१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १o:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

राजमार्ग सुधार आयोजनाका लागि ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:३३:oo

सरकारले सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एसियाली विकास बैंकबाट परियोजना सहायताको रूपमा तीस करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । यही १९ असारमा बसेको मन्त्रिपरिषद् बैठकले भन्सार तथा लजिस्टिक सुधार कार्यक्रमअन्तर्गत एसियाली विकास बैंकबाट बजेट सहायताको रूपमा प्राप्त हुने पाँच करोड अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले एमसिए–नेपालले निर्माण गर्ने विद्युत् प्रसारण लाइन तथा सबस्टेसनका लागि सिन्धुपाल्चोक, पाल्पा तथा नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ । बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि–२०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाऊको आदेश जारी गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाअन्तर्गत सडक सीमारेखाभित्र पर्ने कास्कीको रुढीखोला–भैँसे सडकखण्डका घरटहरा हटाउन स्वीकृति दिएको छ । त्यस्तै, बैठकले थाइल्यान्डको बैंककमा हुने शिक्षासम्बन्धी उच्चस्तरीय कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीलाई सहभागी हुन स्वीकृति दिएको छ । यस्तै बैठकले निजामती सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने तथा नेपाल न्याय सेवा, कानुन समूहको राजपत्रांकित प्रथम श्रेणीका सात अधिकृतको सरुवा गर्ने निर्णय गरेको छ । बैठकले हुलाक बचत बैंकमा रहेका बचतकर्ताको खाता राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने निर्णय पनि गरेको मन्त्री शर्माले जानकारी दिइन् । रासस

ad
ad