदिरहेका थियौँ । मैले उनलाई धक्का दिएर अगाडि बढ्ने योजना बनाएँ । तर, ल्यापका क्रममा हल्का घुमेर अगाडि बढँे । केवल मिलिसेकेन्डले मैले स्वर्ण जितेँ । मेरो ऐतिहासिक सफलताबाट सबै दंग परे । नेपालमा मात्र नभएर मेरो चर्चा विदेशसम्म भयो । देशको झन्डा बोक्नु एउटा सपना थियो, त्यसमाथि पनि राष्ट्रलाई स्वर्ण दिलाउनु अर्को ऐतिहासिक प्रदर्शन थियो । पहिलो अन्तर्राष्ट्रिय खेलमै स्वर्ण पदक जित्दा एक समय बोल्नै सकिनँ । स्वर्ण जितेपछि म यति व्यस्त भएँ, परिवारले मलाई भेट्न तीन घण्टा प्रतीक्षा गरेको थियो । दुई दिन व्यस्त तालिकाले पाँच हजार मिटरमा प्रदर्शन नै बिग्रियो ।

एमबिबिएस पढ्न मन लागेन
राष्ट्रियस्तरसम्मको यात्रामा मसँग धेरै दुःख र सुखका कथा छन् । जीवनको उतारचढाव क्षणमा कसैबाट पनि गतिलो साथ पाउन सकिनँ । तर, मैले आफ्नो लक्ष्य र बाटो निश्चित गरेकी थिएँ । १३औँ सागपछि मात्र मलाई सबैले चिने । कलेज लाइफमा प्रतियोगितामा भाग लिने र नलिने क्रम चलिरहेको थियो । यद्यपि, मैले तीनवटा विभागीय टोलीका खेलाडीलाई सहजै हराएकी थिएँ । धेरैले मलाई ‘गर्ड गिफ्टेड’ खेलाडी भन्थे । हुन पनि हो, मैले कैयौँपटक अभ्यास नगरी पहिलो स्थान हात पारेकी थिएँ । १२ कक्षा समाप्तिपछि मैले दौडमा राम्रो गर्न सकेकी हुँ । १२ कक्षामा मैले साइन्स पढेकी थिएँ । धेरैले मलाई आयुर्वेदिक वा एमबिबिएस डाक्टर बन्ने रूपमा लिएका रहेछन् । त्यसवेला मलाई एलोपेथिक र आयुर्वेद खासै मन परेको थिएन । पब्लिक हेल्थ सुनेपछि यसमा इन्ट्रेस जाग्यो । माइक्रोबायोलोजी पढ्ने इच्छा हुँदाहुँदै मेरो नाम पब्लिक हेल्थमा निस्कियो । दोस्रो सेमेस्टरमा पब्लिक हेल्थ र फिटनेसबारे पढ्ने मौका पाएँ । 

यसबीच खेलकुद र पढाइ सँगै लैजान सकिन्छ भन्ने थियो । नयाँ पुस्ताले खेलकुद र पढाइ सँगै लैजान सक्छन् । पढाइ छाडेर धेरै खेलाडीले खेलमै ध्यान दिएका रहेछन् । तर, म पुरोना सोचलाई चिर्ने पक्षमा थिएँ । यसैकारण मैले यी दुवै विधामा सफतला पाएँ । मैले कहिल्यै पनि पैसा र नाम सोचिनँ । जापानमा सात दिनको ट्रेनिङका क्रममा त्यहाँ खेल र पढाइ सँगै लैजान सक्ने वातावरण बनेको थियो । स्पोर्टस् साइन्स पढ्ने वेला बिहान चार बजे उठेर कुद्ने । त्यसपछि सात बजेतिर कजेल जाने रुटिङ थियो । १० बजे जागिर खान जान्थेँ । घर आउँदा आठ बज्थ्यो । 

 

ad
ad