Skip This
कम्युनिस्ट आन्दोलन र उत्तर आधुनिकतावादी छाया
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
रोशन जनकपुरी
२o८१ बैशाख २८ शुक्रबार o७:४६:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

कम्युनिस्ट आन्दोलन र उत्तर आधुनिकतावादी छाया

वर्तमानमा कम्युनिस्ट आन्दोलनभित्र संशोधनवादभन्दा पनि ‘उत्तर’ चरित्र बढी देखिन्छ, जो बहसलाई मार्क्सवादी वैचारिकताभन्दा भिन्न दिशामा डोर्‍याउन चाहन्छ

Read Time : > 5 मिनेट
रोशन जनकपुरी
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o७:४६:oo

उत्तर आधुनिकताले मार्क्सवाद वा समाजवादको वैधतामाथि प्रश्नचिह्न मात्रै खडा गर्दैन, बरु यसले पुँजीपति र सर्वहाराको उदयसँगै सुरु भएको आधुनिकताको त्यस समस्त युगलाई खारेज गरिदिन्छ । यसले शोषणबाट मुक्तिका ती सबै संघर्ष, त्याग, बलिदान तथा सानदार मानवीय प्रयत्न तथा सबै प्रकारका मुक्तिका विचारलाई ‘महावृत्तान्त’को उपाधिबाट विभूषित गर्छ, जो निर्धारित लक्ष्यतिर अग्रसर हुने क्रममा कि त सर्वसत्तावादी, कि यथास्थितिवादी (पुरानै) स्खलनमा सिद्धिन्छ ।

यसै आधारमा उसले वर्गीय वा मानवीय एकता र साझा मुक्तिको विचार र प्रयत्नप्रति अविश्वास व्यक्त गर्छ र यसको विकल्पमा नश्ल, लिंग, जाति, नेतृत्व आदिको फरक–फरक मुक्तिको कल्पित विचार र तर्कपद्धति सिर्जना गर्छ । उत्तर–आधुनिकतावादीले आफ्नो ‘जलेबी’जस्तो घुमाउरो तर्कपद्धतिलाई यसरी प्रस्तुत गर्छन् मानौँ नश्ल, लिंग, जाति, नेतृत्व, समुदाय आदिबारे उत्तर–आधुनिकतावादीले विचार गर्नुभन्दा पहिले कसैले विचार गरेन ।

उनीहरू यसलाई ‘नयाँ सामाजिक आन्दोलन’का रूपमा प्रस्तुत गर्न चाहन्छन् । तर, यथार्थ के हो भने कम्युनिस्ट आन्दोलनले यी सामाजिक समुदायको अस्तित्व र स्वत्वलाई ऐतिहासिक प्रक्रियामा श्रमविभाजन र शोषणकै प्रतिबिम्बन मानेर यसलाई वर्गसंघर्षभित्रको अनिवार्य अंगका रूपमा स्विकार्दै आएको छ । कम्युनिस्ट पार्टीभित्रका किसान, दलित, महिला र शोषित क्षेत्रीय भूगोलका जनसमुदायका निम्ति गठित विभाग र मोर्चा यसैका अभिव्यक्ति हुन् । उत्तर–आधुनिकतावादीको वास्तविक उद्देश्य वर्गसंघर्षलाई खण्डित गरेर सामाजिक समूहको निवर्गीय स्वतन्त्र संघर्ष खडा गर्नु हुने गर्छ । त्यसैले, उनीहरूले कथित ‘नयाँ सामाजिक आन्दोलन’का निम्ति नयाँ अर्थ र नयाँ तार्किक आधार तयार गर्छन् र यी सामाजिक आन्दोलनलाई शोषितको एकजुट आन्दोलनभन्दा भिन्न स्वायत्त र निरपेक्ष बनाउन खोज्छन् । 

यस निवर्गीय तार्किकतामा पुँजीवादको शोषणमुखी चरित्रको विश्लेषण अन्तर्विरोधी हुने हुनाले उनीहरूले एउटा पद्धतिका रूपमा सबैभन्दा पहिले मार्क्सवादीले प्राथमिकतामा राख्ने पुँजीवादको विश्लेषणको एजेन्डालाई उपेक्षा गर्छन् र पुँजीवादको सामान्य आलोचनासम्म मात्र आफूलाई सीमित राख्छन् । यस अर्थमा, सारमा यसले पुँजीवादलाई सहयोग नै गरिरहेको हुन्छ । 

