१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
सौरभ यादव राजविराज
२o८१ बैशाख २० बिहीबार o६:१९:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

गुन्डा लगाएर घर भत्काए, परिवारका सदस्यलाई बाँधेर कुटपिट गरे, लत्ताकपडा र अन्नपात इनारमा फालिदिए

सप्तरीका मिटरब्याजी साहुकारको ज्यादती 

Read Time : > 4 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:१९:oo

साहुकारहरूको ज्यादतीविरुद्ध देशभरका पीडित आन्दोलित भएपछि सरकारले मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग नै गठन गरेर छानबिन गरिरहेको छ । धेरै साहुकारको भागाभाग चलेको छ । तर, सप्तरीका साहुकार वेदनारायण यादवको अत्याचार थप बढ्दै छ । बिहीबार मात्रै उनले गुन्डा परिचालन गरेर महादेवा गाउँपालिका– ३ बथनाहाका विजय यादवको घर भत्काए, परिवारका सदस्यहरूलाई बाँधेर बर्बर यातना दिए र घरमा भएका लत्ताकपडा–अन्नपात इनारमा फालिदिए । 

सप्तरी बथनाहाका विजय यादवको घर साहुकारले चैतमै भत्काएपछि गोठमा बस्थे, त्यो पनि गुन्डा लगाएर बिहीबार भत्काए

गुन्डाहरूको कुटपिटबाट विजय, उनकी ६२ वर्षीया आमा जागोदेवी, पत्नी पुष्पा, भाइबुहारी रञ्जनकुमारी र १२ वर्षीया छोरी लक्ष्मी घाइते भएका छन् । गम्भीर अवस्थामा रहेकी जागोदेवीलाई राजविराजस्थित अस्पतालले थप उपचारका लागि धरानको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ । शरीरभर नीलडाम छन् । कुटपिटबाट विजयको शरीरमा पनि नीलडाम छन् । 

साहुकार वेदनारायणसँग विजयले करिब पाँच वर्षअघि चार लाख ऋण लिएका थिए । त्यसका लागि घरसहितको दुई कट्ठा जग्गा पास गरेका थिए । ऋण चुक्ता गरेपछि जग्गा फिर्ता गरिदिने प्रतिबद्धता साहुकारको थियो । विजयको परिवारले चार लाख ऋणको अहिलेसम्म ६ लाख तिरिसक्यो । तर, ‘अझै बाँकी छ’ भन्दै साहुकार वेदनारायणले ज्यादती गरिरहेका छन् । ऋण तिर्दातिर्दै विजयका बुबा भुवनेश्वरको गत दसैँको वेला निधन भएको थियो । 

बिहीबार दिउँसो ११ बजेतिर एक दर्जन गुन्डासहित विजयको घरमा पुगेर तोडफोड गर्नुका साथै परिवारका सदस्यलाई कुटपिट गरे । हथौडा, खुकुरी, लाठीलगायतका हतियारसहित आएका उनीहरूले सुरुमा आँगनमा रहेकी विजयकी पत्नीलाई कुटपिट गरे । विजय सन्चो नभएर सुतिरहेका थिए । उनलाई तानेर कुटपिट गर्दै हातखुट्टा आँगनकै पदमको बोटमा बाँधे । बाँधिसकेपछि पनि कुटपिट गरिरहे । केहीले घर भत्काउन थाले । 

गोठ भत्काउँदै छोरालाई कुटपिट गर्न थालेपछि प्रतिवादमा उत्रिएकी विजयकी ६२ वर्षीया आमा जागोदेवीलाई पनि साहुकार वेदनारायण यादवका गुन्डाहरूले छाडेनन्, उनलाई पनि हात बाँधेर कुटपिट गर्दै बर्बर यातना दिए ।

‘रूखमा हातखुट्टा बाँधिसकेपछि पनि दनादन कुटपिट गरिरहे । म चिच्याइरहेँ, तर उनीहरू थप कुटे बेहोस बनाउने गरी,’ आमासँगै धरानमा उपचार गराइरहेका विजयले नयाँ पत्रिकासँग भने । विजयलाई कुटपिट गरेको र घर तोडफोड गरेको देखेर उनकी आमा जागोदेवीले प्रतिवाद गर्न खोजिन् । तर, गुन्डाहरूले उनलाई पनि कुटपिट गरे र बाँधे । विजयकी पत्नी पुष्पाका लुगा च्यातेर कुटपिट गरे । भाइबुहारी रञ्जन र छोरी लक्ष्मी छिमेकीसँग गुहार माग्दै चिच्याएपछि उनीहरूलाई पनि ढाडमा हिर्काए । 

