१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
कमल खत्री म्याग्दी
२o८१ बैशाख २० बिहीबार १३:३२:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बेनी–जोमसोम सडकखण्ड पहिरोले तीन दिनदेखि अवरुद्ध

Read Time : > 2 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:३२:oo

म्याग्दीको रघुगंगा गाउँपालिका– २ बैसरीमा खसेको पहिरोले मुस्ताङ र उत्तरी म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा तीन दिनदेखि सीधा सवारी अवरुद्ध बनेको छ।

शनिबार साँझदेखि राहुपारे र बैसरीको बीचमा रहेको अँधेरीखोला आसपासमा निरन्तर पहिरो खस्न थालेपछि यस सडकखण्डमा सीधा सवारी आवागमन अवरुद्ध बनेको हो। कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत यो सडक कालोपत्रेसहित निर्माणाधीन छ।

सडकमाथिको डाँडो र पाखोबाट निरन्तर पहिरो खस्न थालेपछि सडक अवरुद्ध भएकाले सडकमा सयौँ सवारीसाधन लाम लागेका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले  भूमिगत पानी र पहिरोले भिरमाथिको पाखोबाट सडकमा पहिरो खसिरहने भएकाले सडक सञ्चालन गराउन समस्या भएको बताए।

‘सडक खुलाउन निरन्तर प्रयास भएको छ, तर पहिरो खस्न नरोकिएकाले समस्या भएको छ। वर्षा हुनासाथ माथिको जमिन बग्दै आएर पहिरो खसिहाल्छ,’ उनले भने । बेनी–जोमसोम सडकमा सीधा सवारी अवरुद्ध बनेसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका र सिंगो मुस्ताङवासीलाई सास्ती भएको छ भने मुस्ताङको भ्रमणमा आएका पर्यटक र मुक्तिनाथको दर्शनका लागि आएका तीर्थयात्रीहरूसमेत बीचबाटोमै अलपत्र परेका छन् ।

लामो समयसम्म सडक अवरुद्ध भएकाले समयमै गन्तव्यमा पुग्न नसकेको विदेशी पर्यटकहरूलाई भ्रमणमा लिएर आएका राजु शेर्पाले बताए । ‘बाटो बन्द भएपछि हामी गलेश्वर फर्किएर बसेका छौँ, सडक कहिले खुल्छ, अझै यकिन छैन, विदेशी पर्यटकहरू आत्तिएका छन्,’ उनले भने।

सडक तल कालीगण्डकी नदी र माथि भिर छ। त्यसै भिरमाथिको पाखोबाट पहिरो खसेकाले यस क्षेत्रमा जोखिम बढेको छ। गत वर्षदेखि अँधेरीखोलाको भिरबाट पहिरो खस्न थालेको थियो। यस क्षेत्रमा यसअघि पहिरो खस्दा गुडिरहेका सवारीसाधनमा क्षति पुर्‍याउनुका साथै यात्रुलाई समेत चोटपटक लागेको थियो । 

रातको समयमा यातायात आवागमन बन्द
बेनी–जोमसोम सडकको राहुघाट–तातोपानीखण्डको बैसरीलगायतका क्षेत्रमा पहिरो गई बारम्बार यातायात अवरुद्ध हुन थालेपछि यस सडकखण्डमा रातको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

सोमबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बसेको सर्वपक्षीय समन्वय बैठकले यस खण्डको सडकमा ठाउँठाउँमा ढुंगा खस्ने समस्याको कारण दैनिकजसो सडक आवागमन अवरुद्ध हुने गरेको र धनजनको समेत क्षति हुने जोखिम रहेकाले वर्षायामभरि रातको समयमा यातायात आवागमन नगर्न अनुरोध गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले जानकारी दिए। बैसरीको पहिरो खस्न नरोकिएको र रातको समयमा पहिरो खसेर सडक अवरुद्ध हुँदा धेरै यात्रु अलपत्र पर्ने समस्या आउन थालेपछि रातको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको उनले बताए। 

रातको समयमा अत्यावश्यक यात्रा गर्नुपरेमा सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिलाई खबर गरेर मात्रै आवातजावत गर्नसमेत आग्रह गरिएको छ। त्यसैगरी, बैसरी पहिरो रोकथामका लागि एक्स्काभेटर प्रयोग गरेर संरक्षण र रोकथामका संरचना निर्माण गर्नुपर्ने भएकाले पहिरोको स्थायी निराकरण गर्न कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला सडक योजना)लाई अनुरोध गर्ने तथा सो कार्यका लागि जिल्ला समन्वय समिति, जिल्लास्थित सुरक्षा निकाय, रघुगंगा गाउँपालिका, डिभिजन वन कार्यालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने निर्णय भएको छ।

वैकल्पिक सडक स्तरोन्नति नगर्दा सास्ती
बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको गलेश्वरदेखि बेगखोलासम्म वैकल्पिक सडकको ट्र्याकसमेत तयार छ । गलेश्वरको तिलकेनी–बगैचा–रानीपौवा–चौर–रिसिनचौतारी हुँदै बेगखोला जोड्ने सडकको ट्र्याक निर्माण भएको वर्षौँ भइसकेको छ। तर, यो सडक साँघुरो र जीर्ण अवस्थामा छ।

बेनी–जोमसोम सडकखण्डको गलेश्वरदेखि बेगखोलासम्मको सडक बाढी, पहिरोको कारण जोखिमयुक्त मानिन्छ। यस खण्डमा हरेक वर्ष पहिरो र बाढीले यातायात अवरुद्ध हुँदै आएको छ। निर्माणाधीन अवस्थामा रहेको सडकको वैकल्पिक सडकको ट्र्याक भए पनि स्तरोन्नति गरी सञ्चालन गर्नतर्फ सरोकारवालाको ध्यान नजाँदा यात्रुहरूले सास्ती खेप्दै आएका छन्।

तत्काललाई पहिरो छलेर नयाँ ट्र्याक बनाउन र यसअघि नै तयार भएको रानीपौवा–बेगखोला सडकलाई स्तरोन्नति गरी दीर्घकालीन वैकल्पिक सडक बनाउन आयोजना र सम्बन्धित निकायमा माग गरिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए।

ad
ad