नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सहकार्यको माध्यमबाट निकट हुँदै जाने र क्रमशः एकताको विन्दुमा पुग्ने बताएका छन्।
सोमबार नेकपा स्थापनाको हीरक महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले आफूहरू हानिकारक विभाजनबाट फेरि उठेको र यसलाई समीक्षा गरी एकताको विन्दुमा पुग्ने बताएका हुन्।
‘०७४ मा एउटा विभाजन, ०७७, ०७८ अर्को विभाजन। विभाजन हुनुहुँदैनथ्यो। विभाजनबाट फेरि उठेका छौँ। समयमा समीक्षा गरौँला, प्रचण्डजीले भनेजस्तै अहिले हामी पार्टी एकीकरण गरिहालौँ, एकीकरण भइहाल्छ होइन,’ उनले भने, ‘यो फेरि अर्को एउटा व्यक्तिगत तुष्टिको विषय मात्र हुन सक्छ। यसले फेरि आन्दाेलनमा समस्या पैदा गर्न सक्छ। अहिले हामी सहकार्यको माध्यमबाट निकट हुँदै जान्छौँ र क्रमश: हामी एकताको विन्दुमा पुग्न सक्छौँ। तर, अहिले नै देशभरका मिलौँ भन्ने हो भने किन फुटेका थियौँ भन्ने प्रश्नहरू उठ्छन्। अहिले सहमति, सहकार्यको बाटो जाऊँ।’
यतिवेला वामपन्थी मात्रै मिलेर अघि बढ्ने स्थिति नभएको बताउँदै अध्यक्ष ओलीले देशभक्त, सार्वभौमसत्ताका पक्षमा रहेका शक्तिहरू एक हुन आह्वान गरे।