१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १५:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

मापदण्डविपरीतका संरचनामा डोजर लगाउँदै बागलुङ नगरपालिका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १५:५२:oo

बागलुङ नगरपालिकाले बजार क्षेत्रमा मापदण्डविपरीत बनाइएका अवैध र अव्यवस्थित संरचना हटाउन थालेको छ। नगरपालिकाले बजार क्षेत्रको सडकपेटीमा राखिएका सामग्री हटाउनुका साथै अव्यवस्थित ढंगले सञ्चालन गरिएका ठेलागाडा र पोके व्यापारीलाई पूर्ण रूपमा निषेध गरेको छ।

नगरपालिकाले सडक क्षेत्रभित्र पर्ने कृषि ज्ञान केन्द्र र आफ्नै कार्यालयको पर्खालसमेत भत्काएको छ। त्यसैगरी, बुधबार वडा नम्बर ३ का वडाध्यक्ष सोनी केसी लक्ष्मणको नेतृत्वमा बागलुङ एफएम चोकदेखि होटेल दी राजनसम्मको सडकमा पनि अवैध संरचना भत्काएको थियाे ।

मापदण्डअनुसार बागलुङ ट्राफिक चोकदेखि धौलागिरी अस्पताल गेटसम्म सडक नाै मिटर हुनुपर्ने इन्जिनियर त्रिलोचन गिरीले बताए। बागलुङ बजारको सौन्दर्य कायम गर्ने, सडक दुर्घटना न्यूनीकरण गर्नेलगायतका उद्देश्य राखी मापदण्डविपरीतका संरचना हटाउन लागिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए। 

पहिलो चरणमा सबै नागरिकलाई सुसूचित गरेर तोकिएको समयमा अवैध संरचना नहटाएपछि बजार व्यवस्थापन समिति र नगरपालिका आफैँले हटाउन लागेको उनले प्रस्ट पारे। ‘हाम्रो नगर राम्रो बनाउने हामी सबैको कर्तव्य हो। बजार क्षेत्रमा अव्यवस्थित र मापदण्डविपरीत बनेका सबै संरचना क्रमशः हटाउँदै जानेछौँ,’ नगरप्रमुख श्रेष्ठले भने, ‘नगरलाई स्वच्छ र सफा नगरको रूपमा विकास गर्न हामी प्रतिबद्ध छौँ।’

बजार क्षेत्रमा समस्याको रूपमा रहेको पार्किङको व्यवस्थापन पनि छिट्टै हुने उनले बताए। बजारमा अव्यवस्थित बनेका सबै संरचना क्रमशः हटाउँदै जाने बजार व्यवस्थापन समितिका संयोजक एवं वडा नम्बर २ का सदस्य अर्जुन घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार अवैध संरचना हटाउन सम्बन्धित जग्गाधनीलाई सूचना गरेपछि प्राविधिकसहितको टोलीले आवश्यक नापजाँच गरी रेखांकन गरेपश्चात् संरचना हटाउन आग्रह गरिनेछ। निश्चित समयमा संरचना नहटाएमा नगरपालिका आफैँले हटाउने कार्यविधि बनेको उनले बताए।

सडकपेटीमा राखिएका सामग्री हटाइयो
नगरपालिकाले सडक अतिक्रमण गरी राखिएका सामान हटाउने अभियानलाई अझै थप कडाइका साथ अगाडि बढाउने बताएको छ। नगरपालिकाले ठेलागाडामा तरकारी, फलफूल, चटपटेलगायतको खुला व्यापार हटाउनेदेखि सडक अतिक्रमण गरी राखिएको सामान साउन १४ देखि नै हटाएको थियो।

साँगुरो बजारको सडकमै जथाभावी ठेलागाडा तथा सडक व्यापारकै कारण सवारी आवागमन, ट्राफिक व्यवस्थापनमा समस्या, दुर्घटनाको जोखिम बढ्ने भन्दै नगरपालिका निर्मम बन्न बाध्य भएको संयोजक घिमिरेले बताए। ‘नगरपालिकाले निश्चित मापदण्डविपरीत बनेका संरचना सबै हटाउने गरी बजार व्यवस्थापन समिति बनाएको छ,’ संयोजक घिमिरेले भने, ‘समितिले नगरप्रमुख श्रेष्ठको घरअगाडि बनेको वालसमेत हटाउन निर्देशन दिएको छ।’

नगरपालिकाले अन्य व्यक्ति तथा संस्थालाई मापदण्डविपरीतका संरचना हटाउन साउन मसान्तसम्मको समयावधि दिएको छ। साउन मसान्तसम्म नहटाए पालिका स्वयंले भत्काइदिने बताइएको छ।

कृषिजन्य उत्पादनका निम्ति निश्चित समय निर्धारण 
नगरपालिकाले कृषकहरूले उत्पादन गरेको तरकारीलगायत कृषिजन्य उत्पादनको बिक्री–वितरणका लागि बिहान ९ बजेसम्म र साँझ ६ बजेपछि समय निर्धारण गरेको छ।

नगर कार्यपालिकाले बजार व्यवस्थापन कार्यविधि बनाएर मापदण्डविपरीतका संरचना हटाउन लागेको हो। स्थानीय सरकारले बनाएको कानुन कार्यान्वयन गर्ने दायित्व जनप्रतिनिधि र सर्वसाधारण सबैको रहेको भन्दै सकारात्मक सहयोग गर्न नगरपालिकाले बजारवासीलाई आग्रहसमेत गरेको छ। 

व्यापारीले सडकपेटीमा राखेको सामग्री हटाएको विषयमा भने उद्योगी–व्यवसायीले विरोध गरेका छन्। उनीहरूले व्यापार–व्यवसाय घट्दै गएको पछिल्लो समयमा नगरपालिकाले व्यापारीको सामग्री हटाउनु र उठाएरै लैजाने काम व्यावसायिक हितविपरीत भएको बताएका छन्।

ad
ad