१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
अनिल यादव काठमाडाैं
२०८० असार ४ सोमबार ०७:१४:००
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विवादमा ‘आदिपुरुष’ फिल्मको संवाद : काठमाडौं महानगरभित्र हिन्दी फिल्म प्रदर्शनमा रोक

Read Time : > 5 मिनेट
अनिल यादव, काठमाडाैं
२०८० असार ४ सोमबार ०७:१४:००

काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरमा हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा जानकीलाई भारतीय छोरी भनिएको भन्दै महानगरले संवाद नसच्याएसम्म आफ्नो क्षेत्राधिकारभित्र हिन्दी फिल्म प्रदर्शन गर्न नदिने भएको हो । महानगरका मेयर बालेन्द्र साह बालेनले चलचित्रले नेपालमाथि सांस्कृतिक अतिक्रमण गरेका कारण स्थानीय सरकारलाई दिइएको राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारीलाई टेकेर यो निर्णय गरिएको बताएका छन् ।

‘भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले तीन दिनपहिले आह्वान गरेको थियौँ,’ आइतबार बालेनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ ।

उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ । उक्त चलचित्रबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहितविपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकाले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको छ ।’

महानगरपालिकाभित्र १७ वटा सिनेमा हल छन् । आइतबार महानगर प्रहरीले सबै सिनेमा हलमा पुगेर प्रदर्शन नगर्न जानकारी गराएको मेयर बालेनका स्वकीय सचिव भूपराज शाहले जानकारी दिए । ‘यो संवेदनशील विषय हो, झडपको स्थिति पनि सिर्जना हुन सक्छ । त्यसैले महानगरको निर्णय मान्दै भोलिबाट हिन्दी फिल्मको प्रदर्शन बन्द गर्नुहोस् भनेर नगर प्रहरीले सबै हलमा भेटेर नै जानकारी गराएका छन्,’ साहले भने, ‘फिल्ममा राखिएको जानकी भारतकी बेटी भन्ने संवाद नेपालमाथिको सांस्कृतिक आक्रमण नै हो भन्ने महानगरको बुझाइ हो । त्यसैले यो तत्काल सच्याउन कूटनीतिक पहल गर्नुहोस् भनेर हामीले सञ्चार मन्त्रालयमार्फत सरकारलाई समेत पत्राचार गरिसकेका छौँ ।’ 

महानगरको निर्देशनपछि आइतबार साँझ नै हल सञ्चालक तथा फिल्म वितरकहरूको संगठन नेपाल चलचित्र संघको बैठक बसेको थियो । संघले फिल्म चलाउने–नचलाउने विषयमा औपचारिक निर्णय नगरे पनि सुरक्षाको कारण देखाउँदै महानगरका हल सञ्चालक आइतबार फिल्म प्रदर्शन नगर्ने निष्कर्षमा पुगेका छन् । संघको बैठक भने सोमबार बिहान फेरि बस्दै छ । वान सिनेमाजका म्यानेजर उमेश गिरीले सोमबारको सोज नराखिएको बताए । ‘नगर प्रहरीहरू भोलिबाट बन्द गर्नुपर्छ भन्दै हलमा आउनुभएको थियो,’ उनले भने, ‘आधिकारिक पत्र नआए पनि उहाँहरूले मौखिक भनेर जानुभएको छ । त्यसैले आज (सोमबार)को हिन्दी फिल्मको सोज राखेका छैनौँ । थप केही निर्णय भयो भने त्यही हिसाबले अघि बढ्छौँ ।’

महानगर प्रहरी आफैँ हलमा फिल्म बन्द गराउन हिँडे पनि नगर प्रहरीसम्बन्धी विनियमावलीमा यसबारे उसलाई प्रस्ट अधिकार दिइएको पाइँदैन । विनियमावलीमा नगर प्रहरी कर्मचारीलाई २८ बँुदाको कर्तव्य र अधिकार दिइएको छ, जहाँ सिनेमा हल बन्द गराउने विषय उल्लेख छैन । सार्वजनिक आवागमनमा बाधा पु¥याई राखेका निर्माण सामग्री, पसल, व्यवसाय हटाउनेदेखि छाडा कुकुर नियन्त्रण, होटेल, रेस्टुरेन्ट, गेस्टहाउस निरीक्षणलगायत अधिकार महानगर प्रहरीलाई दिएको पाइन्छ । 

