१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
शिल्पा कर्ण काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o८:५१:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नक्कली भुटानी शरणार्थी ठगी मुद्दा : अभियोजन पक्षले प्रतिवादीका वकिलको जवाफ दिने,  आजै आदेश आउने सम्भावना

Read Time : > 2 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:५१:oo

नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने विषयमा शुक्रबार सरकारी वकिलले प्रतिवादीले उठाएका विषयमा जवाफ दिँदै छन् । बिहीबार प्रतिवादीका तर्फबाट कानुन व्यवसायीको बहस सकिएसँगै उनीहरूले आठ दिनसम्म अभियोजन र अभियोगपत्रमाथि उठाएका प्रश्नको जवाफ दिनुपर्नेछ ।

काठमाडौं जिल्ला अदालतमा १० जेठमा सरकारी वकिलले ठगी, लिखत किर्तेसहितका विभिन्न पाँच कसुरमा ३० जनालाई प्रतिवादी कायम गर्दै मुद्दा चलाएकोमा हालसम्म थुनछेक बहस चलिरहेको छ । थुनछेक बहस न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा चलिरहेको छ । अभियोजन पक्षले हालसम्म प्रतिवादीका तर्फबाट आएका प्रश्नको जवाफ दिएमा शुक्रबार नै थुनछेक आदेश आउनेछ ।

बिहीबार प्रतिवादीहरू टेकनाथ रिजाल र लक्ष्मी तथा हरिभक्त महर्जनका कानुन व्यवसायीले आफ्नो पक्षलाई साधारण तारेखमा रिहा गर्नुपर्ने कारण र आधार पेस गर्दै इजलासमा बहस गरेका थिए । प्रतिवादीलाई थुनामा पठाई मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै बहस गरेका सरकारी वकिलका आधारमाथि उनीहरूले प्रश्न गरेका छन् । 

टेकनाथ रिजाल, भुटानी शरणार्थी नेता

पूर्वमन्त्रीहरू यो मुद्दामा मुछिनुभएको छ । यो कुरा यस्तो हुँदै छ है भनेर पहिल्यै भन्दा, यी ठग हुन् भन्दा देउवा, प्रचण्ड, माधवकुमार नेपाल कसैले पनि सुनेनन् । चुप लागेर बसे । नेपाल सरकारले भुटानसँग वार्ता गर्छु भन्यो, किन गरेन ? शरणार्थीका नाममा ठगेर खाने केही चोरहरूका कारण फसेँ । यहाँबाहेक कहाँ गएर बोल्नु ? मलाई निसाफ दिनुपर्छ । नदिएसम्म यहीँ बाँधेर राखिदिए हुन्छ ।

शरणार्थीसम्बन्धी प्रतिवेदन सच्याएको भन्दै किर्ते मुद्दा चलाइएकोमा रिजालका कानुन व्यवसायीले गृहमा प्रवेशसमेत कठिन रहेको भन्दै सच्याउने कुरा कल्पनासमेत गर्न नसकिने तर्क गरे । रिजालको विगत गौरवपूर्ण रहेको र उनले यस्तो कार्य गर्नै नसक्ने जिकिर गर्दै उनीहरूले कुनै परिचयपत्रमा हस्ताक्षर गरेकै भरमा ठगीसँग जोड्न नमिल्ने बताए । 

अधिवक्ता प्रतिमा भट्टराईले इजलासमा प्रश्न गरिन्, ‘वास्तविक भुटानीहरूको मुद्दा उठाएका कारण यो मुद्दा खेपिरहनुपरेको छ । उहाँको सिंहदरबार पस्ने हैसियत छैन । उहाँले कसरी किर्ते गर्नुहुन्छ ?’ रिजाललाई प्रहरीले पक्राउ गरेको नभई आफैँ उपस्थित हुन आएकाले उनी यस सम्बन्धमा छानबिनका लागि सहयोगी बनेको र उनलाई बाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग कानुन व्यवसायीहरूले गरे । 

