मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २४ आइतबार
  • Sunday, 10 December, 2023
२०८० भदौ ३ आइतबार ०७:२६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

डोल्पा विमानस्थल एक महिना बन्द हुने 

Read Time : < 1 मिनेट
२०८० भदौ ३ आइतबार ०७:२६:००

हिमाली जिल्ला डोल्पामा रहेको जुफाल विमानस्थल एक महिना बन्द गर्न सिफारिस गरिएको छ । शनिबार जिल्लास्थित सरोकारवाला व्यक्तिहरूले स्थलगत अनुगमन गरेपछि विमानस्थल बन्द गर्नका लागि नागरिक उड्डयन प्राधिकरण काठमाडौंलाई सिफारिस गर्ने निर्णय गरेको हो । विमानस्थलको धावनमार्ग असुरक्षित भएको गुनासो पाइलटहरूबाट बारम्बार आएपछि स्तरोन्नति गर्नका लागि विमानस्थल बन्द गर्न लागिएको नागरिक उड्डयन प्राधिकरण जुफालका प्रमुख अमित चौरासियाले जानकारी दिए ।

विमानस्थल स्तरोन्नतिका लागि बोलपत्र आह्वान भएर निर्माण कम्पनीले जिम्मा पाइसकेको छ । १० भदौदेखि १० असोजसम्म विमानस्थल बन्द गर्न सिफारिस गरिएको उनले बताए । डोल्पालीका लागि यातायातको भरपर्दो साधनका रूपमा रहेको जुफाल विमानस्थल स्तरोन्नति गर्नका लागि एक महिना बन्द हुनेछ ।

स्थलगत अनुगमनमा विमानस्थल प्रमुख अमित चौरासिया, ठुलीभेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवाली, सशस्त्र प्रहरी नायब उपरीक्षक लीलाबहादुर कार्की, प्रमुख अनुसन्धान अधिकृत मेघराज कँडेललगायत एयरलाइन्सका प्रमुख तथा स्थानीय सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

विमानस्थलको एक सय ८५ मिटर स्तरोन्नति गर्नुपर्नेछ । त्यसको जिम्मा आजीवन मरिन–तामाङ जेभी धादिङले मूल्य अभिवृद्धि करसहित ६ करोडमा लिएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर वीरप्रसाद शाहीले जानकारी दिए ।