१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
श्रवण उप्रेती काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o६:o७:oo
Read Time : > 5 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

रसियामा वागनरको विद्रोह

Read Time : > 5 मिनेट
श्रवण उप्रेती, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:o७:oo

संसारको ध्यान खिचिरहेको १६ महिनादेखि जारी रुस–युक्रेन युद्धमा शनिबार नाटकीय घटनाक्रम विकास भएको छ । वागनर लडाकु समूहले सशस्त्र विद्रोहको प्रयास गरेपछि रुस उच्च सतर्कताका साथ जवाफी कारबाहीमा जुटेको छ । मस्कोमा सुरक्षा उपाय सुदृढ गरिएको छ । अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको नजर विकसित घटनाक्रमलाई लिएर मस्कोमा छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन प्रवर्तित भाडाको सेना परिचालन गर्ने वागनर समूहका प्रमुख येवगेनी प्रिगोजिनले रुसी सेना प्रमुख र रक्षामन्त्रीलाई अपदस्थ गर्न दबाब दिन क्रेमलिनविरुद्ध नै सशस्त्र विद्रोहको सुरुवात गरेका छन् । वागनर लडाकुले दोन–अवस्थित–रोस्तोभमा रहेका रुसका पाँच सैन्य क्षेत्रमध्ये एक ‘दक्षिणी सैन्य जिल्ला कमान्ड’को मुख्यालयलाई कब्जामा लिएर मस्कोतर्फ अघि बढेको छ । 

राष्ट्रपति पुटिनले सशस्त्र विद्रोहमा लाग्नेलाई दण्डित गर्ने वाचा गर्दै यसलाई ‘राज्यविरुद्धको विप्लव’ र ‘धोका’का रूपमा चित्रित गरेका छन् । प्रिगोजिनले भने आत्मसमर्पण अस्वीकार गर्दै त्यसलाई पुटिनको ठूलो गल्ती भएको टिप्पणी गरेका छन् । उनले आफूहरू राष्ट्रभक्त रहेको भन्दै यो कदम राष्ट्रविरुद्ध नभई रक्षामन्त्री र सेना प्रमुखविरुद्ध मात्रै भएको बताएका छन् । 

रुसी रक्षा मन्त्रालयले वागनर लडाकु समूहलाई आत्मसमर्पण गर्न आग्रह गरेको छ । ‘हामी तपाईंलाई विवेकशील हुन र रुसी रक्षा मन्त्रालय वा कानुन प्रवर्तन एजेन्सीका प्रतिनिधिसँग जतिसक्दो चाँडो सम्पर्कमा आउन आग्रह गर्दछौँ । हामी सबैको सुरक्षाको प्रत्याभूति दिनेछौँ,’ रुसी रक्षा मन्त्रालयले विज्ञप्तिमा भनेको छ । 

रुसी संघीय सुरक्षा सेवाको जनसम्पर्क केन्द्रले वागनर निजी सैन्य समूहका प्रमुख प्रिगोजिनविरुद्ध सशस्त्र विद्रोहका लागि उक्साएको अभियोगमा फौजदारी मुद्दा दायर दर्ता गरेको छ । रुसी सेनाले मस्कोको सैन्य नेतृत्वविरुद्धको विद्रोह रोक्न वागनर भाडाका सैनिकहरूको सुरक्षाको सुनिश्चितता गर्ने बताएको छ । रुसी समाचार संस्था तासले प्रिगोजिनले आफ्नो एकाइमा आक्रमण भएको दाबी गर्दै रुसको सैन्य नेतृत्वलाई आक्रमण गर्ने योजना बनाएको दाबी गरेको छ । 

रुसको सैन्य नेतृत्वविरुद्ध प्रिगोजिनको सशस्त्र विद्रोहले दक्षिणी रुस अवस्थित ११ लाख जनसंख्याको सहर दोन–अवस्थित–रोस्तोभ एकाएक चर्चामा आएको छ । दोन–अवस्थित–रोस्तोभ दक्षिणी रुसको सबैभन्दा ठूलो सहर हो । युक्रेनको सीमाबाट सय किलोमिटर दूरीमा रहेको यो सहरमा रुसका पाँच सैन्य क्षेत्रमध्ये एक ‘दक्षिणी सैन्य जिल्ला कमान्ड’को मुख्यालय छ । 

