१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० श्रावण ३१ बुधबार ०७:३७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पार्टी ध्वस्त पार्न खोजिएपछि संसद् विघटन गरिएको हो : ओली

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० श्रावण ३१ बुधबार ०७:३७:००

एमाले अध्यक्ष केपी ओलीले आफ्नो राजनीतिको रक्षाका लागि संसद् विघटन गरेको स्वीकार गरेका छन् । मंगलबार एमाले बागमती प्रदेशको प्रशिक्षण कार्यक्रममा उनले संसद् विघटन राजनीतिक, संवैधानिक र संसदीय कदम भएको जिकिर गरे ।

५ पुस ०७७ मा सरकार ढाल्ने र एमाले समाप्त पार्ने षड्यन्त्र चकनाचुर बनाउन संसद् विघटनको कदम चालेको र उक्त कदम राजनीतिक हिसाबले उपयुक्त रहेको पुष्टि भएको ओलीले दाबी गरे । ‘हामीले पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गर्‍यौँ । हामीले ठीक ठानेर गर्‍यौँ, ठीक थियो र गर्‍यौँ, नगरिनहुने थियो र गर्‍यौँ । बिल्कुलै समसामायिक कदम चाल्यौँ, होइन भने हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो, ध्वस्त पार्ने षड्यन्त्र भइरहेको थियो,’ ओलीले भने, ‘हामीलाई झुन्ड्याउन जुन डोरी उनीहरूले तयार पारेका थिए, त्यो डोरी हामीले छिनालिदियौँ । पुस ५ गतेको कदम भनेको त्यही हो । हामीलाई झुन्ड्याएर मार्न डोरी बनाएका थिए, त्यो डोरी हामीले काटिदियौँ ।’

ओलीले संसद् विघटनको कदमले तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललगायतका नेताहरू आत्तिएको दाबी पनि गरे । ‘षड्यन्त्र छिनेपछि उनीहरू असाध्यै आत्तिए । उनीहरूले वर्षौँदेखि जे योजना बनाएका थिए, उनीहरूलाई त्यही डर थियो प्रतिनिधिसभा भंग गरेर अर्को बाटो लिने हो कि भनेर । प्रतिनिधिसभा पुनस्र्थापना भयो, तर भएर पनि केही पनि बिग्रेन । किनभने त्यतिवेला हामीमाथि हाम्रो संगठन ध्वस्त पार्ने, चकनाचुर पार्ने षड्यन्त्र थियो,’ ओलीले भने, ‘उनीहरूको हिसाबले प्रतिनिधिसभा भंगै गर्न नहुने काम थियो । किनभने हामीलाई समाप्त पार्ने योजना खत्तम हुन्थ्यो । हामीलाई नगरिनहुने काम थियो । त्यो राजनीतिक कदम थियो, संवैधानिक, संसदीय कदम थियो ।’ 

ओलीले प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई दक्षिणपन्थी स्वार्थ बोकेका ‘झोले’का रूपमा टिप्पणी गरे । ‘खास झोले भनेका चाहिँ वामपन्थी देखिएर दक्षिणपन्थीको झोला बोकेर कुदेको छ, तिनलाई भनिन्छ झोले । साइनबोर्ड वामपन्थी, स्वार्थको झोला बोकेको छ, दक्षिणपन्थी । त्यसकारण दक्षिणपन्थीका स्वार्थ बोकेका झोलेहरू । शब्द नराम्रो लाग्छ, राम्ररी मिलाएर बुझ्नु होला,’ ओलीले भने । 

प्रचण्ड र माधव नेपालले मिलेर कम्युनिस्ट आन्दोलन समाप्त पार्न दुईतिहाइको सरकार गिराउनेदेखि प्रतिक्रियावादीको डिजाइनअनुसार काम गरेको ओलीले आरोप थियो । ‘उनीहरूले सजिलैसँग कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्न खोजेका थिए । विचरा माधव नेपाल । नाम त नलिए हुने हो । तर, यो आन्दोलन समाप्त पार्न उनी यति गिरे, अदालत गए, कहाँ गएनन्, के गरेनन् उनले ? र, दुईतिहाइको कम्युनिस्ट सरकार ढालेर प्रतिक्रियावादी दक्षिणपन्थी सरकार बनाए,’ ओलीले भने, ‘यो पार्टीको वरिष्ठ नेता हुँदाहुँदै पछाडिको सिटमा बसेर पछाडिकै ढोकाबाट घोसेमुन्टो लगाएर लुसुक्क गएर हाम्रो सरकार गिराउन भोट दिए । दक्षिणपन्थी सरकार बनाउन भोट दिए ।’

२० महिनापछि ओली–रावल संवाद
एमाले अध्यक्ष केपी ओली र पूर्वउपाध्यक्ष भीम रावलबीच डेढ घन्टा छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा मंगलबार दुई नेताबीच अलग्गै छलफल भएको छ । पार्टीको दशौँ महाधिवेशन सकिएको २० महिनापछि ओली–रावलबीच पहिलोपटक औपचारिक संवाद भएको हो । 

उनीहरूबीच अहिलेको राष्ट्रिय राजनीतिक परिस्थिति, एमालेको आन्तरिक राजनीति र पार्टी केन्द्रीय कमिटीले अघि सारेको पछिल्लो अभियान, रावलको सम्भावित जिम्मेवारीलगायतका विषयमा केन्द्रित रहेर छलफल भएको छ । भेटपछि पूर्वउपाध्यक्ष रावलले अध्यक्ष ओलीसँग फेरि पनि छलफल गर्ने समझदारी भएको बताए । लामो समय पार्टी काममा निष्क्रिय रहेका रावल एक महिनादेखि गृहजिल्ला अछाम हुँदै पार्टीको बैठक र सार्वजनिक कार्यक्रममा सक्रिय हुँदै आएका थिए । 

‘एकअर्काबीच के छ, कसो छ भलाकुसारी भए । देश र पार्टीको अवस्थाका विषयमा आ–आफ्ना सोच र दृष्टिकोणबारे सामान्य कुराकानी भए । फेरि पनि कुराकानी हुन्छ,’ रावलले भने, ‘धेरै लामो समयपछि भेटघाट भएको हो । उहाँ पार्टीको अध्यक्ष । उहाँलाई देश–विदेशको सूचना, जानकारी हुन्छ, म पनि अध्ययन गर्ने नै मान्छे हुँ, त्यसैले के कसो छ कुराकानी आदान–प्रदान भयो ।’

रावललाई पार्टीको जिम्मेवारीमा फर्काउने गरी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा अलग्गै वार्ता समिति बनेको थियो । पौडेल नेतृत्वको टोलीसँग रावलले करिब तीन महिना पहिल्यै छलफल गरेका थिए ।