Skip This
ओढारमा बस्दै आएका राहुलको उद्धार  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १० बुधबार
  • Saturday, 27 July, 2024
कमल खत्री म्याग्दी
२o८o श्रावण १० बुधबार १७:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओढारमा बस्दै आएका राहुलको उद्धार  

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८o श्रावण १० बुधबार १७:oo:oo

म्याग्दी सदरमुकाम बेनीनजिकै ओढारमा बस्दै आएका एक व्यक्तिको उद्धार गरिएको छ।

बेनी नगरपालिकाको वडा नम्बर–७ मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका ५० वर्षीय राहुल विकको उद्धार गरी मानव सेवा आश्रम बाग्लुङ लगिएको छ। सडकछेउको ओढारमा बस्दै आएका राहुललाई यसअघि पनि उद्धारको प्रयास भएको थियो। 

कमजोर शारीरिक अवस्था रहेका विकले श्रम गर्न नसक्ने र घरपरिवारमा समेत कोही नभएपछि सडक छेउको ओढारमा बसेर गुजारा चलाउँदै आएका थिए। 

बजार र सडकमा मागेर दिएको खानेकुरा ओढारमै पकाएर खाने र ओढारमै बास बस्दै आएका राहुललाई बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछाने र नगरप्रहरीको टोलीले उद्धार गरेर मानव सेवा आश्रममा पठाएका हुन्। 

पटक–पटकको प्रयासपछि उनी मानव सेवा आश्रममा बस्न तयार भएपछि उद्धार गरिएको बेनी नगरपालिकाको उपप्रमुख ज्योति लामिछानेले बताइन्।

‘ओढारमा बसेर मागेर जीविका चलाउँदै आउनुभएको थियो, उहाँको पटक-पटक उद्धार गर्ने कोसिस गरेका थियौँ, तर कतै पनि जान नमानेपछि सम्भव भएको थिएन, हामीले राम्रो खानपान र उपचारसमेत हुन्छ भनेर सम्झाएपछि उहाँ जान तयार हुनुभयो,’ उपप्रमुख लामिछानेले भनिन्। 

विकका छोराहरूको मृत्यु भएपछि श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले बेवास्ता गरेपछि विक ओडारमा बस्न थालेका थिए। राहुल बस्दै आएको ओढारमा घामपानीको सास्तीसँगै जंगली जनावरको आक्रमणको जोखिमसमेत थियो। लामो समय भारतमा काम गरेका विक शारीरिक रूपमा कमजोरी हुन थालेपछि स्वदेश फर्केका थिए।