१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
टेकराज थामी काठमाडौं
२o८१ बैशाख १८ मंगलबार २१:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नक्कलीको आरोपमा सक्कली पक्राउ, तुरुन्तै रिहा गर्न सरकारी वकिल कार्यालयको निर्देशन

Read Time : < 1 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार २१:१६:oo

प्रहरीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रविरुद्ध चलाएको अपरेसनमाथि नै शंका पैदा भएको छ। पक्राउ परेकामध्ये एक चिकित्सकको प्रमाणपत्र सक्कली रहेको पाइएपछि प्रहरीले चलाएको अपरेसनमाथि शंका पैदा भएको हो। 

प्रहरीले गत बिहीबार नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र प्रयोग गरी चिकित्सा अभ्यास गरेको अभियोगमा आठ चिकित्सकलाई पक्राउ गरेको थियो। जसमध्ये एक थिए, महोत्तरीको पिपरा– ८ का डा. रञ्जितकुमार यादव। 

उनको प्रमाणपत्र सक्कली रहेको खुलेको छ। हिरासतमा राखिएका यादवलाई तुरुन्तै हिरासतमुक्त गर्न जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई निर्देशन गरिसकेको छ। 

वकिल कार्यालयका प्रमुख सहन्यायधिवक्ता अच्युतमणि नेउपानेले डा. यादवलाई तुरुन्तै हिरासतमुक्त गर्न निर्देशन गरिएको बताए। उनले भने, ‘सिआइबीले केही दिनअघि नक्कली प्रमाणपत्रधारी केही चिकित्सक पक्राउ गरेको थियो। उनीहरूविरुद्ध थप अनुसन्धानका लागि म्याद पनि थप भएको थियो। तर, त्यसमध्येको एकजना सक्कली चिकित्सक रहेको सूचना आएको छ। उनलाई तत्काल रिहा गर्न कार्यालयले निर्देशन दिइसकेको छ।’

सिआइबीले नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकविरुद्ध अपरेसन ‘फोक्सट्रोट चार्ली’ चलाएको थियो। यस क्रममा सिआइबीले  विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजको सञ्चालकसमेत रहेका कांग्रेस सांसद डा. सुनील शर्मासहित डा. यादव, डा. अमित चौधरी, डा. रामबाबु यादव, डा. एरिना शाह, डा. श्रद्धा शिल्पकार, डा. मनित चौधरी र डा. पुनम थापालाई पक्राउ गरेको हो। शर्मा गत शुक्रवार जिल्ला अदालत काठमाडौंको आदेशमा साधारण तारेख छुटिसकेका छन्। बाँकी सात अझै पनि हिरासतमै छन्।
 

ad
ad