केहीले घर तोडफोड गरिरहेका थिए । भित्र भएका लत्ताकपडा र गहुँ, चामलसहितको अन्नपात आँगनमै रहेको इनारमा फालिदिए । हात नबाँधीकनै नियन्त्रणमा लिइएका पुष्पा, रञ्जनदेवी र लक्ष्मी यो सबै टुलुटुलु हेर्न विवश भए । धेरै छिमेकी गाईगोरु चराउन खेतमा थिए, केही विजयको घरनजिक पनि पुगेका थिए । तर, हतियारसहितका गुन्डाहरूसँग उनीहरू डराए । यसअघि गत चैतमा पनि वेदनारायणले विजयको घर भत्काइदिएका थिए । 

केहीबेरपछि विजयका काका छिमेकीसँग गुहार माग्दै चिच्याए । त्यसपछि गाउँले जम्मा भए । त्यसपछि गुन्डाहरू भाग्न थाले । तर, वेदनारायणसहित सञ्जयकुमार यादव, विकेशकुमार मण्डल, धर्मदेव मण्डल र धीरजकुमार यादवलाई गाउँलेले समात्न सफल भए । बाँकी भाग्न सफल भए । समातिएकालाई गाउँलेले प्रहरीको जिम्मा लगाएका छन् । 

गुन्डाहरूबाट कुटिएकी जागोदेवीको टाउकोमा गम्भीर चोट लागेको छ, शरीरभरि नीलडाम छन् । राजविराज अस्पतालले रेफर गरेपछि अहिले उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

शुक्रबार विजयकी भाइबुहारी रञ्जनदेवीले प्रहरीमा जाहेरी दिएकी छिन् । ‘ज्यान मार्ने उद्योगमा मुद्दाको जाहेरी आएको छ, हामीले घाउजाँच र घटनास्थल मुचुल्का गर्ने काम अघि बढाएका छौँ,’ इलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर रमेश तिमिल्सिनाले भने, ‘अनुसन्धान भइरहेको छ ।’ घर भत्काउने, लत्ताकपडा र अन्नपात इनारमा फाल्दा करिब अढाई लाखबराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

सिंगो गाउँ नै पीडित
साहुकार वेदनारायण यादवको ज्यादतीबाट विजय यादवको परिवार मात्र होइन, बथनाहाका धेरै गरिब पीडित बनेका छन् । स्थानीय कमलीदेवी सरदार, बलदेव सरदार, गोविन्द सरदार, महावतीदेवी सरदारलगायतका दर्जनौँ सर्वसाधारणलाई उनले थोरै ऋण दिएर मिटरब्याज उठाउने मात्रै नभएर जग्गासमेत हडपेका छन् । 

‘सात वर्षअघि घर बनाउन २१ कट्ठा जग्गा पास गरेर वेदनारायणबाट तीन लाख ऋण लिएको थिएँ, त्यसको २२ लाख बुझाइसकेको छु, अझै बाँकी छ भनेर माग्दै छ,’ पीडित बलदेवले भने, ‘यसबाहेक १० कट्ठा जग्गा त उसले हडपेको छ ।’

धरानमा आमा र आफ्नो उपचार गराइरहेका विजय यादव भन्छन्–मलाई जोगाउन आमा आउनुभयो, उहाँलाई पनि बाँधेर कुटे


बुबा (भुवनेश्वर यादव)ले खेती गर्नका लागि पैसा चाहिने भयो भनेपछि ०७४/७५ तिर वेदनारायण यादवको परिवारसँग चार लाख ऋण लिएको हुँ । घरघडेरी भएको दुई कट्ठा जग्गा वेदनारायणकी आमा परमेश्वरीको नाममा पास गरिदिएको थिएँ । ऋण चुक्ता गरेपछि फिर्ता गरिदिन्छौँ भनेका थिए । उनीहरूले डेढ लाख एकमुस्ट दिए, अरू कहिले २० हजार, कहिले १० हजार गरेर दिए । त्यतिखेर म झापामा काम गर्थेँ । हामीले पटक–पटक गरेर साहुकारलाई ६ लाख तिरिसक्यौँ । तैपनि जग्गा फिर्ता नदिने, उल्टै अझै तिर्न बाँकी नै छ भन्ने । कहिले तीन लाख बाँकी छ भन्ने, कहिले १२ लाख छ भन्ने । यस्तै कुरा गरेर वेदनारायणले मेरो बुबासँग पनि पटक–पटक झगडा गरेछ । उहाँलाई धेरै सताएछ । 

