मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
नयाँ पत्रिका मकवानपुर
२०८० श्रावण ३१ बुधबार ०७:१०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भीमफेदीका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
२०८० श्रावण ३१ बुधबार ०७:१०:००

मकवानपुरको भीमफेदी गाउँपालिकाले पालिकाभित्र अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने भएको छ । पालिकाले त्यसका लागि मंगलबार कोषसँग सम्झौतासमेत गरेको छ । भीमफेदी गाउँपालिकाको गाउँसभाबाट स्वीकृत कार्यक्रमअन्तर्गत पालिकाभित्र रहेका अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई समेट्ने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद ज्ञवाली र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार पालिकाभित्र अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको भविष्यलाई ध्यानमा राखी सामाजिक सुरक्षा, सहकार्य, योगदान र सहभागिता हुने गाउँपालिकाका अध्यक्ष लामाले बताए । उनले भने, ‘चालू आर्थिक वर्षमा अनौपचारिक क्षेत्रमा काम गर्ने एक सयजनालाई यो कार्यक्रममा समेट्ने लक्ष्य राखेका छौँ । यसका लागि सुरुवाती चरणमा कृषि, निर्माण र यातायात क्षेत्रमा काम गर्ने श्रमिकलाई कोषमा आबद्ध गराउने योजना रहेको छ ।’

सरकारले तोकेको पारिश्रमिकलाई आधार मानेर त्यसमा योगदान गर्ने श्रमिकलाई पारिश्रमिकको ९.३७ प्रतिशत रकम थप गरी कोषमा जम्मा गरिने अध्यक्ष लामाले जानकारी दिए । सरकारले पनि अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगार रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेको छ ।