१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o६:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपाल ह्याट्रिक उपाधि नजिक

सिंगापुरलाई ९७ रनले हराउँदै नेपालले उपाधिका लागि मलेसियासँग भेट पक्का गरेको छ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:२o:oo

नेपाल एसिसी पुरुष यू–१६ इस्टन जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । मलेसियाको बायोमास मैदानमा सोमबार सिंगापुरमाथि ९७ रनको फराकिलो जित निकाल्दै नेपाल लगातार तेस्रोपटक अन्तिम दुईमा पुगेको हो । फाइनलमा आयोजक मलेसियालाई हराउँदा नेपाल लगातार तेस्रोपटक प्रतियोगिताको च्याम्पियन बन्नेछ । बायोमास ओभलमा पहिलो ब्याटिङ गरेको नेपालले ३५ ओभरमा नौ विकेट गुमाएर एक सय ८४ रनको बलियो योगफल खडा गरेको थियो । प्रत्युत्तरमा सिंगापुर ३१.३ ओभरमा ८७ रनमै समेटियो । 

युवा बलरहरूको उत्कृष्ट बलिङ
एक सय ८४ रन रक्षा गर्न मैदानमा ओर्लेका नेपाली बलरले सिंगापुरविरुद्ध फिल्डिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपाल यी दुवै पक्षमा बलियो देखिँदा सिंगापुर न्यून योगफलमै समेटिएको हो । नेपाली बलरले सिंगापुरको ब्याटिङमा कुनै पनि समयमा ठूलो साझेदारी गर्न दिएनन् ।

नेपालका कार्तिक कामतले कसिलो बलिङ गर्दै सर्वाधिक ३ विकेट लिएका थिए । उनले २.३ ओभरमा एक मेडन राखी नौ रन खर्चिएका हुन् । यसैगरी, नेपालका अभिषेक तिवारी, प्रतीक पोखरेल, सन्तोष यादव, अशोक धामी र नरेन भट्टले समान एक विकेट लिए । समग्रमा सिंगापुरका ब्याट्सम्यानले नेपालविरुद्ध नौ ओभरमा रन नै लिन सकेनन् । नेपाली बलरले नौ ओभर मेडन फ्याँकेका थिए । नेपालका नरेनले सात ओभरमा तीन मेडन राखी चार रन दिएका थिए । 
सिंगापुरको ब्याटिङमा रोशन रविचन्द्रनले सर्वाधिक २४ रन बनाएका थिए । प्रनव धनुकाले अविजित १४ रन र कविर बिर्लाले ११ रन जोडे । सिंगापुरका आठ खेलाडीले दोहोरो रन नै बनाएनन् ।

सुर्यान्शु र निरकुमारको  बलियो साझेदारी
ओपनर सुर्यान्शु कोइराला र निरकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेपछि नेपालको सानदार सुरुवात भयो । टस जितेर ब्याटिङ रोजेको नेपालका दुवै ओपनरले ११.३ ओभरसम्म ब्याटिङ गरेका थिए । सूर्यान्शुले ४९ बलमा ४३ रन बनाए । उनले आफ्नो इनिङ्समा ६ चौका प्रहार गरेका थिए । निरकुमारले ४९ बलमा ४२ रन बटुल्न तीन चौका र एक छक्का प्रहार गरे । कप्तान अभिषेक तिवारीले २१ बलमा समान एक चौका र छक्का प्रहार गरी २५ रन बनाए । सन्तोष यादवले १८ रन, प्रतीक भट्टराईले १२ रन र दीपु कुमारले अविजित १२ रन जोडे । सिंगापुरका हरिहरनले ३ विकेट लिए । यसैगरी, हर्ष वेंकटरमन र कविर बिर्लाले समान दुई विकेट लिए । 

मलेसियाको सहज जित
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा मलेसियाले हङकङलाई हराउँदै नेपालसँगको फाइनल भेट पक्का गरेको हो । मलेसियाले प्रस्तुत गरेको एक सय ५६ रनको लक्ष्य पछ्याएको हङकङले १९.३ ओभरमा सबै विकेट गुमाउँदा मात्र ७७ रन बनाउन सक्यो । हङकङका ब्याट्सम्यानलाई धराशायी बनाउन मलेसियाका मोहम्मद अक्रमले सर्वाधिक चार विकेट लिए । ५.३ ओभर बलिङ गरेका अक्रमले एक मेडन राखी २४ रन खर्चिएका थिए । मोहम्मद र अरिअन आकिलले समान दुई विकेट लिए । 

हङकङका ओपनर अर्या पाज्वनी र आरिज डरले गतिलो योगदान दिए । यी दुई ब्याट्सम्यानबाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् । आर्यले ३१ रन र आरिजले १७ रन जोडे । दुवैले पहिलो विकेटका लागि ३० रनको साझेदारी गरे । हङकङले बाँकी नौ विकेट ४७ रनभित्र गुमायो । यसअघि मलेसिया ३१ ओभरमा एक सय ५५ रनमा समेटियो । 

ad
ad