Skip This
१२ वर्षपछि संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २६ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o जेठ २६ शुक्रबार १६:२८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

१२ वर्षपछि संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २६ शुक्रबार १६:२८:oo

१२ वर्षपछि नेपाल संस्कृत विश्वविद्यालय बेलझुन्डी दाङको दीक्षान्त समारोह हुन लागेको हो। ०६८ सालमा विश्वविद्यालयको समारोह भएको थियो। त्यसपछि दीक्षान्त समारोह हुन सकेको थिएन। 

प्रत्येक वर्ष हुनुपर्ने दीक्षान्त समारोह प्रधानमन्त्री तथा कुलपतिले अनुमति नदिँदा १२ वर्षसम्म पनि हुन सकेको थिएन। 

यसपटक प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्डले अनुमति दिएपछि दीक्षान्त समारोह हुन लागेको विश्वविद्यालयका शिक्षाध्यक्ष भीमप्रसाद खतिवडाले  बताए। ‘विश्वविद्यालयको दीक्षान्त समारोह प्रत्येक वर्ष हुनुपर्ने हो,’ उनले भने, ‘तर, कुलपतिले अनुमति नदिँदा लामो समयदेखि दीक्षान्त समारोह हुन सकेका थिएन, यसपटक कुलपतिले अनुमति दिएपछि समारोह गर्न लागेका छौँ।’ 

विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुन्डीमै उक्त समारोह हुन लागेको हो। यो पाँचौँ दीक्षान्त समारोह रहेको उनले बताए। यसअघि ०६८ सालमा पनि १० वर्षपछि मात्रै दीक्षान्त समारोह भएको हो।

०५७ सालपछि ०६८ मा मात्रै दीक्षान्त समारोह भएको थियो। यसपटक ३१ जेठमा दीक्षान्त समारोह हुन लागेको र सोही कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने कार्यक्रम छ।

दीक्षान्त समारोहमा नहुँदा ‘ग्य्राजुएट’ विद्यार्थीहरूले मूल प्रमाणपत्र पाउन सकेका छैनन्। यसपटक ०७७ सालसम्म १० वटा शैक्षिक शत्रमा विश्वविद्यालयबाट विद्यावारिधि,आचार्य, शास्त्री, एकवर्षे शिक्षाशास्त्री र बिएएमएस उत्तीर्ण गरेका चार हजार सात सय ७३ विद्यार्थीलाई  कुलपतिले मूल प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम छ।

त्यसमा पनि विश्वविद्यालय टपरमध्ये स्वर्ण, रजत र कांस्य पदक प्राप्त गर्नेहरूलाई मञ्चमै बोलाइन्छ भने अन्य ‘ग्य्राजुएट’लाई ‘फ्लोर’मा राखिन्छ। 

त्यसपछि प्रधानमन्त्री तथा कुलपतिले दीक्षामन्त्र ग्रहणसमेत गराउनुहुन्छ भने प्रमाणपत्र पनि प्रदान गर्ने कार्यक्रम रहेको उपप्रशासक विनयकुमार पोख्रेलले बताए। त्यो प्रमाणपत्रले विश्वविद्यालयबाट दीक्षित भएको भनी अन्तर्राष्ट्रिय मान्यता पाउन सहज हुने उनको भनाइ छ। 
 
यस वर्ष लामो समयपछि दीक्षान्त समारोह गरिएको भए पनि अब भने नियमित गर्ने गरी तयारी गरेको उपप्रशासक पोख्रेलले बताए। ‘प्रत्येक वर्ष गर्नुपर्ने दीक्षान्त समारोह लामो समयपछि हुन लागेको छ,’ उनले भने, ‘यसपछि भने हामी नियमित प्रत्येक वर्ष समारोश गर्ने गरी प्रणालीको विकास गर्न लागेका छौँ।’ 

विश्वविद्यालय ‘सिस्टम’मा चल्ने भन्दै अब प्रत्येक वर्ष यो समारोह आयोजना गर्ने तयारी गरिएको उनको भनाइ छ। प्रधानमन्त्री तथा कुलपति आउने भएपछि तयारीलाई तीव्र पारिएको छ।

विश्वविद्यालयको प्रांगणमा उक्त कार्यक्रम हुने भएकाले त्यहाँ सडक कालोपत्रे गर्न लागिएकोसमेत उपप्रशासक पोख्रेलको भनाइ छ। 

त्यसका लागि लुम्बिनी प्रदेश आर्थिक मामिला मन्त्रालयबाट १० लाख बजेट आएकोसमेत उनले बताए। त्यही बजेटबाट कालोपत्रे गर्ने काम अघि बढेको छ। विश्वविद्यालयमा ७७ वटै जिल्लाका विद्यार्थी अध्ययन गरिरहेका छन्।