१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:२२:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पाकिस्तानी मिडियासँग नेपालका प्रशिक्षक देसाईले भने– नेपाललाई एसिया कपमा इतिहास बनाउने अवसर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:२२:oo

पहिलोपटक एसिया कपमा छनोट भएको नेपालसमक्ष इतिहास रच्ने अवसर रहेको मुख्य प्रशिक्षक मोन्टी देसाईले बताएका छन् । बुधबार कराँची पुगेको टोलीले बिहीबारदेखि प्रशिक्षण सुरु गरेको छ । प्रशिक्षणकै क्रममा प्रशिक्षक देसाईले पाकिस्तानी एजेन्सीसँग कुराकानी गर्दै नेपाललाई छिमेकी राष्ट्रविरुद्ध इतिहास बनाउने मौका मिलेको जनाएका हुन् । ‘हामीले अब भारत र पाकिस्तानजस्तो विश्व क्रिकेटकै शक्तिशाली राष्ट्रविरुद्ध खेल्दै इतिहास बनाउनुपर्छ, त्यो अवसर कसैले पनि मिस गर्न मिल्दैन,’ उनले भने, ‘त्यो क्षणमा प्राप्त हुने सफलताको खुसी कसरी मनाउने भन्ने प्रश्न छ ।’ 

उनले एसिया कपमा प्राप्त अवसरलाई प्रयोग गर्नुपर्ने जनाए ।आइसिसीको पूर्णकालीन टेस्ट राष्ट्रविरुद्ध प्रतिस्पर्धा गरिरहँदा नेपाली खेलाडीले धेरैभन्दा धेरै अनुभव बटुल्ने अवसर भएको उनले बताए । ‘पुनः एकपटक भन्छु, यो एसिया कप नेपाली खेलाडीले अवसरका रूपमा लिनुपर्छ, त्यसमा इतिहास बनाउनुपर्छ ।’

उनले भारत र पाकिस्तानसँगको खेलमा नतिजा आफ्नो पक्षमा नआउने जनाए । ‘मलाई थाहा छ, नतिजा हाम्रो पक्षमा आउनेछैन, तर खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छु,’ उनले भने । पाकिस्तानको व्यवस्थापन र सुविधाबाट उनी दंग परेका छन् । ‘यहाँको व्यवस्थापन र सुविधा राम्रो लाग्यो, पहिलो दिनको अभ्यास उत्कृष्ट रह्यो,’ उनले भने । पाकिस्तानी सरकारले खेलाडीलाई होटेलदेखि मैदानसम्म पुर्‍याउन भिभिआइपी सुरक्षा प्रदान गरेको छ । होटेलदेखि रंगशालासम्म खेलाडीलाई सेनाका गाडी तथा सुरक्षाकर्मीले सुरक्षा प्रदान गरेको पाकिस्तानी टेलिभिजनले प्रसारण गरेका छन् । 

नेपाली खेलाडीले कराँचीमा एक साता प्रशिक्षण गर्नेछ । ९ भदौमा खेलाडी मुल्तान जानेछन् । त्यहाँ स्थानीय टोलीसँग अभ्यास खेल खेल्नेछन् । नेपालको सिनियर क्रिकेट टोलीले पहिलोपटक पाकिस्तानी मैदानमा प्रशिक्षण गरिरहँदा स्थानीय टेलिभिजन र सञ्चारकर्मीले प्राथमिकतामा राखेका थिए । स्थानीय सञ्चारकर्मीले आ–आफ्नो सोसल मिडियामा प्रतियोगितामा सहभागीमध्ये नेपालको टोली युवा भएको प्रतिक्रिया दिएका छन् । पाकिस्तान र भारतसँग भिड्नुअघि नेपालका मुख्य प्रशिक्षक देसाईको योजना र भावना बुझ्न स्थानीय मिडियाले कुराकानी गरेका थिए । 

नेपालको तयारी राम्रो
पाकिस्तानी मिडियासमक्ष देसाईले प्रतियोगिताका लागि नेपालको तयारी राम्रो भएको जनाए । दुई र तीन महिनाको अवधिमा आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय एक्सपोजर पाएको उनले बताए । ‘हामीले एसिया कपका लागि तीन–चार महिनामा अभ्यास गरेका छौँ,’ तयारीबारे उनले भने, ‘एसिसी इमर्जिङ कपमा भारत र पाकिस्तानको ए टिमसँग खेल्यौँ, त्यो प्रतियोगितामा हाम्रो पक्षमा राम्रो नतिजा नआए पनि राम्रो अनुभव प्राप्त भयो ।’ 