यी हुन् साहुकार वेदनारायण

घर आइसकेपछि मैले पनि धेरैपटक जग्गा फिर्ता दिन अनुरोध गरेँ । तर, कहिले के कहिले के भनेर टार्ने । ‘पैसा तिर्न बाँकी छ, यो घरजग्गा खाली गर मेरो भइसक्यो’ भन्ने । यही तनावले गत दसैँमा बुबा बित्नुभयो । पछि न्यायिक समितिमा उजुरी दिएँ । उसले गत चैतमा आएर मेरो घर भत्कायो, सँगैको गोठमा सुत्नुपर्‍यो । यो कुरा मैले गाउँलेलाई सुनाएँ । उनीहरूले साहुकार वेदनारायण र उनकी आमालाई बोलाउन भने । बोलाउन जाँदा वेदनारायण राजविराज भागे । आमाले ‘अहिले फुर्सद छैन, भोलि–पर्सि बसौँला’ भनेर अनेक बहाना गरिन् । पटक–पटक यस्तो गरियो । यही विवाद चलिरहेको थियो । 

बिहीबार बिहान ११ बजेतिर त वेदनारायण १०–१२ जना गुन्डा लिएर आए । म सन्चो नभएर सुतिरहेको थिएँ । मेरी श्रीमती (पुष्पा) आँगनमा थिइन्, सुरुमा उनलाई झापड लगाए । त्यसपछि मलाई कुटपिट गर्न थाले । हातखुट्टा पदमको बोटमा बाँधे । त्यसपछि दनादन कुटिरहे, म चिच्याइरहेँ । तर, उनीहरूले कुट्न छाडेनन्, बेहोस बनाउने गरी कुटे । उसका केटाहरू हथौडा, खुकुरी, लाठीसहितका हतियार लिएर आएका थिए । कोही घर तोडफोड गर्न थाले । घरमा भएका लत्ताकपडा र अन्नपात इनारमा फालिदिए । 

आमा जागोदेवी ‘छोरालाई किन मारपिट गरेको ? घर तोडफोड किन गरेका छौ ?’ भनेर गाली गर्न थालिन् । उनलाई पनि पिटे, टाउकोमा हाने, जिउभरि हाने । उनको पनि हात रूखमा बाँधे । हामी चिच्याउँदै थियौँ । धेरै गाउँले गाईभैँसी चराउन खेतमा थिए । केही हाम्रो आँगननजिक आएर हेरिरहे । तर, हातहतियारसहितका गुन्डा भएकाले अगाडि बढ्न उनीहरूलाई आँट आएन । 

भाइबुहारी (रञ्जनदेवी) र छोरी (लक्ष्मी) गुहार माग्दै चिच्याए । उनीहरूलाई पनि कुटे । काका आएर चिच्याए, उनलाई पनि कुटे । केही बेरपछि गाउँलेहरू आए । गाउँले जम्मा भएपछि भने गुन्डाहरू भाग्न खोजे । तर, वेदनारायणसहित पाँच जनालाई समाते, बाँकी भागे ।

गाउँलेले हामीलाई राजविराज अस्पताल पुर्‍याए । मलाई यति पिटेका थिए कि अस्पताल पुर्‍याउनेबित्तिकै बेहोस भएँ । आमालाई टाउको र शरीरभर ठूलो चोट लागेको छ । राजविराजबाट यहाँ धरान पठायो । अहिले दबाई चलिरहेको छ । एक्सरे, सिटिस्क्यान गराएका छौँ । यो त ठूलो गुन्डागर्दी भयो । हामी गरिबमाथि ठूलो अन्याय भयो । हामीलाई न्याय चाहियो । सरकारले न्याय दिनुपर्छ ।

हेर्नुहाेस् भिडियाेमा ः

ad
ad