१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
एमालेले सोमबार आयोजना गरेको हीरक महोत्सवमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ पदक प्रदान गर्दै प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, झलनाथ खनाल । तस्बिर : नयाँ पत्रिका
शुरोजंग पाण्डे काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o७:५१:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एउटै मञ्चबाट ओली र प्रचण्डको प्रतिबद्धता : सहमतिबाट निकट सहकार्य गर्दै एकता

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:५१:oo

दुई ठूला कम्युनिस्ट पार्टीका प्रमुखहरू एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति र सहकार्यको यात्रापछि मात्र पार्टी एकताको निर्णयमा पुग्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५औँ वर्षगाँठमा एमालेले सोमबार ललितपुरको गोदावरीमा आयोजना गरेको हीरक महोत्सवमा उनीहरूले एउटै स्वरमा विगतको विभाजनको तितो अनुभव र समीक्षाका आधारमा एकताका लागि हौसिएर हतार नगर्ने बताएका हुन् ।  

एमाले अध्यक्ष ओलीले नेकपाको पछिल्लो विभाजनको समीक्षा नहुँदै हतारिएर एकता गर्ने विषय केवल व्यक्तिगत महत्वाकांक्षा पूर्ति मात्रै बन्न सक्ने भएकाले सहमति र सहकार्यको माध्यमबाट निकट हुँदै एकताको विन्दुमा पुगिने बताए । त्यही नीतिअनुसार नै अहिले एमाले र माओवादीले सत्तासमीकरणमा सहकार्य गरिरहेको ओलीले इंगित गरे । 

‘०७४ मा एउटा विभाजन, ०७८ मा अर्को विभाजन । कसको के दोष ? समयमा समीक्षा गरौँला, हुनु हुँदैनथ्यो हानिकारक विभाजन, अहिले फेरि विभाजनबाट माथि उठेका छौँ । प्रचण्डजीले भनेजस्तै अहिले हामी पार्टी एकीकरण गरिहालौँ, एकीकरण भइहाल्छ भन्ने होइन । यो फेरि अर्को एउटा व्यक्तिगत तुष्टिको विषय मात्र हुन सक्छ, यसले फेरि आन्दोलनमा समस्या पैदा गर्न सक्छ,’ ओलीले भने, ‘त्यसैले अहिले हामी सहकार्यको माध्यमबाट निकट हुँदै जान्छौँ र क्रमशः एकताको विन्दुमा पुग्न सक्छौँ । तर, अहिले नै देशभरका  मिलौँ भन्ने हो भने किन फुटेका थियौ ? जस्ता प्रश्नहरू उठ्छन् ।’ ओलीले अहिले वामपन्थी मात्र नभएर सबै देशभक्त शक्तिहरू, साम्प्रदायिक विद्वेषविरोधी, भ्रष्टाचारविरोधी शक्तिहरू एकैठाउँमा उभिने वेला भएको बताए । 

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले पनि हौसिएर एकता नगर्ने बताए । उनले ओलीलाई आफूले पूर्ण विश्वास गरेको वाक्य दुईपटकसम्म दोहोर्‍याउँदै विगतको समीक्षा गरेर नयाँ प्रक्रियामा अघि बढ्न ओलीलाई अपिल गरे । 

‘कम्युनिस्टहरू जति वेला एकता र सहमतिको बाटोमा हिँडेका थियौँ, देशभर उल्लास, उत्साह र उमंग उत्सवको वातावरण बनेर दुई तिहाइनजिक पुगेका थियौँ । तर, विभाजित भएपछिको तितो अनुभव हामीले गरिसकेका छौँ । हामी अहिले पहिलाको जस्तो हौसिएर कम्युनिस्ट एकता भन्ने पक्षमा छैनौँ । हामी त्यो वेलामा बढी हौसिएछौँ कि, समयभन्दा अगाडि दौडिइएछ भन्ने हेक्का राख्नुपर्छ,’ प्रचण्डले भने, ‘अहिले सहकार्य थालेका छौँ, राम्रो सहकार्य गरौँ, यसबाट देश र जनतालाई राम्रो सेवा दिँदै गयो भने कम्युनिस्टहरूबीच एकताको समझदारीको राम्रो आधार तय हुन्छ । त्यो ढंगले जानु उचित हो कि ।’ 

विगतमा अविश्वासकै कारण पार्टी विभाजन भएकोतर्फ इंगित गर्दै प्रचण्डले अब त्यसबाट पाठ सिकेर एकतामा अघि बढ्न ध्यानाकर्षण गराए । ‘म कमरेड केपी ओलीलाई विश्वास गर्न चाहन्छु । हामी विश्वास र अविश्वासको निकै ठूलो चक्रबाट गुज्रिएका छौँ, म उहाँलाई विश्वास गर्न चाहन्छु र नयाँ प्रक्रियातिर अगाडि बढौँ भन्ने अपिल गर्न चाहन्छु,’ प्रचण्डले सम्बोधनमा भने । 

मुलुकका प्रमुख दलका सबै शीर्ष नेतृत्वलाई महोत्सवमा भेला पारेर एमालेले सिंगो राष्ट्रलाई एकैठाउँमा ल्याएर एकताको भाव पैदा गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि धन्यवाद दिए । त्यस्तै, एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई गणतन्त्र गौरव राष्ट्रिय सम्मान दिएकोमा धेरै खुसी लागेको भन्दै प्रचण्डले आफू पनि त्यसको एउटा सहभागी आयोजककै रूपमा सम्झिन एमालेलाई आग्रह गरे । 