एउटा वैचारिक प्रवृत्तिगत तार्किक पद्धतिका रूपमा उत्तर–आधुनिकतावादले आफूलाई विविध चरण र वैचारिक सारिणीमा विकास गरेको छ । उत्तर–माक्र्सवाद, उत्तर–पुँजीवाद, पराश्रयवाद (सबाल्टर्न), सांस्कृतिक अध्ययन समूह र हुँदाहुँदा अब त उत्तर–माओवादका रूपमा पनि उत्तर–आधुनिकतावादी देखिन थालेका छन् । यसलाई तपाईं समग्रमा ‘उत्तर–संस्कृति’ भन्न सक्नुहुन्छ । सोभियत संघको विघटनपछि तथा वर्तमानमा विश्वव्यापी कम्युनिस्ट आन्दोलनले खाएको धक्का र कमजोर स्थितिपछि निराश वैचारिक बौद्धिकले प्रचारित गरिरहेको ‘इतिहासको अन्त’, ‘विचारको अन्त’, ‘महावृत्तान्तको अन्त’, ‘लेखकको अन्त’जस्ता निराश, उदास र निरर्थक चिच्याहटको आधारभूमिबाटै उत्तर–आधुनिकताको निवर्गीय तार्किकताको विकास भएको हो, जसलाई साम्राज्यवादी शिविरले आफूअनुकूल घनघोर प्रचारित र प्रोत्साहित गर्ने गरेको छ । 

विचार गर्ने हो भने नेपाली कम्युनिस्ट आन्दोलनमा पनि ‘उत्तर’ प्रवृत्तिहरूको छाया सहजै देख्न सकिन्छ । कुनै बेला बुर्जुवा संसदीय लोकतान्त्रिक बहुदलीय ढाँचाभित्र अन्तध्र्वंश मच्चाएर समाजवादी क्रान्तिअनुकूलको राजनीतिक ढाँचा खडा गर्न संसदीय व्यवस्थाको उपयोग गर्न आएको, बहुदलीय राजतन्त्रकालको नेकपा माले (हालको एमाले र एस) होस् वा वर्तमानमा माओवादी जनयुद्धबाट विकसित हालको माओवादी केन्द्र होस्, सबैले मार्क्सवादको आधारभूत प्रस्थापना वर्गसंघर्ष, सर्वहारा र सर्वहारा अधिनायकत्वको विचारमा आधारित समाजवाद र साम्यवादको वैचारिकता तथा रणनीतिक कार्यदिशाबाट परहेज गरिरहेको देखिन्छ ।

संसदीय अभ्यासबाट समाजवादको यात्राको विचारले कम्युनिस्ट पार्टीहरूलाई उसको समर्थक पंक्ति मजदुर, किसान तथा शोषित सामाजिक समुदायबीच पनि अलोकप्रिय बनाएर विसर्जनको स्थितिसम्म पुर्‍याएको देखिन्छ

यो वैचारिक अलग्ग्याइ कतिसम्म छ भने कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चामा गैरमाक्र्सवादी राजनीतिक दलसमेत अटाएका मात्र छैनन्, यीमध्येका एक मार्क्सवादी घटकले ऐतिहासिक द्वन्द्ववादको सिद्धान्त नै काम लाग्दैन पनि भने । नेकपाका अध्यक्ष विप्लवले एउटा कार्यक्रममा ‘ऐतिहासिक द्वन्द्ववादको काम छैन, यसले समाजवादको रक्षा गर्न सकेन’ भनेका थिए ।

माक्र्सवाद उनले बुझेका छैनन् भन्नु उचित हुँदैन, किनभने उनले राजनीतिक जीवन नै माक्र्सवादी आन्दोलनमा बिताएका छन् र आफ्नो नेतृत्वमा कम्युनिस्ट पार्टी खोलेर मार्क्सवादको नयाँ व्याख्या भनेर ‘एकीकृत जनक्रान्ति’जस्तो वैचारिक प्रवृत्तिको संश्लेषणसमेत गरिसकेका छन् । वस्तुतः ऐतिहासिक द्वन्द्ववाद र समाजवादको रक्षा दार्शनिक रूपमा अन्तर्सम्बन्धित भए पनि दुई भिन्न प्रवर्ग हुन् । ऐतिहासिक द्वन्द्ववाद यस ब्रह्माण्ड र जगत्को प्रकृति र समाजको निरन्तर र छलाङमय परिवर्तनको वैज्ञानिक र सामाजिक नियम हो भने समाजवाद रक्षाको प्रश्न कम्युनिस्ट पार्टीको सिद्धान्तनिष्ठता, सामाजिक र राजनीतिक परिवर्तनका नियम अर्थात् वर्गसंघर्षको कुशलतापूर्वक सञ्चालन तथा जनवर्गप्रतिको पक्षधरतामाथि निर्भर गर्छ । 

