वेस्ट इन्डिज ‘ए’ टोलीले तेस्रो टी–२० खेलमा नेपाललाई दुई सय २८ रनको विशाल योगफलको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा मंगलबार पहिलो ब्याटिङ रोजेको वेस्ट इन्डिजले २० ओभरमा तीन विकेट गुमाएर दुई सय २७ रन बनाएको हो।
पाहुना टोलीका लागि अनुभवी दायाँहाते ब्याट्सम्यान जोनसन चार्ल्सले शतकीय इनिङ्सको योगदान दिए। उनले केवल ६१ बलमा सात छक्का र १३ चौका प्रहार गरी एक सय १९ रनको नटआउट इनिङ्स खेले।
एन्ड्रे फलेचरले ३३ बलमा चार चौका र तीन छक्काको सहयोगमा ५३ रन बनाए। फाविआन एलेनले नौ बलमा दुई चौका र एक छक्का प्रहार गरी १९ रन जोडे। किमो पाउलले सात बलमा समान एक चौका र एक छक्का प्रहार गरी १३ रन जोडेका थिए।
नियमित कप्तान राेहित पौडेलसहित चार खेलाडी परिवर्तन भएको तेस्रो खेलमा नेपालका लागि करण केसी र सागर ढकालले मात्र विकेट लिन सफल भए। करणले चार ओभरमा ५४ रन खर्चँदै एक विकेट हात पारे। सागरले चार ओभरमा ४१ रन खर्चिएका थिए। कप्तान दीपेन्दसिंह ऐरी वेस्ट इन्डिजविरुद्ध ६ बलर प्रयोग गरेका थिए। विवेक यादवले दुई ओभरमा २८ रन दिए।
पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले इनिङ्सको ३.१ ओभरमा अलिक अथनाजेलाई रनआउटको रूपमा गुमाएको थियो। त्यसपछि एन्ड्रे फलेचर र चार्ल्सले दोस्रो विकेटका लागि एक सय ४५ रनको साझेदारी गर्दै वेस्ट इन्डिजको रनरेट उकासे।
चार्ल्सले एलानसँग तेस्रो विकेटका लागि ३२ रनको साझेदारी गरेका थिए। पाँच खेलको टी–२० सिरिज १–१ को अवस्थामा छ।