Skip This
लामखुट्टेका लार्भा नष्ट गर्न खटिए ६४ जना नगर प्रहरी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ६ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ६ बुधबार १o:४१:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

लामखुट्टेका लार्भा नष्ट गर्न खटिए ६४ जना नगर प्रहरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ६ बुधबार १o:४१:oo

काठमाडौं महानगरपालिकाले लामखुट्टेका लार्भा नष्ट गर्न ६४ जना नगर प्रहरी खटाएको छ । ती नगर प्रहरी बायो लार्भिसाइडसहित हरेक वडामा पुगेर पानी जमेको ठाउँ खोज्नेछन् । उक्त स्थानामा लार्भिसाइड जैविक औषधि छर्किनेछन् । मेड म्याक्स फर्माले नेपालमा पहिलोपटक उपलब्ध गराएपछि डेंगु नस्ट गर्न महानगरले लार्भिसाइड जैविक औषधि प्रयोग गरेको हो । ‘अस्ट्रेलिया र भारतका दुई ठाउँमा मात्रै बन्छ,’ आयातकर्ता नन्द देवकोटाले भने, ‘नेपालमा डेंगु संक्रमण बढेकाले यसलाई नियन्त्रणका लागि महानगरमार्फत उपलब्ध गराएका हौँ, यसले डेंगु नियन्त्रणलाई प्रभावकारी बनाउँछ ।’ 

यसका लागि आइतबार नगर प्रहरीलाई मेड म्याक्स फर्माले प्राविधिक र व्यावहारिक सीपसमेत सिकाएको छ । उक्त अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सबै मिलेर काम गरे मात्र डेंगु नियन्त्रण गर्न सकिने बताए । ‘हामी सार्वजनिक ठाउँमा लामखुट्टेको वासस्थान नष्ट गर्छौँ । तपाईं  (आमसर्वसाधारणले) घरमा पानी जम्न नदिएर सहयोग गर्नोस् । यसले तपाईंलाई डेंगुबाट बचाउनेछ,’ उनले भने ।

डेंगु नियन्त्रणका लागि चलाइएका नियमित कार्यक्रम यथावत् भएको भन्दै थप कार्यक्रम सुरु गरिएको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले बताए । ‘आमनागरिक सँगसँगै काम गर्न यो अभियान थालिएको हो । रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । पानी जमेको ठाउँमै लामखुट्टेको प्रजनन प्रक्रिया नष्ट गरेर हामीले महामारीलाई नियन्त्रण गर्न थालेका हौँ,’ पौडेलले भने, ‘अहिले बर्खे पानी रोकिएको छैन । अकासेपानी सडक र सडक–किनाराका खाल्डाखुल्डी, सार्वजनिक स्थलमा जम्मा भइरहेको छ ।

लार्भा खोज्ने तथा नष्ट गर्दा यस्ता ठाउँलाई प्राथमिकता दिइनेछ ।’ तालिम महामारी रोकथाम तथा नियन्त्रण कार्यक्रमका सम्पर्क व्यक्ति ऋषिप्रसाद भुसालले औषधि छर्कने उपकरणको प्रयोग, यसमा राखिने पानी र औषधिको मात्रालगायत विषयमा जानकारी दिएका थिए । महानगरका अनुसार लार्भा नष्ट गर्न प्रयोग गरिने औषधि जैविक हो । यसले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानि गर्दैन । 

बर्खायाम सुरु भएसँगै डेंगु रोग नियन्त्रणका लागि महानगरपालिकाले वडास्तरीय र जनसहभागितामूलक कार्यक्रम गरिरहेको छ । हरेक साताको बुधबार बिहान ८ बजेदेखि ९ बजेसम्म वडामा लार्भा खोज्ने र नष्ट गर्ने अभियान चल्ने गरेको छ । त्यस्ता ठाउँमा सरसफाइ गर्ने र औषधि छर्कने गरिन्छ । सरकारी तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीबीचमा डेंगु रोगसम्बन्धी चित्रकला प्रदर्शनी गरी अभिभावकसम्म संक्रमणका बारेमा चेतना पुर्‍याउने प्रयास गरिएको छ । यससँगै डेंगुबारे परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन १,१८० नम्बर २४सै घन्टा सञ्चालनमा छ । अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ ।