१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कामको तनाव व्यवस्थापन गर्ने तरिका 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:३८:oo

हामी जीवनयापन गर्ने क्रममा विभिन्न काम, व्यवसाय वा जागिरमा लागेका हुन्छौँ । घरायसी काम, खेतीकिसानी, सामाजिक काम, बिजनेस व्यवसायमा कहिलेकाहीँ विभिन्न खालका अप्ठ्यारा वा उल्झनहरू झेल्नुपर्ने हुन सक्छ । यसले हामीलाई मानसिक तनावसमेत दिने गर्छ । 

किन हुन्छ ?
- कहिलेकाहीँ कामको अत्यधिक चाप हुन्छ । काममा बढी मिहिनेत गर्नुपर्ने वा सधैँको भन्दा बढी समय दिनुपर्ने हुन्छ । आफ्नो काममा सफल हुन तीव्र प्रतिस्पर्धा गर्नुपर्ने हुन सक्छ । यस्तो अवस्थामा कामको तनाव पनि बढ्दै जान्छ ।

- अत्यधिक रूपमा शारीरिक तथा मानसिक बल लगाउनुपर्ने अवस्थामा पनि मानिस तनावमा आउँछ । 

- आफ्नो रुचि, क्षमता, दक्षता र अनुभवभन्दा बाहिरको काम बाध्यताले गर्नुपर्ने भएमा पनि तनावको अवस्था आउँछ ।

- अफिस वा कम्पनीको भौतिक वातावरण उपयुक्त नहुँदा पनि तनावको अवस्था आउँछ । कार्यालयका सहकर्मी र हाकिमको व्यवहार तनावको कारण बन्न सक्छ । काममा टिमवर्क नहुनु, कामको जस नपाउनु, काममा हौसलाको कमी, असुरक्षा, प्रोत्साहनको कमी, हीनताबोध आदिले तनाव दिन सक्छ ।

- घरपरिवार तथा अफिसको दोहोरो जिम्मेवारी, आफ्नो करिअर र घरपारिवारलाई सन्तुलनमा राख्न नसक्नु जस्ता कारणले तनाव उत्पन्न हुन सक्छ । विशेष गरी कामकाजी महिलाले घर र अफिस दुवैको काम भ्याउनुपर्ने हुँदा थप तनावको सामना गर्नुपर्ने हुन सक्छ ।

- जति मिहिनेत गरेर काम गर्दा पनि सोचेजस्तो प्रतिफल नआउँदा, भनेजस्तो आर्थिक लाभ हासिल गर्न नसक्दा, न्यून तलब, बोनस तथा आवश्यक सेवासुविधा नपाउँदा, पदोन्नति नहुँदा, रिफ्रेसमेन्टलगायतका तालिमको अभाव हुँदा पनि तनावको सामना गर्नुपर्ने हुन सक्छ । काममा आवश्यक जनशक्ति र सरसामानको अभावले पनि काममा अवरोध तथा तनाव पुर्‍याउने हुन्छ ।

व्यवस्थापनका केही उपाय 
- आफ्नो ढाडलाई सीधा राख्नुहोस् । आँखा बन्द गर्ने र गहिरो लामो श्वास लिने, गहिरो लामो श्वास छोड्ने गर्नुहोस् । यसो गर्दा आराम मिल्छ । शरीर र मन शान्त हुन्छ । तनाव कम भएर जान्छ । नियमित योग वा ध्यान गर्नाले पनि मन शान्त हुन्छ । काम गर्दागर्दै पनि आफ्नो अनुकूलताअनुसार आफूलाई मन पर्ने गीत–संगीत सुन्न सकिन्छ । संगीतले मानसिक तनाव कम गर्छ । 

- आफ्नो दौडधुपपूर्ण दिनचर्याबाट केही समय छुट्टी लिनाले कामको तनाव कम भएर जान्छ । सधैँ एकैनास काम गर्दा काम गर्ने क्षमता र सिर्जनशीलता घट्छ । काम पनि राम्रो हुँदैन । छुट्टीको वेला प्राकृतिक दृश्यावलोकन गर्नका लागि घुमफिरमा निस्कन सक्नुहुन्छ । काम गर्दा प्रशस्त पानी पिउनुपर्दछ । शरीरमा पानीको मात्रा कम भयो भने पनि थकाइ लाग्ने, आलस्य हुने, तनाव बढ्ने हुन्छ ।

-  काम गर्ने क्रममा समस्या पनि आउन सक्छन् । यसले तनाव दिन सक्छ । समस्याको बारेमा आफ्ना साथीभाइ, सहयोगी तथा सहकर्मीहरूसँग छलफल गर्ने, आफ्नो अवस्था र समस्याको बारेमा जानकारी गराउने र सहयोग लिने गर्नुपर्छ । समस्याको सिर्जनशील र रचनात्मक रूपमा समाधान खोज्नुपर्छ । कामको तनाव झेल्न गाह्रो भएमा वा कामको तनावले दैनिक जीवनमा असर पर्न थालेमा वा अन्य मानसिक स्वास्थ्य समस्या देखा परेमा आवश्यकताअनुसार मनोविद्सँग परामर्श गर्न सक्नुहुन्छ ।

ad
ad