१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार o७:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

समाजशास्त्री वीणा झालाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o७:१o:oo

मधेशमा घरेलु हिंसाको ‘ग्राफ’ अन्यत्रभन्दा उच्च हुनुको कारण के हुन सक्छ ?
समाजमा घट्ने कुनै पनि हिंसाका पछाडि विविध कारण हुन्छन् । मधेशमा जुन किसिमले घरेलु हिंसाको ‘ग्राफ’ बढेको देखिन्छ, त्यसको मुख्य कारणका रूपमा गुणात्मक शिक्षाको अभाव र सहायक कारणमा सामाजिक, सांस्कृतिक र आर्थिक परिवेशलाई लिन सकिन्छ । मधेशको शिक्षाप्रति राज्य संवेदनशील नभइदिँदा समाजको सशक्तीकरण हुन सकेन । जसका कारण बेरोजगारी, निराशा र अराजकता बढ्यो । समाजमा गहिरो जरा गाडिरहेका असमान शक्ति वितरण र अभ्यास परिमार्जित हुन सकेनन् । पितृसत्तात्मक सोचबाट निर्मित र निर्देशित सामाजिक, सांस्कृतिक, राजनीतिक तथा आर्थिक संरचनाको परिमार्जनसहित पुनर्निर्माण गर्न सक्ने राजनीतिक नेतृत्व मधेशले पाएन । यसले गर्दा मधेशमा घरेलु हिंसाको ग्राफ अन्यत्रभन्दा उच्च देखिएको हुन सक्छ ।

यसका लागि हाम्रो समाजको बनोट कति र किन जिम्मेवार छ ?
मधेशको समाजमा गहिरो जरा गाडिरहेको पितृसत्तात्मक सोचबाट प्रभावित सामाजिक संरचना र सामाजिकीकरणको प्रक्रिया समाजमा व्याप्त असमानतालाई सांस्कृतिक विविधताका रूपमा प्रस्ट्याउनमा अभ्यासरत देखिन्छ । सामाजिक बनोटका आधारमा यसलाई जिम्मेवार भन्न सकिन्छ र किन जिम्मेवार भनेर हेर्ने हो भने यसका पछाडि पितृसत्तात्मक सोचलाई संरक्षण गर्ने मानसिकता लुकेको देखिन्छ ।

 यसको समाधानका उपाय के हुन सक्छन् त ?
यसको समाधानका लागि मुख्य उपाय भनेको सामाजिक सशक्तीकरण नै हो । जसका लागि गुणात्मक शिक्षा आवश्यक हुन्छ, जसले समाजभित्रका सम्भावना र अवसर खोज्न सक्ने क्षमता विकास गर्नुका साथै सामाजिक न्यायप्रति दायित्वबोध गराउन मद्दत गर्छ । मधेशको सन्दर्भमा, पिँधमा रहेका बहुसंख्यक नागरिकको दैनिकी सहज, सुरक्षित र सम्भावनायुक्त बनाउन राज्य संवेदनशील बन्न सके मधेशमा घरेलु हिंसाको ग्राफलाई तल झार्न सकिन्छ ।

ad
ad