१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १२:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

गर्दन दुखाइबाट जोगिने उपाय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:o४:oo

पछिल्लो समय गर्दन दुखाइको समस्या बढेको पाइन्छ । गर्दनको दुखाइ यही उमेरमा नै हुन्छ भन्ने छैन । घर वा कार्यालयमा ल्यापटप, मोबाइल, टिभी, कम्प्युटर अत्यधिक चलाउनेहरूमा यो समस्या देखिने गरेको छ । ओछ्यानमा सुतेर किताब पढ्ने, राति सुत्दा दाँत किट्नेजस्ता व्यवहारका कारण पनि मांसपेशीमा समस्या उत्पन्न भएर गर्दन दुख्न सक्छ । 

विशेषगरी, शरीरको पोस्चर नमिल्दा गर्दन दुख्छ । उमेर बढ्दै गएपछि हड्डी खिइँदै गएर गर्दन दुख्ने पनि हुन सक्छ । घाँटीमा विभिन्न कारणले चोटपटक लागेर पनि गर्दन दुख्न सक्छ । 

राति सुत्दा अग्लो सिरानी हुँदा पनि गर्दनको पोजिसन नमिलेर दुख्न सक्छ । घाँटीको स्पाइनल कर्ड इन्जुरी हुँदा पनि गर्दनको दुखाइ हुन्छ । कुमवरपरको भागमा दुखाइ महसुस हुने, टाउको दुख्ने, हात झमझमाउने, हातका मांसपेशी कमजोर हुने, चक्कर आउनेलगायत समस्या देखिन्छन् । 

सामान्य हो भन्ने ठानेर गर्दन दुखाइलाई बेवास्ता गर्नुहुँदैन । समय बित्दै जाँदा अझ बढी असर पर्छ । यसर्थ, औषधि र फिजियोथेरापीमार्फत प्रारम्भिक चरणमै यसको सजिलै उपचार गर्न सकिन्छ ।

बच्ने उपाय

  • दैनिक जीवनमा कुर्सीमा बसेर ल्यापटप, कम्प्युटर, मोबाइल हेर्दा गर्दनलाई ९० डिग्रीमा राख्नुपर्छ ।
  • सुत्दा सिरानीको हाइट अग्लो वा होचो हुनुहुँदैन । नर्मल हाइट बनाएर सुत्नुपर्छ । जसले गर्दा मांसपेशी टाइट हुने, हड्डी खिइने समस्याबाट बच्न सकिन्छ । 
  • गर्दन दुख्दा आइसोमेट्रिक नेक एक्सरसाइज गर्नुपर्छ । नेक स्ट्रेचिङ, लेफ्ट–राइट स्ट्रेचिङलगायतले पनि राहत मिल्छ । बिहान छिटै उठेर करिब एक घन्टा व्यायाम गर्नु राम्रो हुन्छ । 
  • कार्यालय वा अन्य कतै जाँदा सम्भव भएसम्म पैदल हिँड्ने बानी बसाल्नुपर्छ । 
  • गर्दन दुख्ने समस्या भएकाले भारी वजन उठाउनुहुँदैन । यसले मेरुदण्डमा असर गर्छ । 
  • अफिसमा कामका दौरान प्रत्येक घन्टामा शरीर चलाउने वा यताउति हिँड्ने गर्नुपर्छ ।
  • काम गर्दा सजिलो तरिकाले बस्न मिल्ने लचकदार कुर्सी छनोट गर्नुपर्छ । कम्मरको भागलाई अगाडि धकेल्ने खालको कुर्सी छनोट गर्नु राम्रो हुन्छ । टाउकोसम्म ढल्किन मिल्ने कुर्सी हुनुपर्छ । कुर्सीको पछाडिको भाग फुल कभर टाउकोसम्म ढल्किने हुनुपर्छ । यो कुर्सी पनि ९० डिग्री पोजिसनमा मिलाएर राख्नुपर्छ । घोप्टो परेर ल्यापटप चलाउने गर्नुहुँदैन । 
  • मोटरसाइकलमा लामो यात्रा गर्नुहुँदैन । 
  • प्रशस्त मौसमी फलफूल र सागसब्जी खानुपर्छ । 
  • धुलोधुवाँबाट बच्नुपर्छ । साथै, धूम्रपान गर्नुहुँदैन ।

समस्या देखिए के गर्ने ?
सामान्य हो भन्ने ठानेर गर्दन दुखाइलाई बेवास्ता गर्नुहुँदैन । समय बित्दै जाँदा अझ बढी असर पर्छ । यसर्थ, औषधि र फिजियोथेरापीमार्फत प्रारम्भिक चरणमै यसको सजिलै उपचार गर्न सकिन्छ । सहनै नसक्ने गरी गर्दन दुखेमा, दुखाइ बढेर हात र कुमसम्म पुगेमा, हात तथा ढाड झमझमाएमा तथा हातमा कमजोरी महसुस भएमा, दुखाइले ज्वरो आएमा तत्कालै चिकित्सकसँग सल्लाह लिएर उपचार थाल्नुपर्छ । अवस्था हेरेर चिकित्सकले फिजियोथेरापिस्टको निगरानीमा गर्दनको स्ट्रेचिङ एक्सरसाइज गर्ने, सर्भाइकल कोलार लगाउने, मांसपेशीलाई आराम दिने औषधि खाने, नदुख्ने औषधि सेवन गर्ने, सही पोजिसनमा बसेर काम गर्नेलगायत सल्लाह दिन सक्छन् । 

ad
ad