भीमदत्त नगरपालिकाका पूर्वमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आइतबार, १० असार, २०८०
डिजिटल संस्करण

कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्वमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

भीमदत्त नगरपालिकाले आ.व. ०७७/७८ मा नदीजन्य पदार्थको ठेक्कामा नियमविपरीत छुट दिएको उजुरीका आधारमा अनुसन्धान हुँदा तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर विष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट र तत्कालीन नि. प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीलगायत १२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हाे।  

नियमानुसारको राजस्व नउठाई नेपाल सरकार र प्रदेश सरकारको स्वीकृतिविना कार्यदलको सिफारिसको आधारमा राजस्व रकम घटाई कम अंक सम्झौता र नियमविपरीत राजस्व रकममा छुट तथा मु.अ. कर चुहावटसमेत गरी तीन करोड तेत्तीस लाख बाइस हजार पाँच सय त्रियासी रुपैयाँ एक पैसा चुहावट गरेको आराेपमा पूर्वमेयर विष्ट र प्रमुख पशासकीय अधिकृत भट्टविरुद्ध मुद्दा दायर गरिएको आयोगकाे प्रेस विज्ञप्तिमा उल्लेख छ। 

यस्तै नि. प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसमेतले राजस्व कबाेल अंक घटाई भवानी कन्स्ट्रक्सन प्रालि,कञ्चनपुरसँग ठेक्का सम्झौता गर्दा मु.अ. कर दुई करोड एघार लाख पैसठ्ठी हजार ६ सय आठ रुपैयाँ ८५ पैसा रकम घटी राजस्व निर्धारण गरी भ्रष्टाचार गरेको आरोपमा सोही रकम बिगो कायम गरी मुद्दा दायर भएको छ।

सुझावित समाचार