
चेल्सी वर्ल्ड स्कुल अत्तरखेलमा युकेजीमा अध्ययनरत ६ वर्षीय आरभबन्धु थापाले एकल चित्रकला प्रदर्शनी गरेका छन् । भर्खरै अक्षर चिन्दै गरेका उनी अक्षरभन्दा बढी चित्रका रेखा स्पष्ट र कलात्मक ढंगले उतार्न सिपालु देखिएका छन् ।
शनिबार उनको परीक्षाको नतिजा आयो । उनी प्रथम भए । चित्रकला प्रदर्शनी गर्ने छात्रको रूपमा पनि उनी प्रथम भएका छन् । काठमाडौंको नयाँबानेश्वरस्थित उमोजा क्याफेमा उनको एकल चित्रकला प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा उनले बनाएका २५ चित्रकला, तिब्बतको कैलाश पर्वतदेखि उपत्यकाका मठमन्दिर दरबार क्षेत्र र विभिन्न जात्राको चित्र समेटिएको छ ।
उनले भक्तपुरलाई पनि ध्यानमा राखेर चित्रकला बनाएका छन् । बिस्केट जात्रा, न्यातपोल मन्दिर, तलेजु मन्दिर, नवदुर्गा देशघर, भक्तपुर दरबार क्षेत्र र सिलु महादेवलगायतका सम्पदा उनले भक्तपुरबाट समेटेका छन् ।
थापाले कुनै चित्र हेरेर र कुनै कल्पना गरेर बनाएको बताए । उनले एक वर्षबाटै चित्र बनाउन सुरु गरेको आमा गिताञ्जली श्रेष्ठले बताइन् । आरभ चित्रकलामा मात्र नभएर स्कुलका अन्य क्रियाकलामा पनि अब्बल रहेको स्कुलका निर्देशक सुरेश अधिकारीले बताए ।