१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o६:१o:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

कांग्रेस जिल्ला सभापति बैठक : तलैसम्म पार्टी सक्रिय बनाउने प्रतिबद्धता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:१o:oo

अनलाइन सदस्यता वितरणसँगै तल्लो तहसम्मका पार्टी संरचना सक्रिय बनाउने प्रतिबद्धतासहित कांग्रेस जिल्ला सभापतिहरूको बैठक सकिएको छ । कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीका अनुसार जिल्ला सभापतिहरूको दुईदिने बैठक १४ बुँदे आन्तरिक प्रतिबद्धता पारित गर्दै शनिबार सम्पन्न भएको हो । बैठकले जिल्ला संरचनामार्फत तल्लो तहसम्मलाई सक्रिय बनाउने र केन्द्रले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

चितवन सभापति राजेश्वर खनालका अनुसार समग्रमा सदस्यता वितरण र नवीकरणसँगै पार्टी संरचना क्रियाशील बनाउनुपर्ने बैठकको निष्कर्ष रहेको बताए । ‘केन्द्रीय कार्यालयबाट जिल्ला हुँदै वडासम्मको कामलाई व्यवस्थित गर्ने र डिजिटलाइज रूपमा नयाँ सदस्यता र नवीकरणको काम बढ्छ,’ खनालले भने, ‘बैठक सञ्चालन गर्नेदेखि विभाग गठन, प्रशिक्षण अभियान सञ्चालनदेखि सबै कुराका लागि डेटलाइन दिइएको छ ।’

अछाम सभापति पुष्पबहादुर शाहले केन्द्रबाट हुँदै आएको सदस्यता वितरण, नवीकरण र महाधिवेशनपछि सम्मेलन हुन नसकेका सबै तहको सम्मेलनका लागि बैठकले आधार तय गरेको बताए । ‘केन्द्रबाट वितरण हुँदा जटिल बन्दै आएको सदस्यता वितरण जिल्लाबाट हुने आधार बनेको छ,’ उनले भने, ‘महाधिवेशनपछि हुन नसकेका सम्मेलन र संगठनलाई सक्रिय बनाउन आधार तय भएको छ ।’ 

धनुषा सभापति योगेन्द्र पञ्जियारले सदस्यता वितरणसँगै २५ प्रतिशत क्रियाशील सदस्य थप्ने, जतिसक्दो साधारण सदस्य बनाउने लक्ष्य राखिएको र लेबी व्यवस्थापन सँगै अघि बढाउने बताए । ‘बैठकले २५ प्रतिशत क्रियाशील सदस्य थप्ने र जतिसक्दो साधारण सदस्य बनाउने गरी अघि बढ्ने प्रतिबद्धता जनाएको छ । लेबी व्यवस्थापन पनि सँगै अघि बढ्छ,’ उनले भने । 

बैठकमा जिल्ला कार्यसमितिका कामबारे महामन्त्रीद्वयले जानकारी लिएका थिए । महामन्त्रीद्वयले बैठकबाट आएका सुझावलाई छलफल गरी आवश्यकताअनुसार केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । महामन्त्री विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूले कसरी योजनासहित कार्यकर्तामा जाने भन्ने विषयमा साझा चासो राखेको बताए । ‘क्रियाशील सदस्य र पार्टी संगठन चलायमान बनाउने गरी छलफल भएको छ,’ उनले भने । 

कांग्रेसमा महाधिवेशनपछि पहिलोपटक जिल्ला सभापतिहरूको केन्द्रमा भेला भएको हो । यो मौकालाई उनीहरूले आफ्नो गुनासो राख्ने थलोका रूपमा सदुपयोग गरेका थिए । बैठकमा ५२ जिल्लाका सभापति र १३ प्रतिनिधि केन्द्रीय कार्यालयबाट र १२ जिल्ला सभापति जुमबाट सहभागी थिए ।

१२ असारमा महामन्त्री गगन थापा संयोजकत्वको सदस्यता व्यवस्थापन समितिले अनलाइन सदस्यता वितरणबारे निर्णय गरेको थियो । सदस्यता वितरणको परम्परागत प्रणालीलाई परिवर्तन गरी जिल्ला तहबाटै वितरण गर्ने भएसँगै सभापतिलाई काठमाडौं बोलाइएको थियो । यसका लागि २० असारमा सभापति देउवा, महामन्त्रीद्वय शर्मा र थापा तथा उपसभापति धनराज गुरुङबीच बैठकका विषयमा छलफल भएको थियो । सोही छलफलबाट केन्द्रीय कार्यसमिति बैठक २७ असारमा बोलाउने तय गरेको थियो । 

