१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ६ आइतबार o८:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सरकार भ्रष्टाचारविरुद्ध  दृढ छ : उपप्रधानमन्त्री खड्का 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o८:o९:oo

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार भ्रष्टाचार र ढिलासुस्तीको विपक्ष र सुशासनको पक्षमा अझ दृढताका साथ प्रस्तुत हुने बताएका छन् । कांग्रेस काठमाडौं ६ क्षेत्रीय सम्मेलनमा शनिबार उनले भ्रष्टाचार नियन्त्रण र सुशासनको काम सरकारले अभियानकै रूपमा अघि बढाएको बताए । ‘सरकारले केही कामको सुरुवात गरेको छ, खासगरी भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा दृढताका साथ अघि बढ्दै सरकारले जनताले अनुभव गर्ने गरी काम गर्नेछ,’ उनले भने । 

खड्काले विकास निर्माणका काममा ढिलासुस्तीदेखि पुँजीगत खर्च न्यून हुने अवस्था अन्त्यका लागि सरकारले कठोर कदम चाल्ने तयारी गरेको बताए । दैनिक सेवा प्रवाहलाई चुस्त बनाउन उच्च प्राथमिकताका साथ काम भइरहेको उनको भनाइ थियो । खड्काले गलत काममा खुला रूपमा आलोचना र सुधारका सुझाब दिनसमेत आग्रह गरे । उनले नेपाली राजनीतिको मियो कांग्रेस रहेको भन्दै नेता तथा कार्यकर्तालाई सोहीअनुरूप काम गर्नुपर्ने निर्देशन दिए ।

यस्तै, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले चुनावकै मात्र चिन्ताले देश नबन्ने बताएका छन् । शनिबार कांग्रेस काठमाडौं ९(क) प्रदेश सम्मेलनमा उनले अहिले नै मिसन ०८४ भनेर चुनावको चिन्ता गर्न नहुने बताए । ‘बाह्रैमास चुनावको चिन्ता गरेर देश बन्दैन । राजनीतिक दलले एउटा पुस्ताको चिन्ता गर्छ । चुनावको चिन्ता गर्दैन । हामी आजको काम गरौँ । कांग्रेसले गरेका कामको प्रचार गरौँ,’ शर्माले भने ।

कांग्रेस सङ्लिने र तंग्रिने अवस्थामा रहेको उनको भनाइ थियो । प्रदेश क्षेत्रीय सभापतिलाई महामन्त्री शर्माले पार्टीको सदस्यता र विभाग गठन विस्तारमा प्रतिस्पर्धा गर्न निर्देशन दिए । उनले कांग्रेसमा आन्तरिक प्रतिस्पर्धा गर्न युवापुस्ता अगाडि बढेको बताए । 

यसैगरी, कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी संगठन चलायमान बनाउन प्रशिक्षणमा जोड दिनुपर्ने बताएका छन् । कांग्रेस काठमाडौं महानगर सम्मेलनको शनिबार उद्घाटन गर्दै सिंहले पार्टी जीवनमा परिवर्तन हुने गरी कार्यक्रम बनाएर जानुपर्ने बताए । उनले कांग्रेस कुनै पनि रूपमा कमजोर नभएको र केन्द्रीय समितिबाट जनस्तरमा जाने कार्यक्रम ल्याउन लागिएको भन्दै नयाँ ऊर्जाका साथ पार्टी व्यवस्थापनमा लाग्न आग्रह गरे । सिंहले स्थानीय सरकारमा रहेका जनप्रतिनिधि र पार्टीका समितिबीच सहकार्य हुनुपर्ने बताए । 

ad
ad