नेपाल चलचित्र संघका उपाध्यक्ष भास्कर ढुंगाना संघीय सरकारले देखाउन अनुमति दिएको फिल्म स्थानीय सरकारले रोकेको बताउँछन् । ‘संघीय सरकारले देखाऊ भनेको छ, स्थानीय सरकारले नदेखाऊ भन्छ,’ उनले भने, ‘यसबारे सरकारलाई कसैले प्रश्न गरेको छैन । सबैले हललाई मात्रै प्रश्न गरिरहेका छन् । यद्यपि, सुरक्षाको कारण देखाउँदै सोमबार हामीले फिल्म नदेखाउने निर्णय गरेका छौँ । सोमबार बिहान संघको बैठक बसेर थप निर्णय गर्ने तयारी छ ।’

‘आदिपुरुष’का नेपाल वितरक मनोज राठीले महानगरको निर्णयबारे आफूहरूलाई आधिकारिक पत्र नआएको बताए । ‘हामीलाई आधिकारिक रूपमा बन्द गराउन पत्र आएको छैन, मिडियाबाट मात्रै सुनेका छौँ,’ उनले भने, ‘आदिपुरुषमा बाहिर हल्ला भएजस्तो संवाद नै छैन ।

भारतबाट फिल्म निर्माण टिमले यसबारे प्रस्ट पार्दै काठमाडौं महानगरका मेयरलाई पत्राचारसमेत गरिसकेको छ । हामीले महानगरमा होइन, सेन्सर बोर्डमा फिल्म सेन्सर गर्ने हो । त्यहाँ गृहदेखि पर्यटन मन्त्रालयसम्मका सदस्य हुन्छन् । उहाँहरूले सिनेमा हेरेर प्रदर्शन अधिकार दिएको हो । हामीले गैरकानुनी रूपमा चलाएका होइन । सिनेमा नहेरीकन प्रचार भइरहेको छ यहाँ । बाहिर प्रचार गरिएजस्तो भाष्य फिल्ममा छैन ।’ 

बालेनलाई भारतबाट निर्माताको पत्र
काठमाडौं महानगरले ‘आदिपुरुष’को संवादप्रति आपत्ति जनाउँदै फिल्म प्रदर्शनमा रोक लगाउने निर्णय गरेपछि भारतबाट फिल्मकी निर्माता राधिका दासले नेपाली जनताको भावनामा चोट पुगेकोप्रति माफी मागेकी छिन् ।

‘सुरुमै हामी नेपालका जनताको भावनामा कुनै प्रकारले चोट पुगेको भए माफी माग्न चाहन्छौँ । कसैप्रति पनि कुनै प्रकारको चोट पुर्‍याउने आशय वा प्रयास कहिल्यै थिएन,’ निर्माण कम्पनी सुपर क्यासेट्स इन्डस्ट्रिजबाट मेयर साहलाई सम्बोधन गरेर लेखिएको पत्रमा भनिएको छ, ‘श्री राघवको पात्र चित्रण गरिरहेका प्रभावले बोलेको संवाद ‘आज मेरे लिए मत लड्ना, उस दिनके लिए लड्ना जब भारतकी किसी बेटी पर हात डाल्ने से पहिले दुराचारी तुम्हारा पौरुष याद कर्के थर्रा उठेगा’ मा सीता माताको जन्मभूमिबारे केही उल्लेख गरिएको छैन । बरु यसले आम रूपमा ‘भारत’का सबै महिलाको सम्मानलाई संकेत गरेको छ । भारतीयको रूपमा विश्वभरका महिलाको सम्मान हाम्रा लागि उच्च महत्व राख्छ । हामी तपाईंसँग यस फिल्मलाई कलात्मक माध्यमका रूपमा हेरिदिन र ठूलो दर्शकमाझ हाम्रो इतिहासप्रति रुचि जगाउने उद्देश्यलाई समर्थन गरिदिन आग्रह गर्दछौँ ।’