विप्लवले त आफ्नो थकित बुझाइ खुलेरै राखे, होइन भने प्रत्यक्ष अप्रत्यक्ष यो प्रवृत्ति नेपालका कम्युनिस्ट पार्टीहरूको मूल चरित्रको रूपमा देखिन थालेको छ । केही कम्युनिस्ट पार्टीहरूमा यो प्रवृत्ति मार्क्सवादबारेको यान्त्रिक बुझाइमा छ, जसले वर्गसंघर्षमा सामाजिक समुदाय (नश्ल, जाति, लिंग, दलित, क्षेत्र आदि)को विचारलाई अस्वीकार गर्छ, निरपेक्ष वर्गसंघर्षको राग अलाप्दै समाजवादी क्रान्तिलाई दूर देशको विषय बनाउँछ र संसदीय व्यवस्थाभित्र घरजम गरेर बस्छ ।

कम्युनिस्ट पार्टीको एउटा अर्को जमात छ, जो मार्क्सवादको मूल वर्ग र सहयोगी समुदाय मजदुर र किसानबारेको बहसबाट भाग्न खोज्छ, सामाजिक समुदायको प्रश्नमा बढी संवेदनशील हुने गर्छ र समस्याको समाधान क्रान्तिकारी संघर्षभन्दा पनि संसदीय र सुधारात्मक विधिबाट हल गर्न खोज्छ । वैचारिक रूपमा मार्क्सवादको क्रान्तिकारी प्रस्थापना सर्वहारा, सर्वहारा अधिनायकत्व र श्रमजीवीवर्गको वर्चस्वको समाजवादी विचारबाट प्रायः टाढिन खोज्ने यो कम्युनिस्ट ब्यानरधारी जमात नै अहिले नेपाली कम्युनिस्ट आन्दोलनमा सबैभन्दा ठूलो हिस्सा बनेको छ । यो जमात संसदीय बाटोबाट समाजवादको यात्रा गर्न चाहन्छ । 

संसदीय अभ्यासबाट समाजवादको यात्राको विचार र अभ्यास नयाँ होइन । सुधारवादी विचारक एडबर्ड बन्र्सटिनले त ‘इभोल्युसनरी सोसलिजम’ (सुधारवादी समाजवाद)का नाममा कानुनी मार्क्सवादको विचारधारा नै विकास गरे । तर, अभ्यासको ऐतिहासिक अनुभव के छ भने संसदीय बाटोबाट समाजवादको यात्रा हमेसा असफल साबित भयो । यस विचारले कम्युनिस्ट पार्टीहरूलाई उसको समर्थकपंक्ति मजदुर किसान तथा शोषित सामाजिक समुदायबीच पनि अलोकप्रिय बनाएर विसर्जनको स्थितिसम्म पुर्‍याएको देखिन्छ ।

भारत स्वतन्त्र हुँदा त्यहाँको संसद्मा भारतीय कम्युनिस्ट पार्टी प्रमुख प्रतिपक्ष थियो । तर, वैचारिक स्खलन र पलायन तथा विभाजनका कारण आधारभूमि गुमाएर उनीहरू वर्तमानमा अस्तित्व बचाउन संघर्षरत छन् । यही स्थिति दक्षिण एसियालगायत विश्वका अन्य कम्युनिस्ट पार्टीहरूको पनि छ, जो संसदीय अभ्यासमा छन् । वस्तुतः संसद्लाई उपयोग गर्नैहुँदैन वा गर्नैपर्छ भन्ने दुवै एकांगी दृष्टिकोण हुन् । संसद्को उपयोग वा बहिष्कार कार्यनैतिक आवश्यकतामा भर पर्ने कुरा हो । तर, संसद्बारे सही बुझाइ के हो भने, यो अवर्गीय या वर्गोपरि संस्था हो, जसले पुँजीवादी घेराभित्रै कार्य गर्छ । यसको समाजवादी रूपान्तरणमा कार्यनैतिक उपयोग मात्र हुन सक्छ । 

तर, संसदीय बाटोबाट समाजवादको यात्रालाई रणनीति तय गरेपछि माक्र्सवादी सैद्धान्तिकताको अर्थ रहँदैन । यो मार्क्सवादी संघर्षका उपलब्धिलाई मूल्यांकन नगरी असफलताको हिसाब गर्न थालेपछि मार्क्सवादी निष्कर्ष तथा व्यवहारप्रति जन्मने निराशा, थकान र उदासीबाट जन्मने अविश्वास पनि हो । लेनिनले समाजवादलाई सर्वहारा र पुँजीवादीबीचको संघर्ष तथा साम्यवादमा संक्रमणको स्थिति नजन्मेसम्म यस संघर्षमा जित अनिश्चित तथा पुँजीवाद पुनस्र्थापनाको सम्भावनासमेत उत्तिकै रहने चरणमा थिए । यस ऐतिहासिक द्वन्द्वको परिणाम तत्कालीन वस्तुगत परिस्थिति तथा वर्गसंघर्षको सञ्चालनमा सर्वहारा वर्गको नेतृत्वको कार्यकुशलतामा भर पर्ने पनि उनले भनेका थिए । उत्तर–आधुनिकतावादी प्रवृत्तिले सर्वहारा क्रान्तिका यी सम्पूर्ण चिन्तनपद्धतिलाई बेतुकको भन्छ र बहस गर्नबाट निरुत्साहित गर्छ । 

