मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
२०८० भदौ १० आइतबार ०७:५०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोल ढलेपछि जुम्लामा नेसनल ग्रिड अवरुद्ध 

Read Time : > 1 मिनेट
२०८० भदौ १० आइतबार ०७:५०:००

बाढीपहिरोले पोल ढलेपछि जुम्लामा नेसनल ग्रिड अवरुद्ध भएको छ । भदौ पहिलो साता वर्षासँगै आएको बाढीपहिरोले कालिकोटको तिलागुफा नगरपालिका टिपुरे भिरनजिक बिजुलीको पोल ढलेपछि तीन दिनदेखि नेसनल ग्रिड अवरुद्ध भएको हो ।

कालिकोटको टिमुरेमा बिजुलीको पोल ढल्नुका साथै तार चुँडिएको हुँदा विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश रावलले बताए । उनले भने, मर्मतका लागि टोली परिचालन भएको छ । वर्षासँग बाढीपहिरो आएकाले मर्मत कार्यमा ढिलाइ भइरहेको छ ।’ 

लामो दूरीको लाइन हुँदा हावाहुरी, वर्षा र हिमपातले पनि नियमित बिजुली आपूर्तिमा समस्या हुने गरेको छ । ‘लामो दूरीको लाइन भएका कारण बिग्रेको खण्डमा मर्मत गर्न पनि समय लाग्छ । विद्युत्मा केही समस्या आएपछि तुरुन्तै मर्मतका लागि टोली परिचालन गरेका हुन्छौँ । तर, भौगोलिक बनावट पनि अप्ठ्यारो छ,’ वितरण प्रमुख रावलले भने, ‘अहिले जुम्लासम्म पुगेको ११ केभिए लाइन हो । यो निकै कम क्षमताको विद्युत् हो । सहरीकरण बढ्दै गरेपछि बिजुली लोड पनि बढ्दै गएको छ । लोड धान्न नसकेर विद्युत् फल्ट हुने गरेको छ ।’ 

बिजुली तीन दिनदेखि आपूर्ति नहुँदा विद्यार्थीदेखि कलकारखाना, सरकारी तथा गैरसरकारी कार्यालय र सर्वसाधारणलाई असर परेको छ । ०७८ साउन महिनामा जुम्ला नेसनल ग्रिडसँग जोडिएको हो । दैलेखदेखि कालिकोट र कालिकोटदेखि जुम्ला राष्ट्रिय विद्युत् प्रसारण लाइन पुगेको छ । राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिए पनि लाइन निकै लामो भएको हुनाले वेला–वेला बिजुली आपूर्तिमा समस्या हुने गरेको छ । 

कर्णाली राजमार्ग हुँदै लामो दूरीको भिरालो भौगोलिक जमिनमा राष्ट्रिय विद्युत् प्रसारण लाइन जोडिएकाले नियमित बिजुली आपूर्तिमा चुनौती देखिएको हो । कर्णाली राजमार्गमा विभिन्न खण्ड र यो राजमार्गसँग जोडेर विभिन्न सहायक सडक निर्माण गरिँदा जथाभावी डोजर प्रयोग हुँदै आएको छ । डोजर प्रयोग हुँदा बिजुलीका पोल ढल्ने र तार चुँडिँदा नियमित बिजुली आपूर्तिमा समस्या आउने गरेको हो ।