सञ्चार मन्त्रालय भन्छ– शब्द हटाएर अनुमति दिएका हौँ 
महानगरको ‘एक्सन’पछि सूचना तथा सञ्चार मन्त्रालयले चलचित्रलाई लिएर भइरहेको आपत्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । यो फिल्मलाई चलचित्र ऐन, २०२६ तथा नियमावली २०५७ को प्रावधानबमोजिम केन्द्रीय चलचित्र जाँच समितिले ३१ जेठमा जाँच गर्दा जानकीलाई भारतीय बेटीका रूपमा प्रस्तुत भएको संवाद पाइएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

‘प्रस्तुत भएको संवादमा ‘भारतकी’ शब्दलाई हटाउन लगाई सोपश्चात् मात्र चलचित्र जाँच पास प्रमाणपत्र दिई सार्वजनिक प्रदर्शन गर्न अनुमति प्रदान गरिएको हो,’ मन्त्रालयका सहायक प्रवक्ता विशाल सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको सेन्सर बोर्डबाट प्रदर्शन अनुमति प्रदान गर्नुपूर्व नै हटाउन लगाइसकिएको उक्त संवादका सम्बन्धमा पछिल्लो समयमा विभिन्न सञ्चारमाध्यम तथा सरोकारवालाहरूबाट जनाइएका आपत्तिका विषयमा समेत मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

सञ्चार मन्त्रालयका प्रवक्ता एवं चलचित्र सेन्सर बोर्डका अध्यक्ष नेत्रप्रसाद सुवेदीले यो विवादलाई कूटनीतिक तवरबाट समाधान गर्नुपर्ने बताउँछन् । ‘महानगरले त्यति साह्रो त गर्न नहुने हो,’ महानगरको सम्पूर्ण हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने निर्णयप्रति इंगित गर्दै उनले भने, ‘यो डिप्लोमेटिक मुद्दा भएकाले यसलाई परराष्ट्रमार्फत डिल गर्नुपर्ने देखिन्छ । यदि यो राष्ट्रियताको विषय हो भन्ने सरकारलाई लाग्यो भने परराष्ट्र मन्त्रालयमार्फत भारतलाई अनुरोध गर्न सक्छ । सेन्सर बोर्डले त भारतकी छोरी भन्ने शब्द हटाएर प्रदर्शन गर्न दिएको हो । अहिले विषय अलि बढी नै उछालिएको हो कि भन्ने लाग्छ । नेपालीले भारतीयप्रति हेर्ने दृष्टिकोण अरू विषयमा पनि यस्तै देखिन्छ । यद्यपि, महानगर स्थानीय सरकार हो । आफ्नो क्षेत्राधिकारभित्र फिल्म रोक्छु भन्दा पाउँछ नै । तर, अन्तर्राष्ट्रिय विषयमा स्थानीय सरकारले कति गर्न मिल्छ, त्यसबारे पनि सोच्नुपर्छ ।’

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले दुई दिनअघि विज्ञप्ति नै निकालेर सञ्चार मन्त्रालयसँग कूटनीतिक पहलका लागि माग गरेका थिए । ‘नेपालकी ऐतिहासिक पात्रको इतिहासलाई तोडमोड गरिएको देखिएकाले संसारभर जहाँ प्रदर्शन गरे पनि ‘जानकी भारतकी छोरी’ हुन् भन्ने संवादप्रति कडा आपत्ति जनाउँछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसलाई सच्याएर मात्र रिलिज गर्नुपर्ने माग राख्दै बोर्डले गर्नुपर्ने पहलमा अगाडि बढेको छ । यस प्रकरणका विवादले दुई देशबीचको सांस्कृतिक तथा कूटनीतिक सम्बन्धमा समेत खलल पुग्ने हुँदा यथाशक्य संवाद हटाउन पहल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत हामी जोडदार माग गर्दछौँ । संसारका कुनै पनि फिल्मले नेपालको स्वाधीनता, हाम्रा विभूतिहरूमाथिको दाबी, सीमालगायत विषयमा त्रुटि वा नियतवश कुनै संवाद वा दृश्य राखेर प्रदर्शन गर्नु बोर्डलाई कदापि मान्य हुँदैन ।’

