१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १o:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेश : संसदीय समितिको नेतृत्व चयनमा जुटेन सहमति

३ जेठसम्म सहमती नभए ४ गते निर्वाचन हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १o:५५:oo

बागमती प्रदेश सभाका संसदीय समितिहरूको भागबन्डा र सभापति चयनको विषयमा सहमति खोज्ने प्रयास असफल भएको छ। प्रदेश सभा सचिवालय हेटौँडामा शुक्रबार बसेको सर्वदलीय बैठकले संसदीय समितिहरुको भागबन्डा र सभापति टुंगो लगाउने प्रयास गरेको थियो।

शुक्रबारको बैठकमा सहमतिमा पुग्न नसकेपछि दलहरू समितिको भागबन्डा र सभापति चयनका लागि ३ जेठसम्म सर्वसम्मतिको प्रयास गर्ने सहमति भएकाे छ। यदि ३ जेठसम्म पनि दलहरूबीच सहमति जुट्न नसके ४ जेठमा निर्वाचनबाट सभापति चयन गर्ने सहमति भएको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए।

‘सकेसम्म शुक्रबार नै सहमतिमा पुग्ने भन्ने थियो। तर, भागबन्डा र सभापति टुंगो लगाउने विषयमा दलहरूको आ–आफ्नै दाबी रहेकाले सहमतिमा पुग्न सकिएन। सर्वसम्मतिको प्रयास जारी राख्ने भन्ने सहमति भएको छ। त्यसका लागि ३ जेठसम्मको समयावधि निर्धारण गरेका छाैँ,’ उनले भने, ‘यदि ३ जेठसम्म पनि सहमति भएन भने ४ जेठमा निर्वाचनबाट संसदीय समितिहरूले सभापति पाउँछन्।’

बैठकमा मुख्यमन्त्री जम्कट्टेलले कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादी गरी पाँच दललाई एक–एकवटा समितिको सभापति दिने प्रस्ताव गरेका थिए। तर, अन्य दलले मुख्यमन्त्री जम्कट्टेलको प्रस्तावमा सहमति जनाउन नसक्दा शुक्रबार सहमति जुट्न नसकेको हो। मुख्यमन्त्रीको प्रस्तावअनुसार हाम्रो नेपाली पार्टी र नेमकिपाले समितिको सभापति नपाउने भएका छन्।

संसदीय समितिको सभापति चयनको विषयमा टुंगो लगाउन कार्यदल

यसैबीच, संसदीय समितिको सभापति चयनको विषयमा टुंगो लगाउन कार्यदल बनाइएको छ। बैठकले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू सदस्य रहेको कार्यदललाई ३ जेठसम्म सहमति जुटाउन निर्देशन दिएको छ। कार्यदलले ३ जेठसम्म सहमति गर्न नसके ४ गते निर्वाचन हुनेछ।

दलहरूबीच भागबन्डा मिल्न नसक्दा प्रदेशमा रहेका पाँचवटा समिति प्रदेश मामिला समिति, सार्वजनिक लेखासमिति, अर्थ तथा विकास समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति लामो समयदेखि नेतृत्वविहीन छन्। समितिका बैठक जेष्ठ सदस्यको भरमा चलिरहेका छन्।

बर्खे अधिवेशन यही ३१ वैशाखदेखि

यस्तै, बागमती प्रदेशको बजेट (बर्खे) अधिवेशन यही ३१ वैशाखदेखि सुरु हुने भएको छ। सर्वदलीय बैठकबाट बजेट अधिवेशन ३१ वैशाखमा बोलाउन दलहरूबीच सहमति भएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए। उनले १ जेठमा प्रि–बजेट छलफल, १५ गते नीति तथा कार्यक्रम पेस र १ असारमा बजेट पेस गर्ने गरी क्यालेन्डर बनाउने विषयमा पनि दलहरूबीच सहमति भएको जानकारी दिए।


 

ad
ad