१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o८:४६:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पर्यटक आगमन ९८ प्रतिशतले वृद्धि

६ महिनामा पौने पाँच लाख भित्रिए, सबैभन्दा धेरै भारतीय, दोस्रोमा अमेरिकन

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:४६:oo

देशको अर्थतन्त्रमै मन्दी छाइरहेका वेला विदेशी पर्यटक आगमनमा भने सुखद संकेत देखिएको छ । सन् २०२३ को पहिलो ६ महिनामा पर्यटक आगमन बढेर दोब्बर भएको छ । यो संख्या कोभिड महामारीपछिकै सबैभन्दा धेरै हो । जनवरीदेखि जुनसम्म चार लाख ७६ हजार पर्यटक जहाज चढेर नेपाल भ्रमणमा आएका पर्यटन बोर्डले जनाएको छ । यो संख्या सन् २०२२ को सोही अवधिको तुलनामा ९८ प्रतिशले बढी हो ।

गत वर्षको ६ महिनामा दुई लाख ४१ पर्यटकले नेपाल भ्रमण गरेका थिए । पछिल्लो समय पर्यटक आगमन बढे पनि कोभिडअघिको बराबर भने पुगेको छैन । कोभिडअघि २०१९ को पहिलो ६ महिनामा पाँच लाख ७३ हजार पर्यटक भित्रिएका थिए । महामारीअघिकै अवस्थामा फर्किन अझै करिब एक लाख पर्यटक कम देखिन्छन् । २०२० को सोही अवधिमा दुई लाख २१ हजार र २०२१ मा ५८ हजार मात्रै पर्यटक भित्रिएको तथ्यांक छ । महामारी उत्कर्षमा पुग्दा वर्ष २०२१ पूरै प्रभावित भएको थियो ।

 कुन महिना कति पर्यटक ?
सन् २०२३ को जनवरीमा ५५ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए । फेब्रुअरीमा ७३ हजार दुई सय ५५, मार्चमा ९९ हजार चार सय २६, अप्रिलमा ९८ हजार सात सय ७३, मेमा ७७ हजार सात सय तीन र जुनमा ७२ हजार दुई सय ५० पर्यटक नेपाल भित्रिएका छन् । मार्च र अप्रिल महिनामा करिब एक–एक लाख पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डले जनाएको छ । 

यस वर्षको वसन्तकालीन सिजनमा हिमाल आरोही र पदयात्रीको संख्या उल्लेख्य रहेको थियो । विभिन्न २८ हिमाल आरोहणका लागि ८० देशका ११ सय ७६ आरोहीले पर्यटन विभागबाट अनुमति लिएका थिए । सगरमाथा आरोहणका लागि अनुमति लिने आरोही इतिहासकै सर्वाधिक धेरै चार सय ७८ रहे । पदयात्री र आरोही बोक्न लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा दिनमै जहाज र हेलिकोप्टरबाट चार सय १२ वटासम्म उडान–अवतरण भएको लुक्ला विमानस्थल कार्यालयले जनाएको छ ।

 पर्यटक भित्रिने प्रमुख पाँच मुलुक
नेपाल भ्रमणमा आउने पर्यटक सबैभन्दा धेरै भारतीय छन् भने दोस्रो नम्बरमा अमेरिकन पर्यटक रहेका छन् । ६ महिनामा नेपाल भ्रमणमा आएका कुल विदेशी पर्यटकमध्ये भारतीयको संख्या मात्रै एक लाख ६८ हजार रहेको छ, जुन कुल पर्यटक संख्याको ३५.१८ प्रतिशत हुन आउँछ । अमेरिकाबाट ४९ हजार चार सय ३३ पर्यटक भित्रिए, जुन कुल पर्यटकको १०.३७ प्रतिशत हो । बेलायतबाट ६ महिनामा २४ हजार दुई सय ६४, चीनबाट २० हजार एक सय १७, अस्ट्रेलियाबाट १७ हजार ६ सय ९६ पर्यटक नेपाल भित्रिएका छन् । 

पछिल्लो समय चीन सरकारले आफ्ना नागरिकलाई विदेश भ्रमणमा खुला गरेपछि नेपालमा पनि चिनियाँ पर्यटक बढ्न थालेका छन् । तर, चिनियाँ नागरिकको नेपाल भ्रमण अपेक्षाभन्दा निकै कम रहेको पर्यटन व्यवसायीको भनाइ छ । कोभिडअघि नेपाल भ्रमणमा आउने पर्यटकमा भारतीयपछि सबैभन्दा धेरै चिनियाँ हुने गर्थे ।

२०२३ को पहिलो ६ महिनामा श्रीलंकाबाट करिब आठ हजार, जापानबाट ६ हजार तीन सय ७५, मलेसियाबाट आठ हजार पाँच सय ५७, दक्षिण कोरियाबाट ११ हजार पाँच सय ५४, म्यानमारबाट ६ हजार सात सय ८५, थाइल्यान्डबाट १४ हजार एक सय १२, फ्रान्सबाट १० हजार दुई सय ५०, जर्मनीबाट १२ हजार एक सय ६७, रसियाबाट करिब सात हजार, क्यानडाबाट सात हजार तीन सय ७३ पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक छ ।

नेपाल आएका कुल पर्यटकमा सार्क देशबाट ४१.१९ प्रतिशत, अन्य एसियाली देशबाट १५.०३ प्रतिशत, युरोपबाट १७.४६ प्रतिशत, अमेरिकी देशबाट ११.९२ प्रतिशत, ओसियानाबाट ४.०५ प्रतिशत र अन्यबाट १०.३५ प्रतिशत योगदान रहेको छ ।
 विदेशी मुद्रा बाहिरिने दोब्बर 
पर्यटक आगमनमा निरन्तर सुधार आइरहे पनि विदेशी मुद्रा आर्जन भने उत्साहजनक छैन । नेपाल भित्रिने पर्यटकबाट भन्दा नेपालबाट विभिन्न देशमा भ्रमण तथा अध्ययनका सिलसिलामा जाने नेपालीबाट दोब्बर रकम बाहिरिने गरेको छ । चालू आर्थिक वर्षको ११ महिनाको तथ्यांकअनुसार विदेशी पर्यटकबाट ५१ अर्ब ८८ करोड रुपैयाँ विदेशी मुद्रा देशमा भित्रिएको छ । तर, सोही अवधिमा विभिन्न देशमा पुगेका नेपालीले भ्रमण तथा अध्ययन शीर्षकमा एक खर्ब दुई अर्ब ४९ करोड रुपैयाँ विदेश लगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । जसमध्ये उच्च शिक्षाका लागि मात्रै ७५ अर्ब १४ करोड रुपैयाँ बाहिरिएको तथ्यांक छ ।

ad
ad