यस सैन्य मुख्यालयका कारण पनि रोस्तोभले सन् २०१४ देखि युक्रेन (विशेषतः पूर्वी दोनवास क्षेत्रमा) चलिरहेको सैन्य कारबाहीमा मुख्य भूमिका खेल्दै आएको छ । रुसले यही सहरलाई आधार बनाएर दोनबास क्षेत्रमा पृथक्तावादी युद्ध छेडेको थियो । रुसले गत वर्ष फेब्रुअरीबाट युक्रेनविरुद्ध पूर्णस्तरको आक्रमण सुरु गरेदेखि सैन्य हबका रूपमा यो सहरको रणनीतिक महत्व थप बढेको छ ।

‘युक्रेनविरुद्ध जारी रुसी सैन्य अभियानका लागि रोस्तोभले लजिस्टिक केन्द्रको काम गर्दै आएको छ । त्यसैकारण सहरको सुरक्षा कडा राखिँदै आएको छ । रुसको शीर्ष चेन अफ कमान्ड पनि रोस्तोभमा रहेको छ,’ रुसी गुप्तचर सेवाका विशेषज्ञ र सेन्टर फर युरोपियन पोलिसी एनालाइसिसका वरिष्ठ अध्यता आन्द्रेई सोल्दातोभले भने । 

प्रिगोजिन र उनका भाडाका सेनाले रोस्तोभलाई कब्जा गर्न सक्षम हुनु सैन्य र रणनीतिक रूपमा प्रतीकात्मक मात्र नभएर यो युक्रेनमा युद्ध लड्ने रुसको क्षमतामा पनि भारी पर्न सक्ने सोल्भाटोभको आकलन छ । अर्थात् रोस्तोभमा रुसको संयुक्त सेनाको ‘कमान्ड सेन्टर’ भएकाले त्यहाँ अवस्थित रुसी सेनाको उपस्थितिमा कुनै पनि खतरा उत्पन्न भए त्यसले युद्ध प्रयासका केही पक्षमा असर पार्ने सम्भावना छ । 

विद्रोह सुरु भएपछिका प्रारम्भिक सन्देशमा प्रिगोजिनले रुसका रक्षामन्त्री पनि रोस्तोभमै रहेको बताउँदै रक्षामन्त्री युक्रेनमा लडिरहेका वागनर सैन्य समूहको अवस्थितिमा रुसी आक्रमणको निरीक्षण गर्न व्यक्तिगत रूपमा त्यहाँ रहेको पनि आरोप लगाएका छन । यी आरोपका लागि प्रिगोजिनले कुनै प्रमाण भने पेस गरेका छैनन् । 

प्रिगोजिनको टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा उनी रुसका रक्षा उपमन्त्री युनुस–बेक येभकुरोभ र रुसी सैन्य गुप्तचर विभागका उपप्रमुख लेफ्टिनेन्ट जनरल भ्लादिमिर अलेक्सेभसँग हाँस्दै कुराकानी गरेको देखिएको छ । अलेक्सेभलाई प्रिगोजिनले बन्धक बनाएको भए त्यो महत्वपूर्ण घटनाक्रम भएकोमा सोल्दातोभले जोड दिएका छन् । गुप्तचर विभागका उपप्रमुख युक्रेनका सबै गुप्तचर गतिविधिका लागि जिम्मेवार भएकाले उनको पक्राउ महत्वपूर्ण भएको उनले बताए । 

युक्रेनको दक्षिण–पूर्वी सिमानाछेउ अजोभ सागरनजिक अवस्थित रोस्तोभ सन् २०१४ देखि डोनेत्स्क र लुहान्स्क क्षेत्रबाट बसाइँसराइ गरेर आउनेको पनि मुख्य गन्तव्य रहेको छ । यसले युक्रेनभित्रको स्थितिप्रति रुसका अन्य धेरै भागमा भन्दा त्यहाँ बढी चासो रहने गरेको छ । 

कहाँबाट सुरु भएको थियो रुसी रक्षा मन्त्रालय र प्रिगोजिनबीचको वैमनस्यता ?

रुस–युक्रेन युद्धको सबैभन्दा लामो र रक्तपातयुक्त संघर्ष बख्मुतमा भएको थियो । यसलाई वागनर समूहले मेमा एक टुंगोमा पुर्‍यायो । त्यस जितलाई वागनरका संस्थापकका रूपमा प्रिगोजिनको विजयका रूपमा हेरिएको थियो, जुन सहर कब्जा गर्ने कुरालाई उनले निकै महत्व दिएका थिए । तर, त्यस जितपछि प्रिगोजिन र रुसी रक्षा मन्त्रालयबीच सार्वजनिक रूपमै वैमनस्यता देखिन सुरु भयो । 