एक भारतीय टेलिभिजनमा फिल्मका गीतकार तथा लेखक मनोज मुन्तसिरले सीताको जन्म भएका वेला नेपाल नै भारतको अंश भएको अभिव्यक्ति दिएपछि विवाद झन् बढेको थियो । यसबाट संवाद सच्याउने विषयमा निर्माण टिम गम्भीर नदेखेपछि फिल्म रोक्ने निर्णयमा महानगर पुगेको बालेनका स्वकीय सचिव साहले बताए । 

‘नेपालको विरोध मैले बुझ्न सकिरहेको छैन । जतिवेलाको यो कहानी हो, त्यतिवेला त नेपाल भारतको अंश थियो,’ मुन्तसिरले नेपालमा भइरहेको आपत्तिबारे सोधिएको प्रश्नमा भनेका छन्, ‘त्यसैले सीतालाई भारतकी बेटी भन्दा नेपाल कसरी भारतभन्दा अलग थियो ? यो १९०३–०४ को त कुरा हो जतिवेला नेपाल भारतसँग अलग भयो । भारतमा थियो नेपाल । यस हिसाबले त भारतकै बेटी थिइन् सीता । त्यसैले नेपालीहरूको आपत्ति मैले बुझ्न सकिरहेको छैन । मसँग कुरा हुन पाए उहाँलाई यो बुझाउँथे । देशको तवरमा अलग हुन सक्छ, तर राष्ट्रको तवरमा आज पनि भारत र नेपाल अलग छैन । राष्ट्रियताका हिसाबले धेरै कुरा यस्तो छ कि भारतीय राष्ट्रियताको धवक नेपालसम्म सुनिन्छ ।’

फिल्म निर्देशक नवीन सुब्बाले संसारभर कला क्षेत्रमा ‘कल्चरल एप्रोपिएसन’ बहसको विषय बनिरहेको बताए । ‘त्यो भनेको सम्बन्धित समुदाय या देशको निश्चित विश्वास हुन्छ, जसलाई छुन पाइँदैन,’ उनले भने, ‘हाम्रै परिवेशमा भन्दा एउटा समुदायको मान्छेले अर्को समुदायमाथि सिनेमा बनाउँदा ‘कल्चरल एप्रोपिएसन’ गर्न पाइँदैन । हलिउडको सिनेमामा चिनियाँले आपत्ति जनाइरहेका हुन्छन् । प्रतिरोध हुनु स्वाभाविक हो । फिल्मकर्मीमा पनि यसबारे सचेत हुनुपर्छ । अर्को देशको भावनाप्रति संवेदनशील हुनैपर्छ ।’ भारतीय सिनेमामा यसबारे गम्भीरता नदेखिएको उनी बताउँछन् । ‘आन्तरिक र बाह्य दुवै हिसाबले उनीहरूले ‘कल्चरल एप्रोपिएसन’ गरिरहेका हुन्छन्,’ उनले भने, ‘यो भनेको कसैको विश्वास प्रणालीलाई गलत तरिकाले बुझ्नु हो । सीता कसको छोरी भन्दा जनकको हो नि ! त्यो सेन्टिमेन्टसँग नेपाललाई जोडिएको छ । हामीले जे गरे पनि हुन्छ भन्ने भाव भारतीय सिनेमामा देखिन्छ । यसमा रचनाकर्मी गम्भीर हुनुपर्छ ।’