१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १o:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

इयूको कालोसूचीबाट हटाउने पहल गर्न परिसंघको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:३४:oo

नेपाली वायुसेवालाई युरोपियन युनियनको कालोसूचीबाट हटाउन पहल गर्न नेपाल उद्योग परिसंघले आग्रह गरेको छ । परिसंघको प्रतिनिधिमण्डलले सोमबार पर्यटनमन्त्री सुदन किराँतीलाई भेटेर यस्तो आग्रह गरेका हुन् । पर्यटन प्रवद्र्धनका लागि चाल्नुपर्ने कदम, युरोपियन युनियन (इयू)को कालोसूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीन रूपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा परिसंघका प्रतिनिधि र पर्यटनमन्त्रीबीच छलफल भएको हो । 

इयूले एक दशकदेखि नेपाली वायुसेवालाई युरोपेली आकाशमा उड्न नपाउने गरी कालोसूचीमा राखेको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले वैदेशिक मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत भएकाले देशको पर्यटन उद्योगको विकासका लागि सरकार एवं निजी क्षेत्रबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए । उनले युरोपसँगको सीधा हवाई सम्पर्क पुनः स्थापित गर्न प्रभावकारी रूपमा अगाडि बढ्नुपर्ने बताए । युरोपका पर्यटक धेरै खर्च गर्नेमध्येमा पर्ने भएकाले इयूको सुरक्षासूचीबाट जतिसक्दो छिटो हटाउनुपर्नेमा उनले जोड दिए । 

परिसंघले पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राखेर पर्यटन समिति गठन गरेको जानकारी गराउँदै अध्यक्ष अग्रवालले निजी क्षेत्रतर्फ परिसंघ सरकारसँग नजिक रहेर काम गर्न प्रतिबद्ध रहेको बताए । परिसंघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफल रूपमा सञ्चालनका लागि हवाई रुटको अभावमा चुनौती देखा परेको भन्दै मन्त्री किराँतीको ध्यानाकर्षण गराएको छ । नेपाललाई फिल्मिङ गन्तव्यका रूपमा विकास एवं प्रवद्र्धन गर्न, पर्यटकीय क्षेत्रमा पुग्ने सडक यातायातमार्गको स्तरोन्नतिको काम तोकिएको समयमा पूरा गर्नुपर्ने, हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाइएकोलगायत विषयमा परिसंघले ध्यानाकर्षण गराएको छ । 

मन्त्री किराँतीले नेपाल युरोपियन युनियनको कालोसूचीबाट हटाउन पहल भइरहेको र छिट्टै सकारात्मक समाचार आउन सक्ने बताए । युरोपियन युनियनसँग पुनः सीधा हवाई सम्पर्क स्थापित गर्न सरकार कठोर रूपमा अगाडि बढ्ने विश्वास उनले दिलाए । उनले नेपाल गन्तव्य महँगो भइरहेको अवस्थामा हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाउने कुरामा आफ्नो असहमति राखेको बताए । 

नेपालका दुर्गम स्थानमा सेवा प्रवाह गर्न ट्रंक रुटका लागि केही जहाज र नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन अन्तर्राष्ट्रिय उडानका लागि न्यारोबडी जहाज खरिद गर्ने तयारी गरिरहेको मन्त्री किराँतीले जानकारी गराए । उनले पर्यटन उद्योगको विकासका लागि परिसंघसँग मिलेर काम गर्ने बताए । 

ad
ad