१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
अजित अधिकारी काठमाडौं
२o८१ बैशाख २० बिहीबार o८:११:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भैरहवा डिपोछेउमै तेल चोरी

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:११:oo

आयल निगमको भैरहवा डिपोदेखि पाँच किलोमिटर दूरीमा रहेको यादव पेट्रोलपम्पपरिसरमा पार्किङ गरी राखेको ट्यांकरबाट दिउँसै एक सय ३७ लिटर डिजेल चोरी भएको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।साताअघि भारतबाट २० हजार लिटर डिजेल बोकेर आएको लु.२ख ७३७ नम्बरको ट्यांकरबाट तेल चोरी भइरहेको सूचनाका आधारमा रुपन्देही प्रहरी पडसरीस्थित सो पम्पपरिसरमा निरीक्षण गर्न गएको थियो ।

ट्यांकरबाट तेल चोरी गर्दै गरेको अवस्थामा चालक मोहम्मद नुहिम र सहचालक रवीन्द्र गौतमलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डिएसपी श्याम अर्यालले जानकारी दिए । ट्यांकरमा रहेको बाँकी डिजेल निगमको डिपोमा खन्याएर खाली ट्यांकरसमेत प्रहरी नियन्त्रणमा राखिएको छ । निगमको डिपोछेउमै इन्धन चोरी हुँदासमेत कर्मचारीले थाहा पाएका थिएनन् । इन्धन चोरीका यस्ता घटना पटक–पटक बाहिरिए पनि नियन्त्रण हुन सकेको छैन । 

प्रहरीका अनुसार ट्यांकरमा लगाइएको आधुनिक लकिङ सिस्टम तोडेर तेल चोरी गरिएको छ । आयल निगमले ६ वर्षअघि आधुनिक लकिङ जडान गर्दा ट्यांकरको सबै चेम्बरको माथिल्लो भागको ढक्कन खोल्नै नमिल्ने गरी वारपार लामो रडले थिच्ने र तलपट्टि ताल्चा लगाउने प्रविधि जडान गरेको छ । तर, यो प्रविधिले तोडेर तेल चोरी गर्दै गरेको अवस्थामा प्रहरीले समातेको थियो ।

आयल निगमको भैरहवा डिपो प्रमुख जगदीशचन्द्र यादवले चोरी घटनामा संलग्नलाई प्रहरीले गरेको अनुसन्धानमा सहयोग गरिरहेको बताए । त्यस्तै, आयल निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, ०७३ अनुसार कारबाहीका लागि प्रक्रियासमेत अघि बढाएको बताए । सो ट्यांकरधनी विष्णुदत्त पौडेललाई चोरी घटनामा किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोधिएको उनले बताए । 

तेल तस्करी गर्नेलाई २९ लाख धरौटी लिएर छाडियो
निगमको भैरहवा डिपोबाट करिब नौ किलोमिटर दूरीमा रहेको भन्सार कार्यालय छलेर तीन हजार तीन सय ८३ लिटरभन्दा बढी पेट्रोल ल्याउन खोज्ने पेट्रोलियम व्यवसायी चोपनारायण श्रेष्ठलाई बेलहिया भन्सार कार्यालयले २९ लाख ६ हजार ८० रुपैयाँ धरौटी लिएर छाडेको छ ।

बढी ल्याइएको पेट्रोल बीचबाटोमै झिकेर स्थानीय पेट्रोलपम्पलाई बिक्री गर्ने र आइओसीको डिपोमा लोड भएबराबरको पेट्रोल मात्रै निगमको डिपोमा दाखिला गर्ने योजना रहेको अनुसन्धानबाट खुलेको थियो । त्यसपछि थप अनुसन्धान प्रक्रिया अघि बढाएर अहिले धरौटीमा छाडेको बेलहिया भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले जानकारी दिए । उनका अनुसार पेट्रोलको बजारमूल्यबराबर हुन आउने रकम २८ लाख ६ हजार ८० रुपैयाँ र एक लाख जरिवाना गरी कुल २९ लाख ६ हजार ८० रुपैयाँ धरौटी लिएर श्रेष्ठलाई छाडिएको हो ।

भैरहवा सबैभन्दा आकर्षक डिपो
आयल निगमका देशभर रहेका १४ डिपोमध्ये विराटनगर, अमलेखगन्ज, थानकोट, सिनामंगल, पोखरा, भैरहवा, नेपालगन्ज र धनगढी डिपो तुलनात्मक रूपमा ठूलो कारोबार गर्ने डिपोका रूपमा चिनिन्छन् । यसमध्ये पनि भैरहवा डिपोलाई निगमका कर्मचारीले सबैभन्दा ‘सुरक्षित’ कमाउ अड्डाका रूपमा बुझ्ने गरेका छन् ।

यहाँ हुने इन्धन चोरी, चुहावट, अपचलन र कर्मचारी–व्यवसायीबीच हुने अपारदर्शी आर्थिक लेनदेनलाई विनाविवाद सल्टाउने गरिन्छ । काठमाडौंको मिडिया, नागरिक समाज, उपभोक्ताकर्मी र नियमनकारी निकायका आँखाबाट टाढा रहेकाले भैरहवा डिपोमा सरुवा भई जान कर्मचारीहरूबीच अस्वस्थ प्रतिस्पर्धासमेत चल्ने गर्छ । हाल यस डिपो प्रमुखमा उपनिर्देशक जगदीशचन्द्र यादव कार्यरत छन् ।

ad
ad