राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नेपालमा थप विश्वविद्यालय आवश्यक नरहेको बताएका छन्। सोमबार राष्ट्रिय सभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सो दाबी गरेका हुन्।
सांसद देवकोटाले शिक्षा मन्त्रालय, नेपाल सरकारको थिंकट्यांकको रूपमा रहेको नेपाल नीति अनुसन्धान प्रतिष्ठानको हालै सार्वजनिक भएको प्रतिवेदनमा पनि नेपालमा थप विश्वविद्यालय आवश्यक नभएको उल्लेख गरिएकोतर्फ पनि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराए।
उनले नयाँ शिक्षा नीति ल्याउन र सोको आधारमा मात्रै थप विश्वविद्यालय नेपालमा आवश्यक छ, छैन भन्ने कुराको निष्कर्षमा पुग्न पनि सरकारलाई सचेत गराए।
सांसद देवकोटाले प्लस टू पास गरेपछि विद्यार्थीहरू धमाधम विदेश जाने, तर यहाँ विश्वविद्यालय खोल्ने कुरा परस्पर विरोधी भएकाले यसतर्फ पनि सरकार गम्भीर हुुनुपर्ने आवश्यकता औँल्याए।