कम्युनिस्टमा हुने फुटको समीक्षा होस् : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएको फुटको समस्याबारे समीक्षा आवश्यक भएको बताइन् । आन्दोलनमा देखिने फुट राजनीतिक कारणले हो कि पदीय आकांक्षाको कारणले हो, समीक्षा गर्नुपर्ने उनको भनाइ थियो । 

‘स्थापना भएका अरू देशका कम्युनिस्ट पार्टीले के कति सफलता हासिल गरे र के कस्ता असफलता व्यहोर्नुपर्‍यो ? त्यसको समीक्षा र नेपाली कम्युनिस्ट आन्दोलनमा पटक–पटक देखिने गरेको फुट र विभाजन साँच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकांक्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो ? भन्नेजस्ता विषयमा समीक्षा गरेर ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा थप सफलता हासिल गर्न कठिनाइ हुन्छ, हीरक महोत्सव मनाइरहँदा आन्दोलनको गम्भीर समीक्षा गर्नुपर्छ,’ भण्डारीले भनिन् । 

हीरक महोत्सवमा एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई गणतन्त्र गौरव पदकबाट सम्मान गरेको छ । एमाले अध्यक्ष ओली, प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले उनलाई सो पदकबाट सामूहिक रूपमा सम्मान गरेका हुन् । कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, माले महासचिव सिपी मैनाली, रास्वपाका अध्यक्ष रवि लामिछाने, जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम पनि सहभागी थिए । कार्यक्रममा आमन्त्रण गरिएका नेकपा एसका अध्यक्ष माधव नेपाल भने कार्यक्रममा सहभागी भएनन् ।

एमालेलाई देउवाको प्रश्न– मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोकेको छ ?
कांग्रेस सभापति शेरबहादुर देउवाले दुई–दुईपटक राष्ट्रपति र पटक–पटक प्रधानमन्त्री भइसक्दा पनि एमालेले मदन भण्डारीजस्ता नेताको हत्यारा पत्ता लगाउन नसकेको भन्दै आलोचना गरे । कम्युनिस्ट पार्टी स्थापनायता सात दशक यात्राको झलकका रूपमा बनाइएको वृत्तचित्र प्रदर्शनीमा कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउने जननेता मदन भण्डारीको रहस्यमय हत्या गरिएको र हत्यारा पत्ता लगाउन कांग्रेसले सहयोग नगरेको विषय उठानलाई लक्षित गर्दै देउवाले हत्यारा किन पत्ता लगाउन नसकेको भन्दै सम्बोधनको सुरुमै एमालेप्रति प्रश्न गरेका हुन् ।

‘मदन भण्डारीजस्तो व्यक्तित्वबारे राम्रै कुरा गर्ने मेरो इच्छा थियो, अहिले पनि राम्रै कुरा गर्ने मन छ । यहाँ अहिले आएर कांग्रेसलाई गर्नसम्म गाली गर्नुभो उहाँहरूले । मैले जवाफ दिइहाल्नुपर्‍यो के गर्ने ? मलाई गाली गर्नेहरूले मदन भण्डारीको हत्या किन गरियो भन्न सक्दैनन् ? मदन भण्डारीको कसले हत्या गर्‍यो ? रहस्यमय ढंगले हत्या भो भन्दैमा कसले रोकेको छ खोज्नलाई ? कांग्रेसले रोकेको हो ?’ देउवाले भने, ‘आफू खोज्न नसक्ने अनि कांग्रेसलाई गाली गर्ने ? मदन भण्डारीको हत्यारा को हो अहिलेसम्म पत्ता लगाउन सकेको छैन । हुँदाहुँदा ड्राइभर पनि मारियो, कसले मार्‍यो, त्यो पनि पत्तो छैन । मदन भण्डारी राम्रो नेता हो, दुईमत छैन । तर मार्ने को हो, अहिलेसम्म किन पत्ता लागेन ? त्यसकारण कांग्रेसको विरोध गर्न सजिलो होला, गर्नुस् केही छैन, तर आफ्नो पनि कुरा भन्नुपर्‍यो नि ।’

गाली गरेर मात्र केही नहुने भन्दै देउवाले थप प्रश्नसमेत गरे । ‘किन मदन भण्डारीको हत्यारा पत्ता लागेन ? दुईपटक राष्ट्रपति बनिसक्नुभो, प्रधानमन्त्रीहरू बनिसक्नुभो, खोइ पत्ता लगाएको ? त्यसकारण मलाई गाली गरेर केही हुनेवाला छैन । तपाईंहरूले पत्ता लगाउनुपर्‍यो,’ उनले भने । उनले कांग्रेस र कम्युनिस्ट पार्टी एउटै समयमा स्थापना भएको पुराना पार्टी भएको र लामो समयदेखि महत्ववपूर्ण एजेन्डा र परिवर्तनमा सहकार्य भएको स्मरण पनि गरे । कांग्रेस अहिले पनि संवाद, सहमति, सहकार्यको नीतिको निरन्तरताको पक्षमा रहेको उनको भनाइ थियो । 

ad
ad