जापानको राजदूतमा सिफारिस थापाले आफैँ नाम फिर्ता लिए

सोमबार, १६ कार्तिक, २०८३
डिजिटल संस्करण

 काठमाडौं/ जापानको राजदूतमा सिफारिस भएका जिज्ञानकुमार थापाले संसदीय सुनुवाइ प्रक्रियाबाट आफ्नो नाम फिर्ता लिएका छन्। जापानको पिआर रहेकोलगायत विवाद बाहिर आएपछि उनको संसदीय सुनुवाइ प्रक्रिया रोकिएको थियो। 

सोमबार संसदीय सनुवाइ समितिका सभापतिलाई पत्र पठाउँदै उनले आफ्नो नाम फिर्ता लिएका हुन्। 

उनले निवेदनमा भनिएको छ– 
विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु कि, नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम म जिज्ञानकुमार थापालाई जापानका लागि नेपालको राजदूत पदमा सिफारिस गरिएको थियो। सोही क्रममा संसदीय सुनुवाइ समितिसमक्ष मेरो सुनुवाइ प्रक्रिया अगाडि बढेको र जापानसँग जोडिएका स्वार्थ बाझिन सक्ने  विषयहरूमा थप अध्ययन तथा स्पष्टताका लागि सुनुवाइ प्रक्रिया जारी रहेको विषय सर्वविदितै छ।

लोकतान्त्रिक मूल्य, मान्यता, सुशासन, संसदीय गरिमा तथा नेपाल सरकारको मर्म र भावनालाई उच्च कदर गर्दै कुनै पनि पदभन्दा राष्ट्रिय हित, नैतिक निष्ठा र पारदर्शिता माथि हुन्छ भन्ने मेरो दृढ विश्वास रहेको छ। सोही भावनालाई आत्मसात गर्दै, म जापानका लागि नेपालको राजदूत पदको जारी संसदीय सुनुवाइ प्रक्रियाबाट ससम्मान आफ्नो नाम फिर्ता लिने निर्णय गर्दछु।

देश र जनताका सेवाका लागि पद नै अन्तिम माध्यम होइन। आगामी दिनहरूमा पनि राष्ट्रिय हित, विकास र समृद्धिका लागि नेपाल सरकारले सुम्पिने जुनसुकै जिम्मेवारी निष्ठाका साथ बहन गर्न म सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गर्दछु।

मेरो नाम सिफारिस गरी मप्रति विश्वास व्यक्त गर्नुभएकामा नेपाल सरकार तथा संसदीय सुनुवाइ प्रक्रियाका क्रममा सहयोग गर्नुहुने माननीय सभापतिज्यू एवं सम्पूर्ण माननीय सदस्यज्यूहरूमा हार्दिक आभार प्रकट गर्दछु।

धन्यवाद।
जिज्ञानकुमार थापा
प्रस्तावित राजदूत, जापान
 

सुझावित समाचार