के छ १४ बुँदे आन्तरिक प्रतिबद्धतामा ?
बैठकले १४ बुँदे आन्तरिक प्रतिबद्धता पारित गरेको र केन्द्रीय समिति बैठकबाट पारित भएपछि औपचारिक सार्वजनिक गर्ने तयारी छ । प्रतिबद्धतामा विशेष गरी सदस्यता वितरण र जिल्ला कार्यसमितिको कामलाई चुस्त बनाउने विषय रहेको जिल्ला सभापतिहरूले बताएका छन् । प्रतिबद्धतामा साउन मसान्तभित्र वडा तहसम्मको सदस्यता वितरणलाई टुंगो लगाउने, ६ साउन र २४ भदौमा बिपी स्मृति दिवस र बिपी जयन्तीका अवसरमा सामाजिक काम गरेर मनाउने, जिल्लाबाट हुनुपर्ने सम्मेलन भदौ मसान्तभित्र सम्पन्न गर्ने, जिल्ला समितिको काममा आएका अप्ठ्यारालाई केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने र जटिलता हटाउने विषय छन् । 

त्यस्तै, निर्वाचनमा कारबाहीमा सिफारिस भएकाको विषयमा तत्काल टुंगो लगाउने, नेतृत्वको कार्यशैलीलाई सुधार र मार्गचित्रसहित जनस्तरमा जाने कार्यक्रम तय गर्ने विषय पनि प्रतिबद्धतामा छन् । निर्वाचित जनप्रतिनिधिलाई समन्वयका लागि केन्द्रबाट निर्देशन दिने, जिल्ला कार्यसमिति र यसअन्तर्गतका कार्यसमितिको बैठक राख्ने, विभाग र समितिलाई पूर्णता दिने विषय पनि छन् । यसबाहेक प्रतिबद्धतामा लेबी व्यवस्थापन र सदस्यता नवीकरणलाई नियमित बनाउने विषय छन् । 

बैठकका विषय केन्द्रीय समिति बैठकमा लैजान्छौँ : महामन्त्री थापा 
महामन्त्री गगन थापाले बैठकमा उठेका विषय केन्द्रीय समितिको बैठकमा लैजाने बताए । सभापतिहरूको सुझाव र प्रतिबद्धताले कांग्रेसलाई थप बलियो बनाउने उनको भनाइ छ ।

‘पार्टी सदस्यता र संगठनका विभिन्न विषयमा छलफल गरी १४ बुँदे प्रतिबद्धतासहित जिल्ला सभापतिहरूसँगको दुईदिने बैठक सम्पन्न गरेका छौँ । बैठकमा पार्टी, नीति र नेतृत्वका सम्बन्धमा उठेका विभिन्न विषयलाई हामीले आसन्न केन्द्रीय कार्यसमितिको बैठकमा लैजानेछौँ । बैठकमा उपस्थित सभापतिहरूले जुन विचार, सुझाव र प्रतिबद्धता जाहेर गर्नुभएको छ, यसले ‘बदलिएको कांग्रेस, बलियो कांग्रेस’ बनाउने अभियानलाई थप गति प्रदान गर्नेछ,’ उनको प्रतिक्रिया छ ।

महामन्त्रीद्वयलाई जिल्ला सभापतिहरूको प्रश्न– सभापतिज्यू किन आउनुभएन ?

जिल्ला सभापतिहरूले सभापति शेरबहादुर देउवा बैठकमा सहभागी नभएकोबारे चासो राखेका थिए । महाधिवेशनपछि पहिलोपटक जिल्ला सभापतिहरू एक ठाउँमा भएको समयमा सभापतिको अनुपस्थितिलाई लिएर कतिपयले आशंका व्यक्त गरेका थिए । ‘शतप्रतिशत जिल्ला सभापति सहभागी रहेको बैठक र केन्द्रीय कार्यालयमा भएको बैठकमा सहभागी भएका थियौँ । केन्द्रीय सदस्य र अन्य पदाधिकारी आएर बैठकको शोभा बढाइदिनुभयो,’ चितवन जिल्ला सभापति राजेश्वर खनालले भने, ‘सभापतिज्यू केही मिनेटकै लागि भए पनि बैठकमा सहभागी भइदिनुभएको भए हुन्थ्यो भन्ने हामीलाई लागेको हो ।’ जिल्ला सभापतिहरूले प्रश्न उठाएपछि महामन्त्री विश्वप्रकाश शर्माले सभापतिसँगैको सल्लाहमा पार्टी कार्यालयमा राखेको बैठकलाई लिएर शंका नगर्न आग्रह गरेका थिए । ‘सभापतिलाई थाहा नभई भेला भएको होइन,’ उनले भने । 


 

ad
ad