पाँच दिनदेखि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिमा केन्द्रीय सदस्यहरूले व्यक्त गरिरहेका विचारले अखबारका पाना रंगिएका छन् । यो लेख प्रकाशित हुँदासम्म माकेको बैठक समापन भइसकेको हुनेछ । यो बैठक सुरु हुँदा अध्यक्ष प्रचण्डले पार्टी पार्टीजस्तो नभएको गुनासो गरेका थिए । बैठकमा सदस्यहरूको अभिव्यक्ति सुन्दा (मिडियाअनुसार) अध्यक्ष प्रचण्डको भनाइसँग मेल खाँदै थियो । सहभागी सदस्यले नेताहरूको विलासी जीवनशैली, नातागोता, गैरजनवादी प्रवृत्ति, गुटबन्दी, नेताहरू आर्थिक भ्रष्टाचारमा मुछिनु तथा अराजक र नाफामुखी पार्टी जीवनको उल्लेख गरेका थिए ।

सबैले अध्यक्षलाई नै निशानामा लिएका थिए । केही सामान्य असन्तुष्टि भए पनि पदाधिकारी भने अध्यक्षको पक्षमा देखिए । तर, रोचक के थियो भने व्यापक आलोचनाका बाबजुद अध्यक्षका अलिखित राजनीतिक प्रतिवेदन र नेतृत्वप्रति सबैले समर्थन जनाए । यसले माकेभित्र स्थिति जस्तोसुकै रहे पनि अध्यक्ष प्रचण्डको एकल कमान्डरसिप सुरक्षित छ भन्ने साबित भएको छ ।

तर, माकेको यस बैठकमा महिला, दलित, मधेसी, आदिवासीलगायत सबै कोणबाट बहस उठे पनि मार्क्सवादी विचार अर्थात् समाजवादी क्रान्तिमा सर्वहारा अधिनायकत्व तथा मजदुर किसानको अधिकारको सैद्धान्तिक संघर्षको विषय उठेन । यहाँसम्म कि पद र उत्तराधिकारका निम्ति निवर्गीय चुनाव गराउनुपर्ने प्रस्ताव पनि आयो । कुनै वेला माओवादी जनयुद्ध हाँकेको पार्टीको सबैभन्दा ठूलो हिस्साको वैचारिकता वर्गीयता, वर्गसंघर्ष र सर्वहारावर्गीय पक्षधरताबाट कसरी टाढिँदै गएको छ, यसको सटिक उदाहरण हो यो । बैठकमा यस वैचारिक अलग्याइप्रति लेखनाथ न्यौपाने र लेखनाथ दाहालजस्ता केही सहभागीको असन्तुष्टि अपर्याप्त र भिडमा हराएको स्वरजस्तो थियो । 

अहिले नेपाली कम्युनिस्ट आन्दोलनमा रहेका कम्युनिस्ट पार्टीहरूमा अधिकांश यस्तै थकान, उदासी, निराशा र अविश्वासको बीचबाट पलायनको यात्रामा छन् । केही गैरसंसदीय कम्युनिस्ट पार्टीहरूमा क्रान्तिकारी आग्रह देखिए पनि, उनीहरूमा पनि आधारभूत संघर्षभन्दा सामाजिक अधिकारप्रतिको रुझान रोगका रूपमा बढी देखिन्छ । 

वस्तुतः नेपाली कम्युनिस्ट आन्दोलनलाई वास्तविक अर्थमा नयाँ जनवाद र समाजवादको दिशामा लैजाने हो भने यसका पुराना   सकारात्मक र नकारात्मक विरासत तथा गणतन्त्र तथा संघीयतासँगै जन्मिएको नयाँ अन्तर्वस्तु तथा अन्तर्विरोधबारे मार्क्सवादी सैद्धान्तिकताको कसीमा विचार गर्नुपर्छ । यद्यपि, मार्क्सवादी हुने हो भने वर्गसंघर्ष, सर्वहारा र सर्वहारा अधिनायकत्वको विचारलाई उपेक्षा गर्न सकिँदैन । तर, वर्तमानमा त यस आन्दोलनभित्र संशोधनवादभन्दा पनि ‘उत्तर’ चरित्र बढी देखिन्छ, जो बहसलाई मार्क्सवादी वैचारिकताभन्दा भिन्न दिशामा डोर्‍याउन चाहन्छ । 

ad
ad