
गर्मी तथा वर्षाको मौसममा लामखुट्टेको टोकाइबाट बच्न जरुरी छ । फरक प्रजातिका लामखुट्टेले फरक रोग सार्ने जोखिम रहन्छ । लामखुट्टेको टोकाइबाट मलेरिया, डेंगु, ज्वरो, जापानिज इन्सेफ्लाइटिस, हात्तीपाइले, कालाजारजस्ता सरुवा रोग सर्न सक्छ । लामखुट्टेले रोगी मानिसको शरीरबाट ल्याएको कीटाणु स्वस्थ मानिसमा सार्छ ।
डेंगु
लामखुट्टेको टोकाइबाट लाग्ने रोगमध्ये डेंगु सबैभन्दा घातक हो । एडिस नामक पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्छ । डेंगु भएपछि ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र शरीरका विभिन्न अंगबाट रगत बग्ने हुन्छ । डेंगु चार प्रकारका हुन्छन् । यदि डेंगु सुरुवाती चरणमा छ भने झोलिलो खानेकुरा खाएर आराम गर्नुपर्छ, आफैँ निको भएर जान्छ । तर, ज्वरो दोहोरिएको अवस्थामा डेंगुले जटिल समस्याहरू निम्त्याउँछ । चिकित्सकले डेंगुको परीक्षण गरेर बिरामीको अवस्था नियाल्दै उपचार गर्ने गर्छन् ।
मलेरिया
एनाफिलिज नामक लामखुट्टेको टोकाइबाट मलेरिया रोग लाग्ने गर्छ । यसको प्रमुख कारण प्यारासाइट प्लाज्मोडियमलाई पनि मानिन्छ । टाउको दुख्नु, बान्ता हुनु, ज्वरो आउने, ज्यान दुख्नेजस्ता यसका लक्षण हुन् । समयमै उपचार नगरेमा मलेरियाकै कारण ज्यानसमेत जान सक्छ । पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला मलेरियाबाट बढी प्रभावित
हुने गर्छन् ।
जापानिज इन्सेफ्लाइटिस
जापानिज इन्सेफ्लाइटिसले सीधै दिमागमा असर गर्छ । नसा र स्पाइनल कर्डमा समेत असर पु¥याउने भएकाले यो रोगलाई निकै घातक मानिन्छ । ज्वरो आउने, टाउको दुख्ने, आँखा रातो हुनेजस्ता लक्षण यो रोग लागेपछि देखिन्छन् । यसको समस्या देखिएपछि शरीरमा अक्सिजनको मात्रा कम हुने भएकाले सास फेर्न गाह्रो हुन्छ ।
बच्ने उपाय
सरुवा रोगबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्न आवश्यक छ । त्यसैले घरमा फूल रोप्ने गमलामा पानी जम्न दिनुहुँदैन ।
बच्ने उपाय
सरसफाइमा दिनुस् ध्यान
खोला किनार, दूषित पानी भएका स्थान, सहरी क्षेत्र तथा बाक्लो बस्ती भएका ठाउँमा लामखुट्टे चाँडै फैलिन्छ । त्यस्तै, घरको गमलामा पनि लामखुट्टेले फुल पार्न सक्छ । पानी जम्ने खालको टायरमा पनि यसले फुल पार्छ । यस्ता क्षेत्रमा सरुवा रोगको महामारीसमेत चाँडै फैलने जोखिम हुन्छ । खासगरी, सरसफाइको अभाव, स्वास्थ्य चेतनाको कमीका कारण लामखुट्टे बढ्छ ।