पाकिस्तानी मिडियाले जस्तै प्रशिक्षक देसाईले पनि नेपाली टोली युवा भएको प्रस्ट पारेका छन् । ‘अहिले सहभागीमध्ये नेपालका खेलाडी धेरै युवा छन्, उनीहरूले सिक्दै छन्,’ उनले भने, ‘हामी यो प्रतियोगिता खेल्न लायक भएर छनोट भएका हौँ, यो अवसरलाई सेलिब्रेट गर्नेछौँ ।’ 

कराँचीमा अभ्यास गरेपछि नेपाली टोली पाकिस्तानसँग खेल्न मुल्तान पुग्नेछ । एकदिवसीय फम्र्याटमा हुने एसिया कपमा नेपाल समूह ‘ए’मा छ । नेपालले १३ भदौमा उद्घाटन खेलमा पाकिस्तानको सामना गर्नेछ । समूहको दोस्रो खेलमा सहभागी हुन नेपाल पाकिस्तानबाट श्रीलंका पुग्नेछ । श्रीलंकाको क्यान्डीमा नेपालले १८ भदौमा भारतविरुद्ध खेल्नेछ । प्रत्येक समूहमा तीन टोली छन् । समूह ‘ए’ र ‘बी’का शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । ३१ भदौमा फाइनल हुनेछ । 

भारतले प्रशिक्षण थाल्यो
नेपालको प्रतिद्वन्द्वी भारतले बिहीबारदेखि एसिया कपको तयारी थालेको छ । भारतीय मिडियाका अनुसार भारतीय खेलाडीले बेंग्लोरमा प्रशिक्षण गरेको हो । यद्यपि, तयारीका लागि खेलाडी बेंग्लोर १४ अगस्टमै पुगेका थिए । पहिलो दिनको प्रशिक्षणमा जसप्रित बुमराह, तिलक बर्मा, सञ्जु श्यामसन र प्रसिद्ध कृष्णा जोडिएका छन् । कर्नाटक राज्य क्रिकेट संघले खेलाडीलाई सबै व्यवस्था मिलाएको छ । १५ खेलाडीले चार दिन नेट सेसन मात्र गरेका थिए । आधिकारिक रूपमा उनीहरूले मैदानमै प्रशिक्षण गरेको आजदेखि हो । 

यसैबीच, टोलीमा फर्किएका लोकेश राहुलले फिटनेसमा ध्यान दिएका छन् । प्रमुख छनोटकर्ता अजित अग्राकरले लोकेशले फिटनेसमा राम्रो गरेको बताए । राष्ट्रिय क्रिकेट एकेडेमीले लोकेशको ब्याटिङ पछिल्लो समय राम्रो भएको जनाएको छ । यसैगरी, घाइते भएका श्रेयस आयर पनि फिट भएका छन् । गत मार्चपछि उनी पहिलोपटक राष्ट्रिय टोलीमा फर्किएका हुन् । मार्चमा अस्ट्रेलियाविरुद्धको सिरिजमा उनी घाइते भएका थिए, जसका कारण उनले केही घरेलु तथा अन्तर्राष्ट्रिय सिरिज गुमाए । 

हसनलाई मौका 
बंगलादेश क्रिकेट बोर्डले तीव्र गतिका बलर नन्जिम हसनलाई समावेश गरेको छ । उनले अर्का फास्ट बलर इवादत हुसेनलाई विस्थापित गरेका हुन् । अफगानिस्तानविरुद्धको घरेलु सिरिजमा हुसेन चोटग्रस्त हुँदा एसिया कप गुमाए । बोर्डले उनको स्थानमा युवा बलर हसनलाई समावेश गरेको हो । हसन अनक्याप्ड खेलाडी हुन् । उनले अहिलेसम्म राष्ट्रिय टोलीबाट डेब्यु गरेका छैनन् । २० वर्षीय हसन यसअघि घोषित टोलीमा थिएनन् । हुसेनले सन् २०२२ को १० अगस्टमा जिम्बावेविरुद्ध डेब्यु गरेका थिए । गत वर्ष १२ एकदिवीय खेलमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

ad
ad