यस वर्षको फेब्रुअरीमा युद्धको पहिलो वर्षगाँठ नजिकिँदै गर्दा प्रिगोजिन र रुसी रक्षा अधिकारीबीचको विवाद पहिलोपटक सार्वजनिक रूपमा देखा परेको थियो । त्यस समय उनले रुसी सेनाका शीर्ष कमान्डलाई गाली–गलौज गर्दै सामाजिक सञ्जालमा एक अडियो सन्देश सार्वजनिक गरे । अडियोमा उनले रक्षामन्त्री र देशका सबैभन्दा वरिष्ठ जनरललाई देशद्रोहको आरोप लगाउँदै सैन्य अधिकारीहरूले बख्मुतमा कठिन युद्ध लडिरहेका वागनर लडाकुलाई गोला–बारुदको आपूर्ति रोकेको आरोप लगाएका थिए । 

अप्रिलमा अनलाइन लिक भएको एक गोप्य अमेरिकी गुप्तचर कागजातका अनुसार दुई पक्षको विवाद यति खराबस्तरमा पुगेको थियो कि विवाद साम्य पार्न पुटिनले व्यक्तिगत रूपमा हस्तक्षेप गरेका थिए । पुटिनले विवाद समाधानका लागि प्रिगोजिन र रुसका रक्षामन्त्री सर्गेई के सोइगुलाई बैठकमा बोलाएका थिए, जुन भेटघाट फेब्रुअरी २२ मा भएको विश्वास गरिन्छ । 

प्रिगोजिनले पछि बख्मुतमा उनका लडाकुले आवश्यक गोला–बारुद प्राप्त गरेको बताए । यस विवादपछि अप्रिलमा रुसको रक्षा मन्त्रालयले वागनर समूह र देशको सेनाबीच सहकार्य भएको दुर्लभ स्विकारोक्ति दियो । स्विकारोक्तिमा रुसी सेनाको प्याराट्रपर इकाइले सहरको पश्चिमी भागमा वागनर समूहका सैनिकलाई कभर दिएको बताइएको थियो । 

तर, मे महिनामा फेरि प्रिगोजिनका चिडिएका सन्देश सार्वजनिक हुन थाले । तीन हप्ताको अन्तरालमा प्रिगोजिनले जारी गरेका सन्देशमा रुसको सैन्य नोकरसाहीले वागनर सेनालाई बख्मुत कब्जा गर्न आवश्यक पर्ने गोला–बारुदको नदिएको आरोप लगाइएको थियो । यसपटक उनले सहरमा लडिरहेका आफ्ना सेना फिर्ता गर्नेसम्म धम्की दिए । तर, फेरि पनि उनी आफ्ना वाचाबाट पछि हटे र थप हतियारको सन्तोषजनक प्रतिबद्धता हासिल गरेको बताए । 

त्यसबीच उनले सहरमा रुसी सेनाको आंशिक ‘पुनर्गठन’ भएको सेनाको दाबीको खण्डन गर्दै सेनाको विश्वसनीयतामै प्रश्न उठाइदिए । मेको अन्त्यमा उनले बख्मुत पूर्ण रूपमा वागनरको नियन्त्रणमा आएको घोषणा गरे । किभले त्यसलाई तुरुन्तै खण्डन गर्‍यो । तर, केही घन्टापछि रुसको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै परम्परागत रुसी सेनाको समर्थनमा वागनरको कारबाहीका कारण सहर कब्जामा आएको जानकारी दियो । दुई पक्षबीच सम्बन्ध सुमधुर भएको दाबीका बीच अहिले उनको फौजले देशको सेनाविरुद्ध विद्रोह गरेको छ । यसलाई विश्लेषकले पुटिनका समस्याको सुरुवात मात्रै भएको टिप्पणी गरेका छन् । 

के हो ‘वागनर समूह’, कहाँ–कहाँ छ परिचालन ?

रुसले सन् २०१४ को अप्रिलमा युक्रेनको क्राइमिया प्रायद्वीपमाथि कब्जा जमाएको केहीपछि युक्रेनका पूर्वी क्षेत्र दोनेत्स्क र लुहान्स्कमा सुरु भएको पृथक्तावादी युद्धका क्रममा ‘वागनर समूह पहिलोपटक सार्वजनिक भएको हो । पूर्वी युक्रेनमा रुस समर्थित पृथक्तावादी शक्तिलाई समर्थन गर्दै युक्रेनविरुद्ध लड्न भाडाका सैनिक परिचालन गरेर ‘वागनर समूह’को उदय भएको थियो । त्यसयता भाडाका सेना परिचालन गर्ने यो समूह केही अफ्रिकी देश र सिरियासमेतमा विस्तारित भएको छ । आधिकारिक रूपमा ‘पिएमसी (प्राइभेट मिलिटरी कम्पनी) वागनर ग्रुप’ नामले चिनिने यो समूहको नाम रुसी सेनाका स्पेसल फोर्सका लेफ्टिनेन्ट कर्णेल डिमित्री युत्किनको उपनाम ‘वागनर’बाट राखिएको हो । उनी पनि वागनर समूहको संस्थापक भएको ठानिन्छ । 