प्रतिवादी रिजालले आफैँ पनि इजलाससामु आफ्नो कुरा राखेका थिए । उनले आफूले निसाफ पाउनुपर्ने भन्दै केही व्यक्तिका कारण आफू फसेको बताए । शरणार्थीका लागि गरेको कार्य र भुटानमा हुँदा गरेको संघर्ष संक्षेपमा उनले इजलासलाई सुनाएका थिए । ‘पूर्वमन्त्रीहरू यो मुद्दामा मुछिनुभएको छ । यो कुरा यस्तो हुँदै छ है भनेर पहिल्यै भन्दा, यी ठग हुन् भन्दा देउवा, प्रचण्ड, माधवकुमार नेपाल कसैले पनि सुनेनन्, चुप लागेर बसे । नेपाल सरकारले भुटानसँग वार्ता गर्छु भन्यो, किन गरेन ?’ रिजालले इजलासमा भने । आफूले गृहमन्त्री, गृहसचिव तथा पूर्वप्रधानमन्त्रीलाई समेत ठगी भइरहेको जानकारी गराएको दाबी उनको थियो । ‘शरणार्थीका नाममा ठगेर खाने केही चोरका कारण फसेँ । यहाँबाहेक कहाँ गएर बोल्नु ? मलाई निसाफ दिनुपर्छ । नदिएसम्म यहीँ बाँधेर राखिदिए हुन्छ,’ उनले भने ।

प्रतिवादीहरू लक्ष्मी र हरिभक्त महर्जनका तर्फबाट बहस गर्दै अधिवक्ता प्रकाश महर्जनले नेपाल प्रहरीको सेवामा रहेकी लक्ष्मीमाथि विनाकारण अभियोग लगाइएको बताए । उनीहरू दुवैजना श्रीमान्–श्रीमती हुन् । जाहेरवालालाई रकम पठाउन लगाइएको खाता यसअघि लक्ष्मी कार्यरत टिचिङ अस्पतालको तलबका लागि खोलिएको उनको भनाइ थियो । लक्ष्मी नेपाल प्रहरी अस्पतालमा नर्सका रूपमा (प्रहरी नायब निरीक्षक) कार्यरत छिन् । 

यसैगरी, हरिभक्त सहकारीमा कार्यरत रहेका कारण पैसाको लेनदेन भइरहने तथा कोभिडसिर्जित लकडाउनमा पैसाको कारोबार भौतिक रूपमा नभएकाले अनलाइनबाटै वित्तीय कारोबार भएको दाबी उनका कानुन व्यवसायीले गरे । ‘त्यसवेला सहज अवस्था थिएन । उहाँले कारोबारका लागि आफ्नो, श्रीमती र बोस (हाकिम) को खाता नम्बर दिनुभयो । त्यसपछि ती खाताबाट थुप्रै कारोबार भएका छन् । यस्तोमा ठगीकै लागि ती खाता प्रयोग भयो भन्ने पुष्टि हुँदैन,’ अधिवक्ता महर्जनले भने । 

लक्ष्मीलाई पक्राउ गरिए पनि हरिभक्त आफैँ उपस्थित हुन प्रहरीसामु आएको भन्दै यसबाट पनि उनीहरूको नियत स्पष्ट देखिने दाबी अधिवक्ता महर्जनले गरे । आफ्ना पक्षले पैसा आएको र गएको प्रहरीसामु स्विकारेको भन्दै थपे, ‘उहाँहरू यहाँको रैथाने, भागिजाने सम्भावना छैन । उहाँ नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ । उहाँहरूलाई थुनामा राख्ने कुनै पनि आधार र कारण छैन ।’

नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने प्रलोभनमा झन्डै २८ करोड रुपैयाँ ठगी भएको अभियोगपत्रमा सरकारी वकिलले दाबी गरेका छन् । ठगीका साथै, लिखत किर्ते, राज्यविरुद्धको कसुर, संगठित अपराध र एकीकृत कसुरका मुद्दा दायर भएको छ । जसमाथि २१ जेठदेखि थुनछेक बहस सुरु भएकोमा २३ गतेसम्म वादी पक्षले आफ्नो भनाइ टुंग्याएका थिए । हिरासतमा रहेका १८ जना प्रतिवादीका तर्फबाट आठ दिनसम्म बहस चलेको थियो । न्यायाधीश न्यौपानेले सरकारी वकिललाई शुक्रबार खाजा समयअघिसम्मको समय दिएका छन् । 


 

ad
ad