१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ १६ शनिबार १०:०९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चार्जिङ स्टेसन थप्ने अभियान चलाउँछौँ : ऊर्जामन्त्री बस्नेत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ १६ शनिबार १०:०९:००

इभी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु 

नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायन्सेस तथा नेपाल इभी अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंमा सुरु भएको छ । १७ भदौसम्म सञ्चालन हुने उक्त प्रदर्शनी शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको हो । 

मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स, एक्विजिसन एन्ड ट्रेड सर्भिसेज इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर एन्ड इम्पोर्टर्स एसोसिएसन अफ नेपालले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमले विद्युतीय उपभोग बढाई देशलाई आर्थिक रूपमा सबलीकरण गर्ने बताइएको छ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी कम्पनीका प्रदर्शनी कक्ष रहेका छन् । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले प्रदर्शनीको उद्घाटन गर्दै देश क्रमशः ऊर्जामा आत्मनिर्भर हुँदै गएको बताए । त्यसैले विद्युतीय सवारीसाधन र उपकरणको प्रयोगलाई बढावा दिने उद्देश्यका साथ सरकारले आफ्ना नीति तथा कार्यक्रम अगाडि बढाएको उनको भनाइ थियो । उनले सरकार दीर्घकालीन सोचका साथ ऊर्जा क्षेत्रको विकासका लागि प्रयत्नशील रहेको उल्लेख गरे ।  

ऊर्जा क्षेत्रको समयानुकूल विकासका लागि सरकारले हालै मात्र नयाँ विद्युत् विधेयक तय गरेको र संसद्मा पेस हुने चरणमा रहेको उनले जानकारी दिए । विद्युतीय सवारीसाधनको प्रवद्र्धनका लागि देशभर नै चार्जिङ स्टेसनको निर्माणलाई अभियानका रूपमा अगाडि बढाउने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ थियो ।  

सरकारले देशभर नै पाँच सयवटा चार्जिङ स्टेसन निर्माण गर्ने तयारी गरेको छ । यस्तै, नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका ५० वटा चार्जिङ स्टेसन एकाधबाहेक अधिकांश सञ्चालनमा आइसकेका छन् । 

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, भारतीय दूतावासका प्रतिनिधिलगायतको उपस्थिति थियो । 

प्रदर्शनीमा विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, विद्युतीय साइकल तथा रिक्सा, चार्जिङ स्टेसन, ब्याट्री, ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्विच, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीको सहभागिता रहेको छ ।