१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o९:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

रुद्रप्रयाग पहिरो : अझै फेला परेनन् बेपत्ता १६ नेपाली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:३१:oo

भेटिएका तीन शव नेपालीका भएको अनुमान गरिए पनि औपचारिक पुष्टि हुन बाँकी, खोजी तथा उद्धारका लागि परराष्ट्रमन्त्री साउदले गरे उत्तराखण्डका मुख्यमन्त्रीसँग आग्रह

भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लामा बिहीबार राति गएको पहिरोमा परि बेपत्ता १६ नेपाली अझै फेला परेका छैनन् । पहिरोमा तीन भारतीयसहित १९ जना बेपत्ता भएका थिए । शव भेटिएका तीनजना नेपाली भएको अनुमान गरिए पनि आधिकारिक पुष्टि हुन सकेको छैन ।

दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता रेवती पौडेलले शव नेपाली वा भारतीयको हो भन्ने औपचारिक पहिचान हुन बाँकी रहेको बताए । आइतबारसम्म पहिचान हुनसक्ने उनले बताए । उत्तराखण्ड सरकारसँग नेपाली दूतावासले आवश्यक समन्वय गरिरहेको र बाँकी बेपत्ताहरूको पनि खोजी भइरहेको उनको भनाइ छ । 

पहिरोमा परेकामा जुम्लाको पातारासी गाउँपालिका– ३ चौरगाउँका ३० वर्षीय अमर बोहोरा, उनकी पत्नी २९ वर्षीया अनिता बोहोरा, ११ वर्षीया छोरी सलिता बोहोरा, नौ वर्षीया छोरी पिंकी बोहोरा, सात वर्षीया छोरी प्रीति बोहोरा, चार वर्षीय छोरा जटिल बोहोरा, दुई वर्षीय छोरा वकिल बोहोरा बेपत्ता भएका छन् । उनीहरूसँगै चौरगाउँकै ४६ वर्षीय सुकराम रावत र ३८ वर्षीय बम बोहोरा, पातारासी गाउँपालिका– २ पेरेगाउँका ५५ वर्षीय धर्मराज बुढा र २४ वर्षीय चन्न कामी गरी ११ जना पहिरोमा बेपत्ता भएको गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन् । त्यस्तै कालिकोटका पाँचजना छन् । 

त्यस्तै, परराष्ट्रमन्त्री एनपी साउदले शनिबार उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीलाई टेलिफोन गरेर पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि आग्रह गरेका छन् । मुख्यमन्त्री धामीले शनिबार बिहानैबाट बेपत्ताको खोजीका लागि सुरक्षाकर्मी र अन्य निकाय खटाइएको परराष्ट्रमन्त्री साउदलाई जानकारी दिएका छन् । धामीले रुद्रप्रयागको खराब मौसमका कारण आफू गौरीकुण्ड जान नसकेको भन्दै बेपत्ताको खोजीका लागि आफूले स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको जानकारी दिए । यसअघि परराष्ट्रमन्त्री साउदले शुक्रबार नै दिल्लीस्थित नेपाली राजदूतावासलाई बेपत्ता भएका नेपालीको खोज, उद्धार तथा राहतका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए । 

यसैबीच, प्रधानमन्त्री प्रचण्डले उत्तराखण्डको गौरीकुण्डमा पहिरोमा नेपालीसहित भारतीय बेपत्ता भएको खबरले मर्माहत भएको बताएका छन् । ‘उहाँले यस दुःखद घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ,’ प्रधानमन्त्री प्रचण्डको सचिवालयले भनेको छ, ‘बेपत्ता नागरिकहरूको यथाशीघ्र खोजीका लागि कूटनीतिक पहल गरिएको उहाँले जानकारी गराउनुभएको छ ।’

बेपत्ता नेपाली खोजीका लागि पहल गर्न कांग्रेसको सरकारलाई आग्रह
कांग्रेसले भारतको उत्तराखण्डमा पहिरोमा परी बेपत्ता नेपालीको खोजीको पहल गर्न सरकारसँग आग्रह गरेको छ । शनिबार विज्ञप्ति जारी गर्दै कांग्रेसले केदारनाथ गौरीकुण्डनजिकै पहिरोमा परेका नेपालीको अवस्थाबारे संवेदनशील हुन आग्रह गरेको हो । 

कांग्रेसले बेपत्ताको तत्काल खोजीका लागि पहल, घाइतेको उपचार र उद्धार भएकालाई स्वदेश फर्काउन आवश्यक पहल गर्न सरकारसँग आग्रह गरेको छ । ‘बेपत्ता नेपाली नागरिकको हरतरहले खोजी गर्न, उद्धार गरिएकाहरूको स्वास्थ्योपचारको व्यवस्था मिलाउन र तत्पश्चात् स्वदेश फिर्ता ल्याउनका लागि भारत सरकारसँग अविलम्ब पहल गर्न कांग्रेस सरकारसँग माग गर्दछ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ad
ad