रुसले गृहयुद्धमा राष्ट्रपति वसर अल असदलाई समर्थन गरेको सिरियामा पनि वागनरका सेना परिचालित छन् । वागनर समूह लिबियामा खलिफा हिफ्टरका पक्षबाट लडिरहेको छ र मुअम्मर गद्दाफीका छोरालाई राष्ट्रपति बनाउन चाहन्छ । यो समूह सेन्ट्रल अफ्रिकन रिपब्लिक मालीमा पनि सञ्चालित छ । भाडाका सेना र हतियार उपलब्ध गराउने धन्दाबाट अफ्रिका छिरेको वागनरले त्यहाँका केही मुलुकमा सुन र हिराका खानी समेत सञ्चालन गर्ने गर्छ ।

पछिल्लो समय प्रिगोजिनले रोस्तोभ र बेल्गोरोडलगायत रुसका सीमावर्ती क्षेत्रमा आफ्ना सेना फिर्ता गरिरहेका थिए । प्रिगोजिनले अहिले आफ्नो कमान्डमा पूर्वी युक्रेनको भीषण लडाइँमा संलग्न २५ हजार सेना रहेको दाबी गरेका छन् । शनिबार बिहान टेलिग्राममा पोस्ट गरिएको एक सन्देशमा प्रिगोजिनले रक्षामन्त्री र रुसी सेना प्रमुखविरुद्ध उठाइएको यो कदममा आवश्यक परे वागनर समूहका सबै सदस्य मर्न तयार रहेको धम्कीसमेत दिएका छन् । ‘हामी सबै मर्न तयार छौँ । सबै २५ हजार र त्यसपछि अर्काे २५ हजार पनि मर्न तयार छौँ,’ प्रिगोजिनले भनेका छन् ।

को हुन् येवगेनी प्रिगोजिन ?

रुसको सैन्य नेतृत्वविरुद्ध देखिएका येवगेनी प्रिगोजिनको विगत सनसनपूर्णी र अविश्वसनीय छ । सेन्ट पिटर्सबर्गमा सन् १९६१ मा जन्मिएका येवगेनी १८ वर्षको उमेरमै चोरीको आरोपमा पक्राउ परी दोषी ठहर भएका थिए । तर, सन् १९८१ मा दोस्रोपटक पनि चोरी अपराधमा पक्राउ परेपछि भने उनलाई १२ वर्षको जेल सजाए सुनाइयो । उनी नौ वर्ष जेलमा बिताएर सन् १९९० मा जेलबाट छुटेका थिए । त्यसपछि आमासँग पाउरोटी बेच्न थालेका उनी थुप्रै रेस्टुरेन्ट र क्याटरिङ व्यवसायसहित यो क्षेत्रका अग्रणी बन्न पुगे ।

क्याटरिङ सेवाबाटै पुटिनसँग उनको सम्बन्ध स्थापित भयो । उनले क्रेमलिनलाई सेवा दिन थाले र ‘पुटिनका सेफ’ उपनामले समेत चिनिन थाले । पछि उनी मिडियालगायत अन्य क्षेत्रमा पनि विस्तार भए । उनको ट्रोल फ्याक्ट्री ‘इन्टरनेट रिसर्च एजेन्सी’ले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनलाई प्रभावित गरेको भनेर अमेरिकाले प्रतिबन्ध नै लगाएको छ ।

गत मेमा दिएको एउटा अन्तर्वार्तामा उनले आफूसँग ५० हजार सेना रहेको र तीमध्ये ३५ हजार अग्रमोर्चामा रहेर लडिरहेको बताएका थिए । अमेरिकाले पनि युक्रेनमा वागनर समूहबाट ५० हजारले लडिरहेको आकलन गरेको थियो, जसमध्ये १० हजार भाडाका र अन्य ४० हजार कैदीबन्दी रहेको उसको आकलन थियो । बख्मुतको युद्धमा वागनर समूहले प्रतिमहिना १० करोड डलर खर्च गरेको बताइन्छ । बख्मुतमा वागनरका कम्तीमा २० हजार सेना मारिएको आकलन छ । 

एजेन्सीको सहयोगमा

ad
ad